संस्मरण: जंगलको माझमा योगी नरहरिनाथ भेट्दा

२०७७ श्रावण २६ सोमबार १४:५६:०० मा प्रकाशित

२०३४ साल चैत । एकदिन स्कुल बिष्णेटारमा दिनको चारबजेतिर एकजना गेरुवा कमिज र गेरुवा रङ्गकै सुरुवाल लगाएका उमेरमा झण्डै साट्ठी काटेको जस्तो लाग्ने झरिलो रातो बर्णलाई अलि कालोले जितेको तर कालो रङ्ग नदेखिने मानिस आए । त्यो दिन हेडसर बिष्णु देवानले बिदा लिएका थिए । स्कुल छुट्टि गरेर म पनि निस्कने तरखरमा थिएँ । तर ती मानिस आएकाले मैले अफिसमा राखें । नमस्कार गरेँ । उनले भने– ‘स्कुलमा राति त कोही बस्दैन नि !’
 मैले किन र भनेर सोधेँ ।

“हैन बडो रमणीय इलाका रहेछ, आज यही स्कुलमा बसौं भनेर ।” उनले भने । मैले भनें– ‘यहाँ त मच्छडले सातो टिपिहाल्छ । फेरि तपाईंको ओड्ने ओछ्याउने पनि छैन ।’ उनले मृगचर्म बोकेका रहेछन् । देखाँउदै भने– “सुत्ने बिस्तरा यो हो । ओड्ने यो च्यादर छँदैछ” भनेर आसामे रेडीको खास्टो देखाए । 

‘यहाँ त पिउने पानीसम्म छैन, फेरि खानेकुरा के खानु, स्कुलमा नबसौं बरु मसँग जौं, बसौं’ भनेर मैले अनुरोध गरें । उनले देखे जस्तो गरेर ‘तपाईं आफैं पाहुना हुनुहुन्छ, फेरि म फुस्रे साधु थपिँदा उनीहरूलाई कठिन होला नि ।’ भने । मान्छे सबै राम्रा छन्, केही फरक पर्दैन भनेपछि उनी मसँगै जान तयार भए । 

करिब स्कुलबाट पैंतालीस मिनेट दक्षिणमा म बसेको ठाउँ थियोे । हामी हिँड्यौं । पन्ध्र मिनेट हिँडेपछि बाटोमा जंगल आँउथ्यो । हामी जंगल पस्यौं । उनले सोधे– ‘सधैं तपाईं हिँड्नु पर्ने यो बाटोमा जंगली जनावर, मान्छे कसैको डर हुन्न ?’ यो जंगलको छेउ हो, भित्र पस्नु पर्दैन त्यस्तो केही डर छैन, यति वरसम्म जनावर आइपुग्दैनन् भनेर मैले बताएँ । ‘तै पनि जंगल हो, घना छ, तसर्थ होशियार रहनु पर्यो, सधैं हिँडिरहने मान्छेले । उतै बस्ने ठाउँ भएको खण्डमा सजिलो हुन्थ्यो नि तपाईंलाई ।’ साधुले मलाई सुझाए । 

 ‘के गर्ने त्यहाँतिर पनि बस्न दिने मानिस त छन्, बसेँ पनि ५–६ महिना तर ऐले म बसिरहेको घरका जस्तो दाता अलि छैनन् । त्यसैले यतै राम्रो लाग्यो ।’ मैले आफ्नो कुरो खुलाएर सुनाएँ ।

उनी चुपलागे । मैले उनलाई सोधेँ । मैल त साधु भारतीय मात्र देखेको भेटेको तपाईं नेपाली हुनुहुनुहुँदो रहेछ । यहाँको घर कता होला । अनि नाम थर । फेरि किन साधु हुनुभएको सबै एकैचोटि सोधेँ । उनले पनि फटाफट जवाफ दिँदै भने– ‘म साधुको जहाँ बस्यो त्यहीँ घर । नाम चैं कसैले योगी भन्छन्, कसैले साधु । बाआमाले राखेको नाम चैँ कालो भएकाले काले ।’

मैले फेरि सोधें– “ऐले कति बर्षको हुनु भयो । साधु भएको कति बर्ष भयो ?’  उनले भने–‘ पछि भनौला नि । बरु जंगल सकिएर बडो राम्रो खेतको फाँट आयो । बर्खे धान फलिरहेको, मकै पनि राम्रो फस्टाएको जस्तो निकै उब्जनी होला जस्तो रहेछ ठाउँ ।’

“म पनि गत बैशाखबाट मात्र यहाँ आएको । राम्रो थाहा त छैन । तैपनि बिघाको असी मनदेखि सयमनसम्म धान फल्छ रे ।’ भनेर बताएँ । “हैन माटो हेर्दा मलिलो लाग्यो फल्छ होला । अनि के जातिका मानिस बस्छन् यहाँ ?” ती साधुले नालीबेली सोधे मसँग ।

जवाफमा मैले भने– “खै क्षत्री बाहुन छैनन् । एउटा घर मगरको छ, जन्तरे मुखिया भन्छन् । म उनकैमा बस्छु । बाँकी दुईवटा घर खान पु¥याउने कुमालको छ । अरू सोह्र घर त के घर भनौ झोपडि छन् कुमालका । एक घर बिश्वकर्माको छ । उनीहरू खान पु¥याउने छन्, सम्पन्न परिवार पनि ठूलै छ ।”

“यी कुमाल जाती कहाँबाट आएका रहेछन् ?” बूढाले मलाई यत्तिकै नछाड्ने भए । जवाफ दिँदै सुनाएँ– “खै उनीहरू भन्छन् हाम्रा बाबुहरू १९९० को भूकम्पले तुम्लिङटारमा धेरै क्षति भयो रे । त्यसपछि बसैं सरेर यो कुनामा आइपुगेको भन्छन् । यस्तो जंगलमा कसरी आइपुगे । उता उर्लाबारी, दमक, इटहरी छाडेर किन यता लागे केही कसैलाई थाहा छैन ।”

उनी आफैं विश्लेषण सुनाउन थाले– “सायद गरिबी नै कारण होला । रुपैयाँ भएको भए उतै बस्थे होलान् तर यता आउँदा यसो जंगल फडानी गर्न सजिलो परो होला अनि यो खेत चैं पहिला खोला कुदेको ठाउँ जस्तो छ, खोला सरेर पारि पुगेपछि यो उचा हुँदै गयो काँस काटेर उघार्न सजिलो पनि भयो । धान पनि फल्ने त्यही भएर यी जाती यहाँ बसेको हुनुपर्छ । ती मगर चैँ । पछि आएका होलान् ।”

“अँ म भिनाजु भन्छु उनलाई । उनी भन्छन् । उनको पहिला धनकुटा ६नम्बर बुधबारे रे, पछि मधुमल्ला माथिको टाँडी बसैं सरे रे त्यहाँ हाम्रा सबै नातागोता, दाजुभाइ छन् भन्छन् । उनी चैं २०११ सालमा कान्छी स्वास्नी अर्काको भगाएर भागेर लुक्दा यहाँ आइपुगेको भन्छन् । जग्गा खेत ७–८ बिघा किनेर बसेछन् । बारी पनि २–३ बिघा होला भन्छन् । खान पु¥याउने अलि धनी मानी छन् । उनी यो बस्तीमा । सबैले मान्छन् । उनले कुमाल धेरैलाई पालेकाछन् ।”

उनले सोधे– “होइन कुमालहरू सबैले जग्गा बेचेछन् ?”

“खै मलाई उति राम्रो थाहा चैं छैन तर मैले सुने अनुसार यहाँ सबैभन्दा बढी जग्गा पहिले हावा कुमालको थियोे रे । तर उ रक्सि खाने रे । अनि दुई चार दिन, कहिले १२ दिननै इलाम बैदार नेवारहरू कान्छा बैदार, माईला बैदार अनि सुब्बा तिलकबहादुरकातिर बस्ने उनीहरूसँग तमसुक लेखाएर पैसा लिने र साँवा ब्याज हिसाब गरेर उनीहरूलाई जग्गा पास गरिदिने गरेर सक्यो रे । उनीहरू धान उठाउन आएको र घोडामा २ सय देखि ३ सय मन जति धान लगेको चैं मैले पनि    देखेँ । भन्छन् मान्छेहरू तिनीहरूले त्यो अनपढ मान्छेलाई रु ५ सय दिए भने ५ हजारको तमसुक बनाएर थिचाउने रे ल्याप्चे अनि हिँउदमा साँवाब्याज जोडेर सस्तैमा जग्गा अम्काए रे । खै के हो, के हो ?” मैले आफूले सुनेको कुरा साधुलाई बताईदिएँ ।

“तेहि त हेर्नुस् म त पश्चिमको मान्छे पूर्वमा इलाम नेपालमा सबैभन्दा देशको शिक्षाको हिसाबले अगाडि बढेको ठाउँ । म देशका पचहत्तरै जिल्ला र सबै गाउँ पञ्चाय घुमेको छु । यहाँ यस्तो छ भने पश्चिमको त कुरै छाड्नुहोस् । चन्द्र शम्शेरले दासप्रथा उन्मूलन गरेको कागजमा मात्र त्यता अझ कमारा कमारीलाई सित्तैंमा काम लाउँछन् तेताका जमिनदारले यो त सामान्य भयो । पूर्वमा धेरैतिर मानिसमा चेतना आएको अवस्था हो । यस्तै ठाँउमा मात्रै हो अब बिस्तारै यिनीहरू पनि शिक्षित हुन्छन् ।” साधु बाबैले पनि आफ्ना अनुभव सुनाए ।

“खै बिचराहरूलाई बाह्रै महिना अनिकाल छ, कसरी पढाउलान् छोराछोरी !” बूढाले गरीब परिवारको चिन्ता गरे  अनि भने– “सबै समयले गर्छ ।” यत्तिकैमा हामी कुरा गर्दागर्दै मान बहादुर जन्तरे मगरको घर पुग्यौं । मुखिया भान्सा घरको सिकुवामा बसिरहेका रहेछन् । मैले नयाँ मान्छेसँग चिनाजाना गराएँ । अनपढ भए पनि शिक्षित लाग्ने जन्तरेले सम्मानसाथ कुर्सी दिए । सफासुग्गर देखेर योगी खुशी देखिए । चिया पिउँ भनेर पाहुनासँग सोध्दै मगरले– ए माइली सरहरूलाई चियाबना भनेर अह्राए ।

योगीले “मेरो चिया पिउने बानी छैन ” भने ।  मुखियाले “के खान्छ त ! दही खान्छा” भनेर सोधे। योगीले “दहीको सर्वत भए त हुन्छ” भने । “आच्चा सर्वत बनेको के हो, नामै आजा सुन्दै च ।” जन्तरे मगरले आश्चर्य मान्दै भने ।

मैले यस्तो यस्तो भनेर उनलाई बताँए । उनले माइलीलाई भने– “मीठो सर्वत बनाए छन् नानीहरूले भन्दै बूढाले घुटघुटी पिए । जन्तरेलाई मैले भने “साधु भए पनि यी मानिस पढेलेखेका, देश घुमेका, राजनीति जानेका मान्छे रहेछन्, भिनाजु भनिँदिए ।

उनले शाकाहारी भोजनमा गहुँको रोटी र दूध खाए । आँगनको छेउमा करिब चारपाथी जति दूध तताएको देखेर योगीले “गाई कति छन् ?” भनेर सोधे । नोकरचाकर धेरै देखेर मगर जमेर बसेका रहेछन् भन्ने योगीले लख काटे । खानपिन पछि धेरै पुराना कुराहरू सोधे योगीले । मुखियाले जानेजति बताए । सुत्ने पनि उनलाई राम्रो व्यवस्था गरिदिए मगरले ।

बिहान सधैं मगर बाबै ठीक तीन बजे उठेर तल सिकुवामा बसेर ठूलो स्वरले “ए माईली, ए जेठा, ए भुन्टे, ए मास्टर (मलाई) भन्दै एएक गरेर नामै काढेर सबैलाई उठाउने उनको रुटिन हो । उनले सबैलाई उठाए । म पनि उठेँ र नित्य मगर बाबैको छेउमा बस्नु पर्ने रुटिन अनुसार बसेँ ।

“हाइन आच्चे जोगी त ओछ्यान छाडेर आघि नै कोता गोएच, ए मास्टर ?” भने बाबैले । मैले हो र ? भन्दै गएर ओछ्यान हेरेको योगी त रहेन छन् । झोला भने त्यहीँ रहेछ । मैले भने “योगी मान्छेहरू राती नै पँधेरामा पुगेर नुहाउँछन् भन्ने सुनेको थिएँ, हो रहेछ भिनाजु ।” हामी चिया पिउँदै गर्दा नभन्दै खोलातिरबाट नुहाइ धुवाइ सिद्याईओरी साडे पाँचबज्दा योगी टुप्लुक्क आईपुगे ।

घरमा बेलैमा सबै उठेर “जाँतो पिँध्ने जाँतोमा, धान कुट्ने ढिकीमा, कोही भाँडाबर्तन पखालिरहेका, कोही गाईबस्तुको धन्दामा लागेका देखेर योगीले भने– हैन मुखिया सबेरै सबै उठ्ने आआफ्नो कामधन्दा गर्ने, गौमाताको सेवा गर्ने मलाई त राम्रो लाग्यो ।” भनेर मगर बाबैको प्रशंषा गरिदिए । जन्तरेले भने– “होइन तापार्इँ के भान्चा, हामी ता आहिले देखि हाइना उहिले देखि हामी तो तीन बाजे उठ्चा । सुत्नु दिँदेना मा त मास्टारको पानी भने । आनि तोँत झान् सुत्देन कि केहो ? आगि पो उठ्यो राछ ।”

“गाईको सेवा गर्ने मान्छेको नराम्रो कहिले हुँदैन” भनेर योगीले भनिदिए । “हामी ता पाहीले पाँचसौ गाई पाल्यो आब खै साकेन त्यस्तै असीवटा होला । सेवा गर्नु गा¥हो चा ।”

बूढालाई ठाउँ मान्छे रमाइलो लागेर होकि ? कामले हो कि “होइन मुखिया तपाईंलाई अफ्ठेरो हुन्न भने म तीनदिन बस्ने छु, के गरौँ भनेर सोधे योगीले । मगर बाबैले भने– “आच्या एकबार्ष बासे पानी हामी पाल्चा बास बास” भने ।

त्यो दिन सायद शनिबार रहेछ । म पनि स्कुल गइन । योगीले याहाँ अरू बस्ती कता छन् । हर्कध्वज लिम्बु कता बस्छन् भनेर मसँग सोधेँ । मगरले “हाइना जाने हा हर्कध्वज काहँ भनेर सोधे ? उनले नजिकै भए त जौं न भने । 

मगरले तामाङ जेठालाई तीनवटा घोडा कस्न भने । जेठाले आँगनमा तीन वटा घोडालाई मकै दाना खुवाएर, पानी पियाएर कस्यो । मगर आफ्नोे घोडामा चडे रातोमा योगी र सेतोमा म । म प्राय सबै त्यो घरका घोडा चड्थे ँ। ठूलाठूला टाँगन घोडा लगाम यसो तन्काईसक्दा घोडा दौडी नै हाल्थे । मगर बूढाको घोडा अगाडि बीचमा योगी अनि पछाडि म बिस्तारै बिस्तारै दौडाएर पनि बीस मिनटमा त्यो आँपटारी हर्कध्वजकहाँ पुग्यौं । उनी प्रतिबन्धित नेपाली काँग्रेसका मान्छे रहेछन् । म सँग पनि त्यो दिन चिनाजाना भयो । जन्तरेलाई उनलाई अँगालो हालेर स्वागत गरे । योगीलाई पहिल्यै चिनेको रहेछ । खुब सम्मान दिए । पुराना इतिहासकै गफगाफ, राजनीतिका बिषयमा ती दुईले गफ गरे । जन्तरेले दुई ठूलो डबका कोदोको जाँड पिए । योगी र मैले दूध पियौं । अनि हामी बिदा हुन खोज्दा योगीलाई उनले त्यतै बस्न आग्रह गरे तर योगीले पछि आउने बाचा गरेर हामी फर्क्यौँ ।

योगीहरू पँधेरामा गएर मसान जगाँउछन् रे भन्ने सुनेकाले भोलिपल्ट बिहान कतिबेला बूढा उठ्छन् भनेर बिचार गरेको बूढा दुई बजे उठेर जानलागेको देखेर म पनि उनको पछि खोलातिर लागेँ । आखिर होइन रहेछ । उनी त योगाभ्यास, प्राणायम र जलनेति गर्दारहेछन् । मैले उनलाई यो छिटो हिँड्ने चैं मलाई पनि सिकाईदिनुन भनेको त “त्यो सिद्ध गर्नुपर्छ नानीहरू सक्दैनौं त्यता नलाग्नु पढ्नु” भनेर पन्छिए बूढा त । मानेनन् सिकाउन । तीनदिन बसेर योगि बाटो लागे ।

यसरी अचानक भेट भएका योगीले काठमाडौंको ठेगाना दिएका थिए मलाई । यसपछि मैले उनको नाम बेलाबेला बिवादमा आइरहने सुनिरहने हुदाँ २०३९ को माघमा पशुपतिनाथको बेदबिद्याश्रम नजिकै वनकालीमा वहाँको आश्रममा भेटेँ । वहाँले एउटा मन्त्र दिनुभयो, जो म ऐले पनि नियमित जप्छु । उनीसँग सँस्कृति खास गरि नेपालको र भारतको उत्तराखण्डको धेरै ज्ञान, ताडपत्र र भोजपत्रको अध्ययन । ऐतिहासिक तथ्यसंबन्धी अध्ययन ठाउँ ठाँउमा पुगेर संकलन गरेका अनुसन्धानका दस्तावेजहरू तयारी गर्ने कार्यमा वहाँ जुटेको देखेको थिएँ । केही आध्यात्मिक ज्ञानकोलागि पनि वहाँको सत्सङ्ग राम्रो हुनेरहेछ । रनमकृशष्ण परमहंश, लाहडी महाशय, महावतार अवतारबाबा, लगायत अरु धेरैको बिषयमा ज्ञान पाए पछि मैले वहाँहरूका बिषयका पुस्तक भेटेसम्म किनेर पढेँ । जो अद्यापि मसँग सुरक्षित छन् । धेरै आध्यात्मिक पुस्तक मैले किने । वहाँले गुरु नै आध्यात्मिक क्षेत्रमा अगि बढ्ने माध्यम हो भन्नु भएको हो । तर वहाँ गुरु बन्न मान्नु भएन । समय आएपछि गुरु भेट्ने छौ भन्नु भयो । जे होस् वहाँ गुरु गोरखनाथ सम्प्रदायको हुनुहुन्थ्यो । वहाँसँग भेट नभएको भए सायद आध्यात्मको ज्ञान मलाई हुने नै थिएन होला । त्यसैले वहाँ विधिवत मेरो गुरु नभए पनि सबैकालागि सद्गुरूदेव नै हुनुहुन्छ । वहाँलाई यिनै दुई शब्द श्रद्धा सुमन ।

ताजा खबर