सप्तरीबाट सेटिङमा मटर तस्करी

२०७७ श्रावण २५ आइतबार ०७:०३:०० मा प्रकाशित

सप्तरीको सीमावर्ती क्षेत्रबाट नाउमा(काठको बोट) हरियो मटर तस्करी मौलाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–२ को कोशी पलारबाट महिनौदेखि नाउमा हरियो मटरका बोरा राखेर भारतको कुनौली तस्करी हुँदै आएको खुलेको छ ।  

प्रहरी तस्करबीचको सेटिङमा हुँदै आएको मटर तस्करी शुक्रबार राती छताछुल्ल भएको छ । भर्खरै जिल्ला प्रमुखको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठलाई नाउमा मटरका बोरा राखेर भारत तस्करी हुँदै आएको सूचना प्राप्त भयो । श्रेष्ठले भारदह र जिल्लाको संयुक्त टोली कोसी पलार क्षेत्रमा परिचालन गर्यो ।  

सशस्त्र प्रहरीलाई देखेर तस्कर टोली फरार भए । सशस्त्र प्रहरीले नाउमा लोड गरिएको ४५ बोरा हरियो मटर बरामद गर्यो । सशस्त्र प्रहरी उपरिक्षण श्रेष्ठकाअनुसार २५ किलो दरका ४५ बोरा मटर र एक थान काठको नाउ बरामद गरी भन्सार कार्यालय कुनौलीमा बुझाएका छौं । यती धेरै परिमाणमा मटर भारत तस्करी भैरहेको तथ्यले आफू आश्चर्य चकित भएको उनले बताए ।

रामपुर मलहनीया प्रहरी चौकीका असई श्रीप्रसाद ठाकुरकाअनुसार आफु यस चौकीमा आएको दुई महिना नाघ्यो । तर, मटर तस्करी यो नाकाबाट नभएको उनको दावी छ । पहिला यो नाकाबट पनि हुन्थ्यो तर म आएदेखि तस्करी चलेकै छैन, उनले भने ।

ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख(सई) सुरेश यादवका अनुसार नाउबाट मटर तस्करी भइरहेको बारे आफूलाई अनविज्ञ रहेको बताए । ‘मैले त चाल नै पाईन’ उनले भने,‘गस्तीमा जाँदा थोरथोरै त मैले पनि पक्रेर बुझाएको हुँ । पोका बनाएर लगिरहेको बेला पक्रोका हौं ।’ बोराका बोरा लगोको पत्तै पाईन, उनले भने । ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट नाउमा मटर तस्करी हुने कोशी पलार क्षेत्र मुस्किलले पाँच किलोमिटर छ ।

प्रदेश को आठै जिल्लाबाट तस्करी हुने मटर पछिल्लो समय सप्तरीको नाकाबाट फस्टाएको छ । लकडाउन र सीमा सिलका कारण अन्य जिल्लाका नाकाहरु सहज नभएपछि तस्करहरुका लागि सप्तरीको कोशी पलार क्षेत्र सुरक्षित नाका बनेको छ  ।  

पहिला तेश्रो मुलुकबाट नेपाल भित्र्याईएको मटरलाई तस्करहरुले सिमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट सीमामा सुरक्षाकर्मीको आँखा छलेर भारत पुर्याउने गरेको थियो । तर, पछिल्लो समय सप्तरी केन्द्रित भएर मटर तस्करहरु कोशी पलार क्षेत्रबाट नाउमा मटर पारि टपाउदै छन । यती धेरै मरिमाणमा मटर त्यतिकै पारि पुर्याउने जोखिम मुर्खले पनि मोल लिदैन हनुमाननगरका एस स्थानीयले भने,‘सशस्त्र प्रहरीको जिल्ला प्रमुखलाई छलेर मटर पारि छिराउन खोज्दा धरापमा परे । ‘उहाँ नयाँ भएकाले थाहा पाउँदैन कि भनेर छलेर टपाउन खोज्दा माल समातियो’ उनले भने । मटर, मरिच र मदिराको भारत तस्करीका लागि यो नाका नाम कमाएको छ, उनले भने,‘लकडाउनका बेला नाउभरी मदिराका बोतल पार हुन्थ्यो, अहिले मटरका बोरा पार हुन्छ ।’

भारतमा मटरको भाउ राम्रो पाइने भएकाले नेपालमा सस्तो रहेको मटर भारत तर्फ चोरी निकासी गर्ने गरेका छन् । नेपालमा तेस्रो मुलुकबाट आयातित मटरको तुलनामा प्रतिकिलो ५० रुपैयाँ कम पर्न थालेपछि भारततर्फको अवैध निर्यात बढेको हो । सीमापारी लगिएको मटरको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ । मटरको भाउमा रहेको अन्तर यसको कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैयाँ अर्को आकर्षण हो । 

भारतीय रुपैयाँको कालोबजारी गर्ने गिरोहले सीमामा भारतीय मुद्रामा साढे दुई प्रतिशत (नेपाली चार रुपैयाँ) दिएर हातोहात किन्ने गर्छन् । उनीहरुले त्यो भारतीय मुद्रामा आफ्नो नाफा थपेर बेच्ने गर्छन् । भारतीय मुद्राको उपलब्धता भने सीमावर्ती क्षेत्रमा सधैं अपुग रहने भएपछि मटर तस्करीको अर्को पाटोको रुपमा भारतीय मुद्राको कालोबजारीले सहजै ठाउँ बनाउन पाएको बजारका जानकारहरुको विश्लेषण छ । मटरको तस्करीसँगै भारतीय मुद्राको कालोबजारीले यो धन्दाले बढवा पाएको हो ।

सीमावर्ती क्षेत्रमा मटरको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दा सीमावर्ती बजारको अर्को आकर्षण हो । अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कारोबार पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर