आम्दानीको भरपर्दो स्रोत बन्दै किवी

२०७७ श्रावण २० मंगलबार १०:२२:०० मा प्रकाशित

इलाम । आम्दानीको भरपर्दो स्रोत हुन थालेपछि पूूर्वी पहाडका किसान किवी खेतीमा रमाउन थालेका छन् ।

पहिलो उत्पादनको ‘रेड’ किवी फल टिप्ने सिजन हुनै लाग्दा इलाम सुलुबुङका किसान अहिले किवीको संरक्षणमा जुटेका छन् । भदौ महिनामै टिप्नयोग्य हुने रेड किवीको बजार पनि राम्रो भएको सन्दकपुर गाउँपालिका–३, तालगाउँका किसान तारामणि खतिवडाले बताउनुभयो ।

पहिलो सिजनको फल भएकाले चराचुरुङ्गी र कालो जिवले खाने हुँदा अहिले किवी रुग्नैपर्ने अवस्था छ, खतिवडाले भन्नुभयो, “यो किवी दुई महिना मात्रै टिक्ने हुँदा बजार पु¥याउन पनि त्यत्तिकै हतार हुन्छ । ” खतिवडाले यो वर्ष १५० किलो रेड किवी हुने अनुमान गर्नुभएको छ ।

एक बोटले ८० किलोसम्म उत्पादन दिने यो किवी सुलुबुङका भोला खतिवडाले ३० बोट लगाउनुभएको छ तर फल राम्रै लागेकाले आम्दानी पनि राम्रो हुने खतिवडाले सपना बुन्नुभएको छ । घरआँगनबाटै तीन सय रुपियाँ प्रतिकिलोसम्म बिक्री हुने हुँदा पछिल्लो समय किवी भरपर्दो स्रोत भएको खतिवडाको भनाइ छ ।

अर्का स्थानीय खडानन्द खतिवडाले पनि ५० बोट रेड किवी लगाउनुभएको छ । ढिलो पाक्ने अरू जातको किवी त धेरै छ, यो रेड किवी चाहिँ थोरै बिरुवा भए पनि उत्पादन र मूल्य राम्रो हुन्छ, खतिवडाले भन्नुभयो । एक हजारदेखि एक हजार आठ सय मिटरसम्म खेती गर्न सकिने रेड किवीप्रति पछिल्लो समय यहाँका किसान आकर्षित हुन थालेको सुलुबुङस्थित हेस्टी किवी प्रालिका सञ्चालकसमेत रहनुभएका तारामणि खतिवडा बताउनुहुन्छ ।

खतिवडाका अनुसार यो वर्ष जिल्लामा १० हजार किलो रेड किवी उत्पादन हुने अनुमान रहेको छ । इलाममा करिब दुुई हजार ५०० भन्दा बढी किसानले किवी खेती गरिरहेको बताइएको छ । जिल्लाका साँखेजुङ, लुम्दे, मङ्गलबारेलगायत क्षेत्रमा रेड किवी विस्तार गरिएको छ ।

यता किवी खेतीमा किसानको आकर्षण बढेपछि सरकारले पनि ‘किवी जोन’ कार्यक्रम नै सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किवी जोनको कार्यक्रम सुरु भएको हो । १० वर्षे परियोजनामा इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडालाई किवी जोन घोषणा गरी कार्यक्रम चालू छ । किवीको प्राविधिक सीप, दक्षता, किवीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा परियोजनाका लागि आएको रकम खर्च भइरहेको परियोजनाले जनाएको छ । परियोजनाले किवीलाई औद्योगिकीकरण गर्दै प्रोसेसिङ, मार्केटिङ र व्यावसायिकीकरणमा किसानलाई सहयोग गर्ने बताइएको छ ।

जिल्लाका सुलुबुङ, माईमझुवा, साँखेजुङ, मङ्गलबारे, पञ्चकन्यालगायत क्षेत्रका किसानले किवी खेतीभित्र अलैँची, तरकारी र जडीबुटीजस्ता खेती गर्दै आएका छन् । झापाका साथै धरान, विराटनगर, काठमाडौँ, पोखरालगायतका ठूला सहरमा इलामको किवी जाने गरेको छ ।  
(गोरखापत्र दैनिकबाट)

ताजा खबर