खोल्सीको बाढीसंगै आएको पहिरोले सडक छेउको बस्ती नै सखाप

२०७७ श्रावण २४ शनिबार ०६:५७:०० मा प्रकाशित

सदरमुकाम चरिकोट हुँदै उत्तरको सिंगटी बजारबाट तामाकोसी नदीको किनारै किनार लामावगर पुर्‍याईएको सडक किनारामा पर्छ गौरीशंकर गाउँपालिका ८ स्थित खारे गाउँको टुनीटार । लामावगरमा बन्दै गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले यो सडक खने लगतै सडक किनारमा माथि गाउँबाट झरेकाहरूले १० घरधुरीको यो सानो टुनिटार बस्ती बसालेका थिए ।

यही नदी किनारको बस्तीकी सिता आचार्य बिहिबार बेलुकी घरमै पल्टीरहेकी थिईन् । खाना पकाएर परिवारका सबै सदस्यलाई खुवाईसकेकी थिईन् । साँझ छिप्पीसकेको थियो । सुत्ने तरखर हुँदै थियो । घडीमा रातीको ८ बजेको हुदो हो । अरु बेला सलसल सुसाएर एउटै आवाजमा बग्ने घर मुनीको तामाकोसी नदी तिरबाट त्यही बेला अचानक एउटा आवाज सिताको कानमा ठोक्कीयो ।

झ्याल खोलेर नदी तिर हेरिन्। अरु समय एउटै तालमा बग्ने नदीले पारी बुलुङ तिर तर्ने पुल छुन लागिसकेछ । नदीमा बगेर आएको हिलो बस्ती सम्मै गन्हाईरहेको थियो । तामाकोसी बेगले बग्न थालिरहेको थियो । सिता चिच्याईन । वरिपरिका छिमेकीहरू पनि निस्के । घर छेउमा सानो खोल्सी थियो । खोल्सी पारीका छिमेकीहरू उतै गएका लख सिता र गाउँलेहरूले काटे । सबैलाई नदी किनारको यो बस्ती लैजाने डरले पिरोल्यो । गाउँले भागाभाग गर्न थाले सिता पनि परिवारका सदस्य सहित घर माथि पल्लो डाँडोमा गएर बसिन् । आकाशबाट मुसलधारे पानी परिरहेको थियो । ज्यान जोगाउन भागेका उनीहरू मुसो भएर भिजे ।

त्यही बेला सिताले गाई बस्तुबाख्रा सबै सम्झीईन् । तिनिहरूलाई बचाउछु भनेर भिज्दै घर फर्किदै थिईन् । घर छेउमै पुग्न लाग्दा खोल्सीको माथिबाट ठुलो आवाज आउन थाल्यो । ठुलठुला चट्टान र मुढा समेत बगेर ठोक्कीदै आएको गुड्गुडे आवाजलाई छल्दै उनी ज्यान जोगाएर पुनः परिवार भए तिर फर्किईन् । खोल्सीको माथिबाट ठुलो बाढी झरेर एकै छिनमा तामाकोसी नदीमा मिसियो ।

यही खोल्सीको बाढी संगै आएको पहिरोले सिता सहित १० जनाको घर क्षती गराएको छ । तिन घर पुरिएका छन् । यही बाढी र पहिरोमा परेर सिंगटी बजार देखी गाउँलेको घरमा ग्रिल र सर्टर हाल्न आएका कालिञ्चोक गाउँपालिका ८ का मजदुर सुरेश शिवाकोटीको ज्यान गएको छ । खोल्सीको बाढी आउँदा सिताको घरबाट खोल्सी पारी तर्फ रहेको लक्ष्मण बुढाथोकीको घरमा सुरेश सुतेका थिए । उनको शवलाई पुरिएको अवस्थामा शुक्रबार बिहान सुरक्षाकर्मी र स्थानियले निकालेका थिए । सुरेश ससंगै काम गर्न गएका जाजरकोटका लोकेन्द्र महतो घाईतेका भएका छन् । बस्तीभरीका प्राय सबै घरमा पशु चौपाया मरेका थिए ।

बाढी आए लगतै लक्ष्मण र उनका परिवारका सदस्य भागेका थिए । उनीहरूलाई चोट समेत लागेको थियो । खोल्सीको यही बाढीले लक्ष्मण सहित स्थानिय गजेन्द्र बुढाथोकी र रामबहादुर तामाङको घर सहित एउटा सामुदायिक भवनको नमोनिसान नभेटिने गरी पुरिदिएको छ । दिपक आचार्य, रामबहादुर तामाङ, गणेश बुढाथोकीको घर पूर्ण क्षेती भएका छन् । बाढीका कारण माथिल्लो तामाकोसी जाने सडक अवरुद्ध हुन पुगेको छ ।      

तामाकोसी उर्लिएपछि आएको वर्षातले बस्तीको नामोनिसान मेटाईदिएको दिपकले बताए । ‘तामाकोसी यसरी बहुलाएको पहिलो पटक देखेँ,’ उनले भने, ‘तामाकोसी तिर हेर्दा हेर्दै भारी वर्षात पछि खोल्सीमा आएको बाढीले बस्ती नै लग्यो’ । बाढीले ठुल ठुला रुखहरू समेत संगै लिएर आएका कारण रुखहरू बगेर खोल्सी थुनिदै खोल्दै आएकाले बाढी आएको हुन सक्ने स्थानीयले बताए । बस्तीका १० घर विस्थापित भएका छन् ।    

तामाकोसी नदी र सहायक खोलाहरू रातभर बहुलाउदा गाउँपालिकामा बितण्डा मच्चाएको पालिका अध्यक्ष स्वयंबहादुर खड्काले सुनाए । तामाकोसी सहित मार्बु तर्फबाट बगेर आउने खानीखोला र आसपासका खोलाहरूले चंखुको गुरुम्फी बजारका घरहरू समेत पुरेको उनले सुनाए । सुरिदोवानबाट तामाकोसीमा मिसिने खानी खोला शुक्रबार दिउसो सम्म धमिलो बनेर उर्लिएको थियो । तामाकोसीले कटान गर्दा भोर्ले हुँदै मार्बु सम्म पुग्ने सडक अवरुद्ध भएको खड्काले जानकारी दिए । जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतिरमण पोखरेलले खोल्साखोल्सी र नदीमा आएको बाढी र पहिरोमा परेर गौरीशंकर गाउँपालिकामा मात्र करिब १ सय घर जोखिममा परेको सुनाए । ‘लगत संकलन भईरहेको छ’ उनले भने, ‘सय घर बढी जोखिममा परेको छ ।’  

तामाकोसीमा ८ बजेदेखी बढेको वहावले गाउँले संगै स्थानिय प्रशासनका अधिकारीहरूलाई रातभर तनाव दिएको थियो । जगत देखी सिंगटी, मलेपु हुँदै रामेछापको मन्थली सम्मका मानिसहरू रातभर त्रासमा परेका थिए । सिंगटी बजारमा रातभर तनाव छाएको थियो ।
(नागरिक न्युजबाट)

ताजा खबर