शक्ति बटुल्दै देउवा

२०७७ श्रावण २२ बिहीबार ०९:४१:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी ७–१० फागुनका लागि तय भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र शक्ति संघर्षको खेल सुरु भएको छ ।

महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । कतिपय नेताले भेटघाटका लागि सम्पर्क कार्यालय खोलिसकेका छन् ।

हाल पार्टी नेतृत्व सम्हालिरहेका देउवा पुनः एक पटक नेतृत्वका लागि अघि बढेसँगै उनले नेतृत्वमा पुग्न शक्ति बटुल्ने कामलाई समेत तीव्रता दिएका छन् । उनले १४औं महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीभित्र रिक्त रहेका विभाग गठन गर्दै विभागमा सदस्यसमेत धमाधम नियुक्त गरिरहेका छन् ।

तत्कालीन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारदेखि राप्रपाका पूर्वमहामन्त्री सुनील थापासम्म कांग्रेस प्रवेश गरेका छन्

देउवाले विधानअनुसार महाधिवेशन सकिएको दुई महिनाभित्र (नयाँ विधानअनुसार ६ महिना) गठन गरिसक्नुपर्ने विभाग गत फागुन तेस्रो साता चार वर्षको कार्यकाल सकिएपछि गठन गरेका थिए । उनले विधानमा कायम रहेका पार्टीका २८ विभागलाई बढाएर ४७ बनाउने निर्णयसमेत केन्द्रीय समितिबाट गरेका थिए ।

सभापति देउवाले वरिष्ठ नेता पौडेल पक्षको विरोधबीच १३, १७ र १९ फागुनमा गरी २० वटा विभाग गठन गरिसकेका छन् भने बाँकी २७ विभाग भने आफूइतर पक्षको सहमतिमा गठन गर्ने गरी बाँकी राखेका छन् ।

हाल भने देउवाले आफूले गठन गरिसकेका विभागमा धमाधम सदस्य मनोनीत गरिरहेका छन् । विभागलाई प्रदेश तह हुँदै स्थानीय स्तरमा लैजानसमेत तयारी अघि बढाएका छन् । त्यसका लागि सदस्य छान्न उनले सातवटै प्रदेशमा केन्द्रका नेतालाई प्रतिनिधि तोकेर सदस्यको नामावली संकलन गर्दै अघि बढेका छन् ।

त्यसका लागि देउवाले प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ बाट आनन्द ढुंगाना, बाग्मती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश ५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी साउदलाई नामावली छनोटको जिम्मेवारी दिएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय विभागमा संयोजकसहित ५१ जना सदस्य रहने व्यवस्था छ ।

यसैगरी, देउवाले महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीका लागि योगदान दिएका ४ सय २९ जनालाई ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनीत गरिसकेका छन् । यो कदम महाधिवेशनमा आउने प्रतिनिधिमा प्रभाव राख्न गरिएको इतर पक्षको बुझाइ छ । पार्टीको सक्रिय राजनीतिमा नरहेका पूर्वसभामुख, पूर्वमन्त्री, सांसद, पार्टीका पूर्वपदाधिकारी तथा कार्यकर्तालाई देउवाले राजनीतिज्ञ सभामा मनोनय गरेका हुन् ।

१४औं महाधिवेशनमा हुने प्रतिस्पर्धामा ५० प्रतिशत मत कटाउन र सकेसम्म दोस्रो चरणमा निर्वाचन प्रक्रियालाई नलैजान देउवा अघि बढिरहेको उनी निकट एक नेताले जानकारी दिए । महाधिवेशनमा प्रतिनिधि भएर आउनेहरूको संख्या आफ्नो पक्षमा राख्न उनले अहिलेदेखि नै तयारी बढाएको ती नेताले जानकारी दिए ।

महाधिवेशनमा करिब ८० प्रतिशत प्रतिनिधि प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउने गरेका छन् । बाँकी २० प्रतिशत प्रतिनिधि विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट आउँछन् भने बहालवाला केन्द्रीय सदस्यहरू समेत प्रतिनिधि हुने गर्दछन् ।

तर, संस्थापन इतर पक्ष भने सभापतिको पछिल्ला कदमविरुद्ध निरन्तर प्रतिवादमा उत्रँदै आएको छ । इतर समूहका नेता पौडेलसहितले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका पाँच विषयमा सभापति देउवालाई भेटेरै निर्णय सच्याउन दबाब दिइरहेका छन् ।

उनीहरूले महाधिवेशनको मुखमा विभागमा गरिएका मनोनयन र नियुक्ति खारेजीका लागि पार्टीको निर्वाचन समितिमा समेत उजुरी दिएका छन् ।

देउवा क्याम्पमा को को आए ?
१३औं महाधिवेशन अघिदेखि १४औं महाधिवेशनको तयारी अघि बढिरहँदाको हालसम्मको अवधिमा तत्कालीन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारदेखि राप्रपाका पूर्वमहामन्त्री सुनील थापासम्म कांग्रेस प्रवेश गरेका छन् ।

१३औं महाधिवेशन अघिदेखि २० फागुन २०७२ पछि नेताहरू फरमुल्लाह मन्सुर, अर्जुन जोशीलगायतका नेताहरू कांग्रेसको तत्कालीन संस्थापन समूह छाडेर देउवा क्याम्पमा आए । यसैगरी, १३औं महाधिवेशनपछि अर्थात् देउवा सभापतिमा निर्वाचित भएपछि पुरानो कोइराला क्याम्पमा रहेका नेताहरू आनन्द ढुंगाना, चीनकाजी श्रेष्ठ, गोविन्द भट्टराईसहितका नेताहरू देउवा समूहमा आएका छन् ।

यसैगरी, २०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका समयमा तत्कालीन लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदारले सिंगो पार्टीलाई नै कांग्रेससँग मिलाएका छन् । हाल उनी निकट ११ जना नेता कांग्रेस केन्द्रीय समितिमा छन् ।

यसैगरी, राप्रपाका नेता सूर्यबहादुर केसी र एक क्षेत्रीय पार्टीका नेता दयाराम पाण्डेसहितका नेताहरूलाई देउवाले निर्वाचनकै समयमा कांग्रेस प्रवेश गराए । यस्तै, कैलालीका तत्कालीन एमालेका नेता मोहनसिंह राठौरलाई समेत देउवाले कांग्रेसमा भित्र्याएका थिए ।

यसैगरी, सर्लाहीका शम्भुलाल श्रेष्ठलाई समेत देउवाले निर्वाचनकै समयमा कांग्रेस प्रवेश गराएका थिए । उनी देउवा प्रधानमन्त्री रहेको सो समयमा तत्कालीन माओवादीका कोटामा राज्यमन्त्री थिए ।

यस्तै, कपिलवस्तुका अभिषेकप्रताप शाहलाई समेत देउवाले निर्वाचनकै समयमा कांग्रेस प्रवेश गराएका थिए । तमलोपाका तत्कालीन महामन्त्री जंगिलाल रायलाई समेत देउवाले निर्वाचनकै समयमा कांग्रेस भित्र्याएका थिए ।

यसैगरी, निर्वाचनअघि झापाका विश्वदीप लिङ्देनलाई समेत देउवाले कांग्रेस भित्र्याएका थिए । उनले गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघिको निर्वाचनमा केपी ओलीलाई झापामा पराजित गरेका थिए ।

केही दिनअघि मात्रै राप्रपाका पूर्वमहामन्त्री समेत रहेका नेता सुनिल थापाले केही पूर्वकेन्द्रीय सदस्यसहितलाई लिएर कांग्रेस प्रवेश गरेका थिए । सभापति देउवाले उनलाई सहमहामन्त्रीसहित ५ जना केन्द्रीय सदस्य, दुई आमन्त्रित सदस्य र ५ हजार क्रियाशील सदस्य दिने तयारी गरिरहेका छन् ।

यस्तै, देउवाले लोकतान्त्रिक फोरमलाई कांग्रेसमा मिलाएपछि गच्छदारलाई उपसभापति मनोनीत गरेका थिए भने सो समूहलाई २५ हजार क्रियाशील सदस्यता दिने बताइएको छ ।

यस्तै, विभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई आफ्नो पक्षमा राख्न देउवाले महाधिवेशनको मुखमा अस्वाभाविक पद बाँड्ने तयारी गरेको पौडेल पक्षको आरोप छ । १३औं महाधिवेशनको मुखमा देउवालाई साथ दिएका नेताहरू अर्जुननरसिंह केसी र चन्द्र भण्डारीले भने देउवाको साथ छाडिसकेका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर