महानायक बन्‍ने कि खलनायक, शीर्ष नेताको हातमा छ : रायमाझी

२०७७ श्रावण २५ आइतबार ०७:१७:०० मा प्रकाशित

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले पार्टी फुटेमा अहिलेका ‘महानायक’ खलनायकमा झर्ने दावी गरेका छन् ।

शीर्ष नेताहरुको कारण पार्टी फुटेमा लामो बलीदानी र संघर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको बताउँदै महानायक बन्ने कि खलनायक बन्ने कुरा शीर्ष नेताको हातमै रहेको उनको भनाइ थियो ।

बैचारिक संघर्ष भन्दा पनि नेताहरुको पदीय हैसियतका कारण पार्टीमा तिक्तता बढेको नेता रायमाझीको भनाइ थियो । हाल पार्टीको अन्तरविरोध भन्दा पनि कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । 

प्रेस संगठन नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रायमाझीले नेता व्यवस्थापनको समस्याका कारण पार्टीभित्र अन्तरविरोध देखिएको बताए । दुई अध्यक्ष झैँ दुई प्रधानमन्त्री बनाए विवाद अन्त्य हुनसक्ने भन्दै उनले व्यंग्य समेत गरेका थिए । ‘सहमति अनुसार दुई अध्यक्ष बनाएका छौँ । प्रधानमन्त्री पनि दुई वटा बनाउने र जोर–बिजोर प्रणली लागु गर्दा राम्रो हुन्छ भन्ने व्यंग्य हान्न सुरु भैसक्यो,’ नेता रायमाझीले भने ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर