निको भएका २५ संक्रमित प्लाज्मा दिन इच्छुक

२०७७ श्रावण २० मंगलबार ०९:५८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै कोरोना निको भएका २५ जना व्यक्ति प्लाज्मा दिएर जीवनदान गर्न तयार देखिएका छन् ।

कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेका बिरामी र प्लाज्मा दिने व्यक्तिको इच्छाअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार प्रक्रिया सुरु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना कोरोना संक्रमितको उपचार गरिएको थियो ।

परिषद्ले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि १२ वटा अस्पतालसँग मिलेर अनुसन्धान सुरु गरेको छ । परिद्षका सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार नौवटा सरकारी अस्पताल र तीन निजी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारको तयारी गरिएको छ ।

दातामा हुनुपर्ने मापदण्ड
–आरटी–पिसिआर पद्धतिबाट कोभिड–१९ भएको पुष्टि हुनुपर्ने
–रक्तदान गर्नुपूर्व कम्तीमा १४ दिनअगाडि कोभिड–१९सम्बन्धी लक्षण देखा नपरेको
–रक्तदान गर्दा नेपाल रेडक्रसले तोकेको मापदण्ड पूरा गर्नुपर्ने

प्लाज्मा प्राप्त गर्ने व्यक्तिमा हुनुपर्ने मापदण्ड
– १८ वर्ष पूरा भएको हुनुपर्ने
– आरटी–पिसिआर टेस्टबाट कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको हुनुपर्ने
– अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने
– बिरामीको अवस्था गम्भीर भएको हुनुपर्ने वा ज्यान जोखिममा रहेको हुनुपर्ने
– बिरामी गम्भीर अवस्थामा जान सक्ने भएको पुष्टि चिकित्सकले गरेको हुनुपर्ने

निजी अस्पतालतर्फ नेपाल मेडिसिटी अस्पताल, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । यस्तै, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी अस्पताल, नारायणी अस्पताल, भक्तपुर अस्पताल, भेरी अस्पताल र सेती अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु हुन लागेको हो । यी अस्पतालमा बिरामीको चाप र संक्रमितको आवश्यकताअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार हुने डा. ज्ञावलीले बताए ।

डा. ज्ञवालीका अनुसार प्लाज्मा दिने व्यक्तिको पिसिआर विधिबाट कोरोना निको भएको पुष्टि हुनुपर्ने, रक्तदान गर्नुअघि कम्तीमा १४ दिनअघि कोरोनाको लक्षण देखा नपरेको हुनुपर्ने र निको भएका संक्रमितले रक्तदान गर्दा नेपाल रेडक्रस सोसाइटीले बनाएको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

यस्तै, प्लाज्मा थेरापीबाट उपचार पाउने व्यक्ति १८ वर्ष पूरा भएको, पिसिआर विधिबाट कोरोना संक्रमित भनेर पुष्टि भएको,अस्पतालमा भर्ना भई उपचार गराएका, स्वास्थ्य अवस्था गम्भीर भएको र चिकित्सकले गम्भीर अवस्था छ भनेर पुष्टि गरेको हुनुपर्नेछ ।

कन्भ्यालेसन प्लाज्मा थेरापी एक किसिमको सम्भाव्य अवलोकन क्लिनिकल अध्ययन हो । नोबेल कोरोना भाइरसको एन्टिबडी भएको कन्भ्यालेसन प्लाज्मा कोभिड– १९ को गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अविलम्ब विकल्पका रूपमा रहेको छ ।

उमेर, लिंग, अस्पतालमा भर्ना र डिस्चार्ज भएको मिति, गर्भवती भए नभएको र रगतको समूह दातालाई जानकारी गराउनुपर्ने हुन्छ । चिकित्सकका अनुसार प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पु¥याउने काम गर्छ । रगतमै पाइने एन्टिबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।

उपत्यका थप जोखिममा, संक्रमित ६६५ पुगे
सोमबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४ सय ९३, ललितपुरमा १ सय ८ र भक्तपुरमा ६४ पुगेको छ । यससँगै कुल संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।

यसैबिच, देशभर रहेका क्वारेन्टिनमा बस्नेको संख्या घट्दै गएको पाइएको छ । दुई महिनाको अवधिमा १ लाख २३ हजार ५ सय २३ जना बाहिरिएका छन् । गत २३ जेठमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टिनमा रहेकामा यो संख्या घटेर १० हजार ४ सय ५२ मा झरेको छ ।

अहिले दैनिक ५ सय बढीले क्वारेन्टिन छोड्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्गबाट आएका व्यक्तिलाई स्वाब संकलन नगर्दासम्म क्वारेन्टिनमै राख्न भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘स्वाब संकलन नगर्दासम्म स्थलमार्गबाट आएका सबै क्वारेन्टिनमा बस्नै पर्छ । भौतिक दुरी पूर्णतः कार्यान्वयन गर्नुपर्ने हुन्छ ।’

पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर