सवा ५ लाख सरकारी कर्मचारीको कोरोना बिमा गरिने

२०७७ श्रावण २२ बिहीबार ०८:२१:०० मा प्रकाशित

सरकारले बजेटमा घोषणा गरेअनुसार बिमा योजना कार्यान्वयन गर्न लागेको हो

काठमाडौँ — सरकारले करिब सवा ५ लाख सरकारी कर्मचारीको कोरोना बिमा गर्ने भएको छ । प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमा रकम (बिमांक) भएको यो बिमा कर्मचारीका लागि निःशुल्क हो ।

 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बिमा गर्ने घोषणा गरेको थियो । सोही व्यवस्था कार्यान्वयनमा आएको हो । बिमा कार्यक्रम कार्यान्वयनका लागि बिमा समितिले बुधबार कोरोना बिमा मापदण्ड–२०७७ जारी गरेको छ ।

‘आगामी वर्षका लागि अस्थायी र करारलगायत सबै राष्ट्रसेवकको १ लाख रुपैयाँसम्मको कोरोना बिमा निःशुल्क हुने व्यवस्था मिलाएको छु,’ चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ । हाल निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षकलगायत सबै गरी करिब सवा ५ लाख सरकारी कर्मचारी छन् ।

कर्मचारीको बिमा गर्दा हरेक मन्त्रालय मातहतका कार्यालयले आफ्ना कर्मचारीको कोरोना बिमा गर्नुपर्नेछ । सुरुमा बिमा शुल्क सम्बन्धित कार्यालयले नै भुक्तानी गर्नुपर्नेछ । सो रकम पछि सरकारबाट फिर्ता पाइने बिमा समितिले जनाएको छ ।

कोरोना बिमा गरेका नागरिकलाई बिमा शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । सरकारले बजेटमा एक लाख रुपैयाँसम्मको सामूहिक कोरोना बिमाको वार्षिक शुल्कमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि पनि बिमा समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ ।

‘कोरोना रोगको बिमा हुने थप व्यवस्था गरी १ लाखसम्मको सामूहिक कोरोना बिमा गर्दा लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिने प्रबन्ध मिलाएको छु,’ बजेट वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतका व्यक्तिको बिमा दायित्व शुल्क सरकारले व्यहोर्ने व्यवस्था मिलाएको छु  ।’ यसरी बिमा शुल्कमा अनुदान पाउन भने सामूहिक रूपमा बिमा गरेको हुनुपर्ने व्यवस्था कोरोना बिमा मापदण्डमा छ । व्यक्तिगत रूपमा कसैले एक लाख रुपैयाँसम्मको कोरोना बिमा गरेमा उसले सरकारबाट अनुदान पाउँदैन । तर परिवार, कार्यालयमार्फत सामूहिक रूपमा बिमा गरेको अवस्थामा बिमा शुल्कमा ५० प्रतिशत अनुदान पाइन्छ । बिमा शुल्कमा अनुदान पाउन भने स्थानीय निकायको सिफारिस चाहिने व्यवस्था छ । कसैले आफ्नो परिवारको सामूहिक बिमा गरे स्थानीय निकायबाट यो व्यक्तिको परिवारमा यति जना छन् भन्ने आशयको सिफारिस चाहिने व्यवस्था बिमा समितिले गरेको हो । कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री सुरु गरिएको थियो ।

यो बिमाअन्तर्गत अहिलेसम्म करिब ६ लाख जनाको बिमा भइसकेको छ । उक्त बिमामा करिब ३३ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सो अवधिमा ५७ हजार ६ सय बिमालेख बिक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका थिए । कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारका बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर सामूहिक रूपमा घरपरिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ । यसमा पनि सरकारबाट ५० प्रतिशत अनुदान पाइने भएपछि प्रतिव्यक्ति ३ सय रुपैयाँमै बिमा गर्न सकिन्छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर