कक्षा १२ को स्थगित परीक्षा कहिले कहिले, अधिकारीहरु बहसमै अल्झिए

२०७७ श्रावण २७ मंगलबार ०९:१८:०० मा प्रकाशित

काठमाडौं । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको  बताए ।

परीक्षा विधिमै बहस

कक्षा १२ का विद्यार्थीको परीक्षा कुन तरिकाबाट सञ्चालन गरेर नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ । केही समयअघि दसँैअघि पुरानै तरिकाबाट विद्यार्थीको परीक्षा सक्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर अब त्यो सम्भावना टरेको बताइएको छ । अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई दिने विषयमा छलफल भइरहेको छ । कक्षा १२ मा विद्यार्थीको परीक्षा लिनैपर्ने प्रावधान भएकाले परीक्षाको विकल्पलाई कसरी खुलाउने भन्ने हिसाबमा आफूहरू छलफलमा जुटेको उनले सुनाए । यसका लागि पटक पटक गरेर परीक्षा लिने, अनलाइन या अन्य माध्यमको प्रयोग गरेर परीक्षाको प्रक्रिया पूरा गर्ने विषयमा छलफल थालिएको र छिट्टै निर्णय लिने जनाइएको छ ।

यस खालको नीतिगत निर्णय लिने अधिकार हाल बोर्डमा नरहेकाले सरकारसित अधिकार दिन बोर्डले माग गरेको छ । स्वतन्त्र तरिकाले काम गर्न सकिएको अवस्थामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन तथा प्रमाणीकरण गरी बाटो खोल्ने सोचमा आफूहरू रहेको जानकारी बोर्डका अध्यक्ष पौडेल बताउँछन् ।

स्नातक तह प्रभावित

कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ । चिकित्साशास्त्र, इ(िन्जनियरिङ, कृषि, वन, व्यवस्थापन लगायतका स्नातक तहका सबै कार्यक्रम प्रभावित हुने र विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुने भएकाले यसको निकास दिनुपर्ने माग यस क्षेत्रका व्यक्तिहरूको छ । साउथ बेस्टर्न कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीले ‘ए’ लेबल लगायत सबै कार्यक्रमको अन्तिम मूल्याङ्न गर्ने अधिकार शिक्षकमा रहेको र त्यसकै आधारमा प्रमाणीकरण हुने गरेकाले विशेष परिस्थितिमा कक्षा १२ का लागि पनि एक पटक विद्यालयलाई जिम्मा दिनु उपयुक्त विकल्प हुने बताए । यसो हुन सके विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने र विश्वविद्यालय तहका सबै कार्यक्रम समेत अघि बढ्न बाटो खुल्ने भएकाले यसमा तत्काल सोच्नुपर्ने उनको सुझाव छ ।

ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज आचार्य सम्भव भएसम्म गुणस्तर कायम गर्न परीक्षा लिनैपर्ने सुुभाव दिँदै शैक्षिक सत्र नै गुम्ने अवस्थामा विकल्पको खोजी गर्नुपर्ने बताउँछन् । विकल्प खोजिएको अवस्थामा शिक्षकलाई नै मूल्याङ्कन गर्ने जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । कक्षा १२ का विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिने सम्भावना केही महिना टरेको तथा अनलाइन माध्यमबाट परीक्षा लिने सम्भावना पनि न्यूून रहेकाले विद्यालयलाई मूल्याङ्कन गर्नदिने सम्भावना बढी रहेको जनाइएको छ । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ताले दसैँसम्म परीक्षा सक्ने योजना रहेको भए पनि अब त्यो सम्भावना टरेको बताए ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विद्यार्थीको शैक्षिक सत्र अवरुद्ध नहुने गरी सोच्नुपर्ने अवस्था आएको बताए । उनले छिटो निर्णयमा पुग्न सुुझाव दिए । यसले गर्दा विश्वविद्यालयका शैक्षिक कार्यक्रमसमेत पूरै प्रभावित पार्ने भएकाले परीक्षाको विकल्पका बारेमा सोच्नुपर्ने उनको भनाइ छ । विद्यार्थीको ऊर्जाशील समयको सदुपयोग गर्दै प्रविधिबाट पठनपाठनबाट अध्ययन गर्ने बाटो खोल्नका लागि पनि कक्षा १२ को विषयमा निर्णय गर्न ढिलाइ गर्न नहुने उनले बताए । आजको गोरखापत्र दैनिकका अनुसार, यसका लागि परीक्षाको विकल्पलाई सजिलो बनाउनुपर्ने सुबेदीको सुझाव छ ।  
 

ताजा खबर