२८ सयको तकिया खोल, ८ हजारको तन्ना !

२०७७ श्रावण २६ सोमबार ०७:०३:०० मा प्रकाशित

कोरोना नियन्त्रणमा पौने ६ करोड खर्च

सिरहा नगरपालिकाले ब्रझ मावि माड्र र शूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पस सिरहामा क्वारेन्टिन संचालन गरेको थियो । भारतबाट घर फर्किनेहरुलाई सीमामै रहेको ब्रझ माविमा क्वारेन्टिनमा केहि दिन हेल्ड गरेर क्याम्पस क्वारेन्टिनमा राख्ने गरिएको थियो ।

नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवकाअनुसार यस यी दुई क्वारेन्टिनमा अहिलेसम्म करिब २३ सय जना बसेको तथ्यांक छ । जसमध्ये पिसिआर परीक्षणबाट पोजेटिभ आइसोलेसन अस्पताल गए नेगेटिभ रिपोर्ट आउने घर फर्किसकेका छन । अहिले ७४ जना क्वारेन्टिनमा छन् ।  

क्वारेन्टिनमा ओछ्यानदेखि खानपानसम्मको विजोग छ । नियन्त्रणकारी उपाय अवलम्बन गर्न नगरपालिका असफल हुँदा कोरोना क्वारेन्टिनबाटै धेरैमा फैलियो । तर, नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च जिल्लामै सबैभन्दा बढी छ । यस नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको जनाएको छ । क्वारेन्टिनमा बस्नेहरुलाई  महँगा तन्ना, तकिया, डस्ना र तकियाका खोल बन्दोबस्त गरेको जनगरपालिकाले सार्वजनिक गरेको सामान खरिदको विवरणबाट प्रष्ट हुन्छ ।  

नगरपालिकाले तीन लाख १९ हजार २ सय ७५ रुपैयाँमा १ सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको छ । नगरपालिकाको विवरणअनुसार एउटा तकिया खोल २८ सय ७६ रुपैयाँ ३५ पैसामा खरिद गरिएको छ । ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ । एउटा तन्ना ८ हजार ७१ रुपैयाँ २८ पैसामा खरिद गरिएको छ ।  

साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर विवरण तयार पारी रकम अनियमितता गरेको गुनासोसहितको उजुरी पुगेपछि अख्तियारले आइतबार नगरपालिकाबाट विलसहित विवरणको प्रतिलिपी लिएर गएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्चको कागजात अनुसन्धानका लागि लिएर गएको निमित प्रमुख प्रशासकिय अधिकृत यादवले बताए ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको अख्यिार अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले कोरोना  रोकथाम, नियन्त्रणका लागि खरिद गरेको समानको सम्पूर्ण कागजातको प्रतिलिपी छानबिनका लागि नियन्त्रणमा लिएको वर्दिबास कार्यालयका प्रमुख मणिराम ज्ञवालीले पुष्टि गरेका छन् । कोरोना नियन्त्रणमा नगरपालिकाले गरेको खर्चमा अनियमितता भएको गुनासोको आधारमा आयोगले छानबिन सुरु गरेको उनले बताए ।  

सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई बुझाएको खर्च विवरण कार्यालयको आधिकारिक सामाजिक संजालमा पोष्ट गरेपछि आमजनको ध्यान खर्चमाथी केन्द्रित भएको थियो । खर्च विवरणमाथि विभिन्न किसिमका टिप्पणीहरु सार्वजनिक भईरहेका छन् । स्थानीय युवाहरुले नगरपालिकाले कोरोनाको नाममा व्यापक अनियमितता गरेको उजुरी अख्तियारसम्म पुर्याएपछि अख्तियार अनुसन्धानमा केन्द्रित भएका हुन् ।  

थोकमा ५ रुपैयाँ प्रति गोटा पर्ने मास्कको मूल्य २४ रुपैयाँ बढाएको र खरिद नै नभए जतिको परिणाम बढाएर अनियमितता गरेको पाइएको छ । सिरहा नगरपालिकाका प्रमुखका प्रत्यासी समेत रहेका डा. शुभाष यादवकाअनुसार यस नगरपालिकामा भएका अनियमितता सधैं ढाकछोप हुँदै आएको छ । उप सचिवको दरबन्दि भएको नगरपालिकामा फाइल बढुवा अधिकृत राखेर लुट मच्चाएको यादवको आरोप छ । यहाँ भएका अनियमितताको इमान्दार छानविन गरी दोषी उपर कानुनी कारबाही गर्न उनको आग्रह छ । आफू अनुकुलका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिएर विकास निर्माणदेखि कोरोना संक्रमण नियन्त्रणसम्ममा व्यापक अनियमितता भएको उनको दाबी छ । खुद्रामा ८ रुपैयाँ पर्ने मास्कको २४ रुपैयाँको बिल बनाएको छ । खरिद नै नगरेको सामानको समेत विल बनाएर व्यापक भ्रष्टाचार गरेकोले शुक्ष्म अनुसन्धान तथा छानविन गर्न उनले अख्तियारलाई आग्रह गरेको छ ।  

फाइल लिएर जाने तर कारबाही नहुने विगतको उदाहरणले यहाँका जनताको अख्तियारप्रतीको विश्वास घट्ने गएकोले विश्वास कायम राख्न पनि इमान्दार छानबिन गर्न उनको आग्रह छ ।    

नगरपालिकाले मास्क खरिदमा २० लाख २ हजार ९ सय ९७, थर्मगन १५ हजार ७ सय ५३, ग्लेब्समा ६ लाख ८८ हजार ८ सय, सेनिटाइजर १४ लाख १ हजार ९७, सावुन १ लाख ७२ हजार १ सय ९५, पीपीई ९ लाख १८ हजार ४ सय ९१, किटनाशक औषधि छर्कने स्प्रे ५ हजार, रेनकोट १ लाख ९३ हजार रुपैयाँको खरिद गरेको देखाएको छ ।

यस्तै, रेनबुट ३ लाख १२ हजार १ सय ५०, डस्ना ४ लाख ५५ हजार ८ सय ५०, बेड २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ३ लाख ३० हजार, तकिया २ लाख ८ हजार ९ सय ५०,  कम्बल ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ ।

विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधि छर्किने स्प्रे ठूलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता ४१ लाख २५ हजार ८३०, लामखुट्टे औषधि खरिद तथा छर्किने कार्य १६ लाख २९ हजार ९३६ र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन् ।

यस्तै वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स वितरणमा १ करोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेको विवरण सार्वजनि गरेको छ । नगरपालिकाले जिल्ला स्थित कोभिड संक्रण नियन्त्रण समितिलाई बुझाएको विवरणमा ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च उल्लेख गरेको छ । तर, निमित प्रमुख यादवले हिसाब गर्न गल्ती भएको बताएका छन । सबै हिसाब गरबर भयो उनले नागरिकसँग भने,‘केहि सामानको मूल्य बढी राख्दा सारा हिसाब गरबर भयो । सच्याएर नयाँ हिसाव विवरण बुझाउँछौं ।'
(नागरिक न्युजबाट)
 

 

ताजा खबर