नेकपा नफुटाउन जुटे सांसद

२०७७ श्रावण २६ सोमबार ०७:२३:०० मा प्रकाशित

काठमाडौं : शीर्ष नेतृत्वका कारण पार्टी विभाजनको डिलमा पुगेको भन्दै नेकपाका ६१ सांसदले कुनै गुटमा नलाग्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताकै पक्षमा उभिन आग्रह गरेका छन्।

‘नेकपाको शीर्ष नेतृत्व तहमा देखा परेको गम्भीर अन्तरविरोधले एकातिर आम नेपाली जनता, तमाम कार्यकर्ता मर्माहत भएका छन्’, उनीहरूले आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा भनिएको छ, ‘अर्कोतिर दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकता प्रक्रिया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेर गएको छ।’ एकता महाधिवेशनसम्म पार्टी विधान र एकताको भावना समेटिने गरी पार्टीलाई एकताबद्ध बनाउन सामूहिक पहलकदमी लिइएको उनीहरूको भनाइ थियो।

संयुक्त अपिल गर्नेमा कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, अञ्जना विशंखे, कल्याणी खड्का, अमनलाल मोदी, दीपकप्रकाश भट्ट, प्रेम आले, विशाल भट्टराई, झपट रावल, लालप्रसाद साँवा लिम्बू, सुदन किराँती, हेमकुमार राई, धर्मशिला चापागाईंलगायतका सांसद छन्। उनीहरूले पार्टी एकता विरोधी कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट पारेका छन्।

‘पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरूलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढंगले पक्ष विपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुने छैनौं’, प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘त्यस प्रकारका पार्टी एकता विरोधी क्रियाकलापलाई रोक्न र निस्तेज गर्न हामी प्रतिबद्ध छौ।’ विधि र प्रक्रियाअनुसार विवाद हल गर्न उनीहरूले नेतृत्वकोे ध्यानाकर्षण गरेका छन्।

सांसद रामकुमारी झाँक्रीले पार्टी फुटाएर वा चोइट्याएर सानो बनाउने कार्यमा उत्साहित नहुन नेतृत्वको ध्यानाकर्षण गरिन्। ‘आफ्नै पुस्तामा पार्टीलाई ध्वंस गरेर हामीलाई खरानी बुझाउँदै हुनुहुन्छ ? ’, उनले पाटी नेतृत्वलाई प्रश्न गरिन्, ‘हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ? ’

सांसद कृष्ण दाहालले पार्टी विभाजनका लागि कतै पनि हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाउँदै सुदृढ एकताका लागि पहल गर्ने बताए। सांसद विशाल भट्टराईले कोभिड, बाढी पहिरो र डुबानबाट जनताले सास्ती व्यहोरिरहेका बेला नेताहरूबीच गाईजात्रे झगडा हुनु दुःखद् भएको बताए। पार्टी एकताका पक्षमा पार्टी कार्यालयदेखि नेताका घर घेर्न पनि पछि नपर्ने उनको भनाइ थियो।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर