आउने भयो सुपर दोर्दी ‘ख’को बिजुली

२०७७ श्रावण २१ बुधबार १०:३३:०० मा प्रकाशित

लमजुङ। लमजुङको दोर्दी खोलामा निर्माणधीन सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षभित्रै बिजुुली आउने भएको छ ।
सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ लमजुङमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ५४ मेगावाटको आयोजनाले २०७८ असारमा निर्माण सकेर विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्य अघि बढाएको छ । हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार आयोजनाको ७० प्रतिशत निर्माण कार्य सकिएको छ ।  

उहाँले इलेक्ट्रोमेकानिकलतर्फ ६५ प्रतिशत काम सकिएको छ । इन्टेक, हेडबक्स, टनेल, पावर हाउसको निर्माण कार्य भइरहेको बताउनुभयो । कोरोना भाइरस
(कोभिड–१९) सङ्क्रमणका कारण लकडाउन भएपछि चार महिना आयोजनाको काम प्रभावित भएको थियो । सामान ढुवानीमा समस्या भएको थियो । अहिले केही सामान ल्याएर काम थालिएको बताउनुभयो ।

उहाँले अहिले केही सहज छ तर पनि ठूला–ठूला सामान ल्याउन सकिएको छैन । केही मात्रामा काम भएको छ । घर गएका कामदार पनि आएका छन् भन्नुभयो । उहाँका अनुसार चैतबाट नदी क्षेत्रको काम गर्नुपर्ने थियो । सामान नभएपछि काम गर्न नसकिएको र नदीलाई फर्काउन पनि नसकिएकाले केही समय काम रोकिएको हो ।

उहाँले अहिले बर्खाका कारण खोला बढेकाले डाइभर्सन गर्ने काम मङ्सिरमा मात्र हुने जस्तो छ । त्यसैले निर्माण अवधि आठ÷नौ महिना लम्बिने जस्तो देखिएको छ भन्नुुभयो । आयोजना निर्माणमा हाल ३५० कामदार खटिएका छन् । लमजुङ बाहिर घर भएका कामदार लकडाउनको समय घर फर्किएका थिए । अहिले पुनः काममा फर्किएका छन् ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठका अनुसार आयोजनाको २०७५ सालभित्रै व्यावसायिक उत्पादन मिति (आरसीओडी) रहेको थियो । भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीले काममा ढिलाइ भएको भएको हो । २०७७ को असार महिनामा सकिने अनुमान गरिएकोमा नेपाल विद्युत् प्राधिकरणको उदिपुर–भरतपुर २२० केभीको प्रसारण लाइन र उदिपुरमा सबस्टेसन निर्माण नहुँदा निर्माण कार्य लम्बिँदै आएको र लकडाउनले गर्दा झनै समय लम्बिएको बताउनुभयो । गत वर्ष साउन ८ गतेको भीषण बाढीपहिरोले आयोजनाको संरचनामा क्षति पु¥याएको थियो ।

मूल सुरुङ पाँच किलोमिटर रहने आयोजना आठ अर्ब रुपियाँभन्दा बढी लागतमा निर्माण हुन लागेको हो । आयोजनाको निर्माण अवधि लम्बिँदा करिब ५० करोड रुपियाँ बढ्ने अनुमान गरिएको छ । आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले ७० प्रतिशत लगानी गरिरहेको छ । आयोजना शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजना प्रमुख अर्जुन गौतमले बत(ाउनुभयो । दोर्दी गाउँपालिका–७, ढोडेनी र ७ फलेनीबीच बग्ने दोर्दी खोलामा निर्माणाधीन उक्त आयोजना २०७१ फागुन २० गते नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा चार रुपियाँ ८० पैसा र बर्खायाममा आठ रुपियाँ ४० पैसामा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो ।  
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर