दुई चिकित्सक र तीन सैनिक सहित पर्सामा ३४ कोरोना संक्रमित

२०७७ श्रावण २० मंगलबार ११:४२:०० मा प्रकाशित

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणमा सोमबार राति आएको रिर्पोटमा दुई चिकित्सक, तीन नेपाली सेना सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका ३४ जना संक्रमितमध्ये चार जना महिला छन् । नयाँ संक्रमितमा दुई जना बाराका, एक जना सर्लाहीका र एक जना सुर्खेत घर भई नेशनलमेडिकल कलेजमा कार्यरत २८ वर्षिय महिला डाक्टर रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

वीरगञ्जको गण्डकस्थित कोरोना विशेष नारायणी अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले सोमबार संक्रमण पुष्टि हुनेमा, चिकित्सक,सैनिक,पत्रकार र थुनुवा रहेको जानकारी दिएका छन् । सोमबार पुष्टि भएका नयाँ संक्रमितहरु १४ वर्ष देखि ५६ वर्ष उमेर समुहका रहेका छन् । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २७ जना, वीरगञ्ज बसोवास गर्दै आएका पोखरिया नगरपालिकाका तीन जना , जिराभवानी गाँऊपालिका सेढ्वाका एक जना, सर्लाही र सुर्खेत स्थायी घर भएका १र१ जना गरी पर्सामा ३२ जना र बारा कलैया र फेटाका १र१ जना गरी थप ३४ जनामा संक्रमण देखिएको हो ।

सोमबार संक्रमण पुष्टि भएका चिकित्सकहरुका सुर्खेत स्थायी घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बस्दै आएका २८ वर्षिय महिला र नारायणी वयोधा अस्पतालका कार्यरत वीरगञ्ज ११ रानिघाटका ३४ वर्षिय पुरुष छन् । कन्ट्याक्ट ट्रेसिङको क्रममा पिसिआर परिक्षण गराएका नौ जनामा कोरोना संक्रमण देखिएको हो भने स्वेच्छाले पैसा तिरेर स्वाब परीक्षण गराएका ९ जनामा समेत कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका वीरगञ्जको घण्टाघरछेऊमा रहेको चण्डीप्रसाद गणका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका जवानहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । गोरखापत्र दैनिकका अनुसार, सोमबार पुष्टि भएका संक्रमितहरुमा वीरगञ्जका एक पत्रकार र वडा प्रहरी कार्यालय विर्तामा रहेका २० वर्षिय एक थुनुवामा पनि संक्रमण देखिएको हो ।
 

ताजा खबर