दमननाथ ढुंगानाले नेपालको लोकतन्त्र प्राप्तिको लामो लडाईंमा सक्रिय योध्दाको भूमिका निर्वाह गरेका छन् । नेपाली कांग्रेसका योध्दाका रुपमा लोकतान्त्रिक राजनीतिमा उनको समर्पण र सक्रियताका कारण उनको लोकप्रियता व्हात्तै वढेको हो । सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सम्पन्न पहिलो जन–आन्दोलनको सफलतापछि पहिलो संसदीय निर्वाचनमा उनी काठमाडौ क्षेत्र नंवर २ बाट संसदमा निर्वाचित भए । त्यसपछि गठन भएको संसदको सभामुख पनि उनी नै भए । पार्टी र सरकारमा भएका विविध घटनाक्रम र माओवादी विद्रोहका कारण नेपालको संसदीय राजनीति एकपटक फेरी विथोलियो । नेपाली कांग्रेस पार्टी माओवादी विद्रोहीसँग वृहत शान्ति सम्झौतागर्न सहमत भएपछि ढुंगाना यो प्रक्रियामा सामेल भए।

अहिले वृहत्त शान्ति सम्झौता अक्षरशः पालना हुन नसक्ने अवस्था आएको वेला पार्टीले दमननाथ ढुंगानालाई भक्तपुर जिल्लाको दुइ नम्वर क्षेत्रबाट संसदमा उठाएको हो । ढुंगाना भक्तपुरका लागि अपरिचित व्यक्तित्व होइन । यो जिल्लामा प्रजातान्त्रिक आन्दोलनका साथै नेपाली कांग्रेसको संगठन निर्माणमा उनको विशेष योगदान रहेको छ । ढुंगाना खासगरेर, २०४६ को आन्दोलन अघि स्वर्गीय जगन्नाथ आचार्य, स्वर्गीय व्दारिका श्रेष्ठ लगायत भक्तपुरका लोकतन्त्रवादीहरुको सम्पर्क सूत्रका रुपमा रहेका थिए ।

गणतान्त्रिक नेपालको पहिलो चुनावमा उम्मेदवार बन्ने सौभाग्य पाएका ढुंगाना के भन्छन् त ? अध्ययनशील र प्रष्ट वक्ता ढुंगानासँग सरल पत्रिकाको लागि बिष्णु निष्ठुरी सुकृत नेपालले गरेको कुराकानीको सार :

लामो समयको अन्तरालपछि निर्वाचनमा प्रतिष्पर्धा गर्न आउनु भयो नि ?

जनताले ल्याएको यो परिवर्तन, लोकतन्त्र, युवापुस्ता र राष्ट्रको भविष्यको एउटा प्रवक्ता भएर काम गर्न मैले निर्वाचनमा भाग लिन लागेको हुँ । युवाहरुले देश र लोकतन्त्रको भविष्यप्रति बिश्वास गर्ने ठूलो ठाउँ छ भन्ने कुराको भरोसा लाग्दो वातावरण निर्माण गर्न म एउटा प्रवक्ताको रुपमा काम गर्न चाहन्छु ।

यस अघि पनि म जनताकै माझमा अर्कै किसिमले कृयाशील थिएँ – एउटा बृहत्तर संसदमा । तर नेपाली कांग्रेसले मलाई जननिर्वाचित संसद्भित्रै बसेर काम गर्नुपर्छ भनेर जनताको मत लिन प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनाएको छ।

म भक्तपुर २ का मतदाताको विश्वासको मत लिएर  संविधानलाई हाम्रो राष्ट्रिय अपेक्षा र जनताका आकांक्षा पूरा गर्ने गरि आवश्यक कार्य गर्न सांसदहरुसँग सहकार्य गर्नेछु र म जनतासँग पनि यही बिषयमा संवाद गर्नेेछु ।   संविधान सभाले संविधान त बनाइसक्यो । अब यो त हाम्रो राष्ट्र कै संविधान हो । यसलाई देशमा राजनीतिक स्थायित्व दिनसक्ने किसिमले बिकसित गर्नु आवश्यक छ ।  संसदभित्र र जनतासँगको जिवन्त संवादबाट संविधानलाई स्थायित्व दिनसक्ने बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ । 

चर्चाबिनै उम्मेद्वारीको कुरा एकाएक आयो...

 मेरो उम्मेद्वारीको कुरा सभापतिजीबाटै निर्णय भएको हो । पार्टी सभापतिको नाताले उहाँ नै मेरो नेता हो । निर्वाचनमा भाग लिनुपर्छ भन्ने निर्णय भैसकेपछि म उहाँको नेतृत्वलाई बल प्रदान गर्न आएको छु ।

नेपाली कांग्रेसले तपाईंलाई यति लामो समयपछि किन उम्मेद्वार चयन गर्यो ?

मैले लोकतन्त्रका लागि साँच्चै नै एउटा निष्ठाको लडाईँ लडेको छु । जहाँ रहेबसे पनि राष्ट्रकै सेवा गर्ने हो ।   मैले लोकतन्त्र र राष्ट्र सेवाको त्यहि काम दल भन्दा बाहिर बस्दा फराकिलोसँग गर्न सकिन्छ भन्ने मैले देखें ।   २०५१ सालपछि करिब २३ वर्ष जति म संगठन बाहिर नागरिकहरुका वीच बसेर शान्ति, स्थायित्व र लोकतन्त्रकै लागि कृयाशील थिएँ, यो सबैलाई जानकारी भएकै बिषय हो । २३ वर्ष पछि मैले के महशुस गर्न थालें भने बाहिर बसेर जति प्रजातन्त्र सुदृढीकरणको लागि काम गरेपनि त्यसका लागि नागिरक आवाज बुलन्द गरेतापनि अखिर त संसद नै चाहिँदो रहेछ । म यसअघि  एउटा फराकिलो संसदमा थिएँ । त्यहाँबाट म सत्ताको एउटा अपौचारिक संसदमा गइरहेको छु । त्यहाँ गएर  मैल नेपाली कांग्रेस र अरु पार्टीलाई पनि राष्ट्रिय सहमतीको यही संविधानलाई बढि स्वीकार्य बनाएर राष्ट्रिय सहमती र राष्ट्र निर्माणको संस्कृति निर्माण गर्ने कुरामा सहकार्य गर्न मद्दत गर्ने हो । त्यसमा मेरो संसदभित्र भूमिका हुन सक्छ भन्ने मैले देखेको छु ।

संविधानप्रति त धेरै असन्तुष्टि प्रकट भएका छन् नि ?

के छ भने, यो संविधानले धेरै प्रगतिशिल तत्व ल्याएको छ । तर त्यो प्रगतिशिल तत्वलाई संस्थागत गर्दागर्दै स्थायित्व कसरी दिनु पर्छ भन्ने स्रोत त मैले   देखिरहेको छु । संविधानले स्थायित्व दिइरहेको छैन, बहुमत प्राप्त गर्न बडा कठिन बनाइरहेको छ । बहुमत नभई सरकार चल्दैन । यता र उता भइरहन्छ । सँधै अस्थिरता हुन्छ । प्रधानमन्त्रीले जहिले पनि अरु दलको सहयोग लिएर मात्र सरकार चलाउनु पर्छ । उसले सँधै अरु दलमाथि निर्भर हुनुपर्छ । त्यसले गर्दा यो संविधानबाट स्थीरता नहुने देखिरहेको छु ।

तर वर्तमान संविधानमा जुन प्रगतिशील एजेण्डाहरु आएका छन् समानुपातिक, समावेशी, मौलिक हकको बिस्तार अथवा पिछडिएको वर्ग विशेषीकृत वर्गहरु  इत्यादि । सबै प्रगतिशिल पक्षलाई अंगिकार गर्दै त्यसलाई स्थापित गर्दै, त्यसलाई पनि स्वीकार गर्दै अगाडि बढ्नु पर्छ । तर अहिले जेजस्तो अवस्थामा छ, हाम्रो राष्ट्रिय राजनीति पनि यही संविधान र यही संसदबाट पूरा गराउनु पर्यो । मैले त्यसमा केही कमी चाहिँ देखिरहेको छु । यदि निर्वाचनमा म सफल भएँ भने सांसदहरुसँग अन्तरदलीय सहकार्य गरेर,सबै दल र नेताहरुसँग छलफल गरेर परिणामुखी काम गर्न सकिन्छ भन्ने विश्वासले नै म जनताको विश्वास लिएर संसदमा गइरहेको छु ।

संविधानमा तपाईँले देख्नु भएको कमी के हो त ?

मैले कमी के देखें भने,त्यहाँ असन्तुष्टि छ । त्यो असन्तुष्टि अझै पनि सकिएको छैन । मधेश र जनजातीको मुद्धा छ । कांग्रेसले नै संशोधनको प्रस्ताव ल्याएको छ । महिलाकै बिषयमा ३३ प्रतिशत भने पनि व्यवहारमा के भैरहेको छ त्यो हामी सबैले देखिरहेकै छौं ।   ३३ प्रतिशत भनिए पनि व्यवहारमा प्रतिनिधित्वको समानता भएको छैन । महिलालाई हामीले खाली समानुपातिकबाट मात्र लगिरहेका छौं ।  यी सबै कमीकमजोरीलाई पूर्णता दिँदै सबै राजनीतिक शक्तिका वीचको सहमतिबाट संविधानप्रति सबै देशवासीको अपनत्व बढाउन सकिन्छ ।

२०४७ को संविधान निर्माणमा पनि यहाँको योगदान थियो, त्यो लामो समय जान सकेन । यो संविधानका बारेमा यहाँलाई के लाग्छ ?

 २०४७ सालको संविधान निर्माणमा एउटा संविधानविद्को नाताले र नेपाली कांग्रेसको प्रतिनिधिका हैसियतले मेरो भूमिका थियो । त्यतिबेला हामी कांग्रेसीहरु र सबै प्रजातन्त्रवादीहरुमात्रै होईन देशवाशी नै धारा ५५ बाट पीडित थियौं । त्यो २०१५ सालको संविधानमा धारा ५५ छ । जसवाट पूर्वाग्रह राखेर राजाले सरकार विघटन गर्ने अझ संसद नै बिघटन गर्ने खतरा रहन्थ्यो । राजाले जुनसुकै बेला  प्रजातन्त्र माथि प्रहार गर्ने ठाउँ बन्द होस् भन्ने  हाम्रो मूल लक्ष्य थियो ०४७ को संविधान बनाउँदा । त्यसमा हामी सबैको योगदान रहेको हो । कांग्रेसको पनि योगदान रहेको हो । बिश्वनाथ उपाध्यायजी, हामी र एमालेका साथीहरु भएर त्यो क्षेत्रमा सकेसम्म धेरै सुधार गरेका थियौं ।  मैले अघि पनि भनिसकेको छु कि वर्तमान संविधानमा धेरै प्रगतिशील बिषयहरु आएका छन्,तिनलाई जनताको जीवन र जिविकासँग जोडेर भरोसायोग्य बनाउनुपर्छ । यसमा जति धेरै जनताको हिस्सेदारी बढाउन सकिन्छ त्यति नै धेरै संविधानमा सम्पूर्ण नेपालीको अपनत्व पनि बढ्दै जानेछ ।

शान्ति प्रक्रियाको अघि र पछि पनि द्वन्दरत पक्षहरुलाई संवादमा सहयोग गर्न यहाँ लामो समय क्रियाशील हुनुभएको थियो,यो प्रक्रिया कुन ठाउँमा पुगेको छ भनेर बताउने यहाँ एक आधिकारिक नेता नै हुनुहुन्छ, निर्वाचन क्षेत्रमा जाँदा के भन्नु हुन्छ ? 

यो निश्चित रुपमा नै तपाईँले भनेको कुरा ठीक हो । म हिजो अन्तरदलिय सहजकर्ताको भूमिका निर्वाह गरेको मान्छे । एउटा तटस्थाको भूमिकाबाट अब म मेरो दल र राष्ट्रिय आवश्यकताले पनि अहिले पार्टीको रुख चिन्हको उम्मेद्वार भएको छु । तर मेरो परिभाषामा मेरो त्यो भूमिका यथावत् नै  छ । त्यसलाई म बन्द हुन दिन्न । अब त्यो कति सम्भव छ भन्ने कुरा चाहि म अरुको कति सहयोग जुटाउन सक्छु भन्नेमा निर्भर रहन्छ । म अहिले पार्टीको उम्मेद्वार भएतापनि मेरो भूमिका त्यही रहन्छ । तर एउटा कुरा तिमी उम्मेद्वार भइसक्यौ भन्ने प्रश्न तेर्सिन्छ,त्यसलाई म स्वीकार गर्छु । म के भरोसा दिलाउँछु भने उम्मेद्वार भएपनि त्यहि काम पूरा गर्नका लागि म उम्मेदवार हुनुपर्यो । उम्मेद्वार भएरै त्यहि काम गर्छु । म संसदमा अन्तरदलीय सहजकर्ताको काम गर्छु ।

शान्ति प्रक्रियापछि देश र जनताले के पाए भनेर मतदाताले यहाँसँग जिज्ञासा त राख्लान् ?

शान्ति प्रक्रियामा केही उपलव्धिहरु भएका छन् । बाह्र बुँदे सहमतिदेखि बृहत शान्ति सम्झौता,अन्तरिम संविधान र  संविधान सभाबाट वर्तमान संविधान आउनु शान्ति प्रक्रियाकै उपलव्धि हुन् । एउटा कुरा के छ भने माओवादी निःशस्त्र भएका छन् । माओवादीको निःशस्त्रीकरण भएको छ । दोस्रो कुरा के छ भने हिंसा आतंकको संस्कृति शान्तिपूर्ण लोकतान्त्रिक संस्कृति तर्फ अग्रसर भएको छ ।

 यो बामपन्थी भन्ने शब्दसँग आपत्ति छैन । तर कम्युनिष्ट भन्नाले के जनाउँछ भने त्यो अक्टोवर रेभ्युलिसनको सर्वहारा अधिनायकवाद जनाउँछ । मार्कसिज्मको त्यो दुईवटा पक्ष छ । एउटा के छ भने बहुदलिय फे्रमवर्क भित्रको मार्कसिज्म पनि छ । त्यो दर्शनको रुपमा । एउटा राज्य कस्तो खडा गर्ने भन्नेको मार्कसिज्मको रुपमा छ,त्यो अक्टोवर रिभ्युलुसन हुन आउँछ । त्यसकारण बामपन्थी अथवा मार्कसिस भन्दा केही आपत्ति छैन। तर त्यो अक्टोवर रिभ्युलुसनको सर्वहारा अधिनायकवादको अवधारणाको कम्युनिष्ट हामीलाई पाच्य छैन ।

तर म के देखिरहेछु भने हाम्रा नेपालका जति मित्रहरु हुनुहुन्छ जो आफुलाई कम्युनिष्ट भन्नुहुन्छ । उहाँहरुको प्रशिक्षण चाहिँ सर्वहारा अधिनायकवादको भयो तर उहाँहरुले टेक्दै जानु परेको छ लोकतन्त्रमा ! त्यसकारण यो द्वन्द अन्तरद्वन्द मैले के देखिरहेको छु भने प्रशिक्षण र संस्कार चाहिँ कम्युनिष्टको बनेको छ तर प्रवेश गर्नुपरेको छ प्रजातान्त्रिक व्यवस्था भित्र । लोकतान्त्रिक पद्धतिभित्र जानु परेको छ । अहिलेका कम्युनिष्ट कम्युनिष्ट हुन् कि होइनन् मलाई थाहा छैन तर यो संविधानले सबैलाई लोकतन्त्रवादी बनाएको छ । अहिले लोकतन्त्रको विजयको युग    हो । यो संविधान मान्नेहरु सबै लोकतन्त्रवादी हुन् । तर अब संस्कार र व्यवहारले भएका छ कि छैनन्, उनीहरुको धेय र लक्ष्यले भएका छन् कि छैनन् त्यो आशंका लोकतन्त्रवादीमा छ ।

तर अहिले त बाम गठबन्धन नै बनिसकेको छ नि ? 

यो सत्ताको गठबन्धन हो । यसले लोकतन्त्रलाई मद्धत नै गर्न सक्छ । हामीहरु के चाहन्छौं भने यही संविधान र लोकतन्त्रभित्र आउनुहोस् । हामीले नै ल्याएको हो, उहाँहरु लोकतान्त्रिक व्यवस्थामा आउनुभएको हो । हामी त सधैंका लोकतन्त्रवादी हौं ।

तर यो सन्देश मैले बामपन्थीलाई मात्र दिइरहेको छैन । हामी लोकतन्त्रवादी भन्नेहरु पनि कति लोकतन्त्रवादी भएका छांै त । संस्कृतिको निर्माण दुई ठाउँमा गर्नुपरेको छ । एउटा सर्वहारा अधिनायकवादको संस्कार, सोचबिचार र प्रशिक्षणबाट आएका ती कम्युनिष्टहरुलाई लोकतन्त्रको एउटा संस्कृतिमा ढाल्नु परेको छ । अनि हामी लोकतन्त्रवादीहरु पनि कति लोकतन्त्रवादी भएका छौं । त्यो प्रश्न गरेर परीक्षा गरेर हामी पनि आन्तरिक रुपमा पनि आदर्श लोकतन्त्रवादी भएर अनि मात्र उनीहरुलाई हामी लोकतन्त्रको प्रशिक्षण शिक्षा दिन सक्छौं । हामी आफैं आदर्श लोकतन्त्रवादी भएनौं भने हाम्रो अपील पनि उनीहरुलाई लाग्दैन । हाम्रो दोहोरो दायित्व छ ।

अब मतदातासँग भेटघाटमा जाँदै हुनुहुन्छ, खासगरी  युवा मतदातालाई के सन्देश छ ?

यो लोकतन्त्र लामो संर्घष गरेर आएको हो, त्याग तपस्या भएको मुलुक भएको हुनाले १९९३ साल, १९९७ साल देखिकै कुरा भनौं पुस्ता पुस्ता यो प्रजातन्त्र या लोकतन्त्र भनेर यो अधिकारको लडार्इँमा सरिक भएको छ । त्यसले गर्दा चुनावको एउटा आकर्षण ठूलो छ । एउटा उत्सवको रुपमा पनि आकर्षण छ तर सँगसँगै अर्को के छ भने उसको भविष्यसँग जोड्ने एउटा अपेक्षाको पनि आकर्षण छ । एउटा उत्सवको पक्ष पनि छ र अर्को अपेक्षाको पक्ष पनि छ । हामीले उत्सवलाई पनि अस्वभाविक भन्न हुँदैन । निर्वाचनले एउटा महोत्सवको माहोल बनाउँछ । तर हामीले यसलाई युवा र सबै जनताको अपेक्षामा नै परिणत गर्नुपर्छ । आम जनताको अपेक्षासँगै जोड्नुपर्छ । किनभने हामीले प्रजातन्त्र भन्दाभन्दै यो अधिकारको लडाईमा यो यो वचन गरेका थियौं  । यो यस निम्ति गर्न सक्यौं गर्न सकेनाैं। यस निम्ति गर्छौ भनेर जनतासँग ईमान्दारीपूर्वक भन्नु पर्छ । जे गर्न सकिन्छ पूरा ईमान्दारीपूर्वक जनतालाई भन्नुपर्छ,झुटो आश्वासन बाँड्नु हुँदैन ।

म युवा मतदातासँग हाम्रो अवस्था जे छ त्यही नै भन्ने छु । उनीहरुलाई देश र हाम्रो राजनीतिक प्रणालीप्रति भरोसा गर्न आश्वस्त पार्नेछु । किनभने युवा मै छ देशको भविष्य । सबै दल,नेता र उम्मेद्वारले यही नै गर्नुपर्छ । हामीले आफूले आफैंलाई अडिट गर्नुपर्यो । अब हामी के वाचा गर्छौं र किन त्यो पूरा गर्छौ भन्ने विश्वास दिलाउँछौं त्यो हामीले जान्नुपर्यो । 


 


 
 

ताजा खबर