काठमाडौं उपत्यकामा लाइसेन्स वितरण स्थगित

२०७७ श्रावण २१ बुधबार ०९:४४:०० मा प्रकाशित

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण कार्य रोकेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा वृद्धि हुँदै गर्दा सेवाग्राहीको अत्यधिक भीडका कारण हाललाई सेवा स्थगित गरिएको कार्यालयहरूले जनाएका छन् ।

चावहिलस्थित कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले अत्यधिक भीडका कारण हाललाई वितरण स्थगित गरिएको र केही दिन स्थगित गरेर व्यवस्थित गर्ने योजना भएको जानकारी दिए । ‘भीड अत्यधिक बढ्यो, हामीले सामाजिक दुरी कायम गरिदिनुस् भन्दा पनि मान्नुभएन त्यसैले केही दिन स्थगित गरेर अलिक व्यवस्थित गरौं भन्नेमा छौं,’ उनले राजधानीसँग भने ।
कार्यालय प्रमुख भट्टराईका अनुसार जोर बिजोर प्रणाली गर्ने, २ बजेपछि पनि वितरण गर्नेलगायतका विषयमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।

कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो बढ्दा संक्रमण फैलने जोखिम बढेर गएको छ । कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ । लकडाउनपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयहरूले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउन कार्यालयहरूले अनुरोध गरेका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर