कोरोना मुक्त मुस्ताङमा यार्तुङ रौनक (फोटो फिचर)

२०७७ श्रावण २० मंगलबार ०९:३३:०० मा प्रकाशित

जोमसोम : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ कागबेनीमा परम्परागत यार्तुङ महोत्सव २०७७ सुरु भएको छ । हरेक वर्ष प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा लाग्दै आएको ब्रान्ड यार्तुङ महोत्सव यसपटक कोरोना कहरका कारण स्थगित भएको थियो ।

यससँगै कागबेनीले यार्तुङ महोत्सव सञ्चालन गर्ने अवसर पाएको हो । बर्खायामको मौसमलाई बिदाइ गर्दै हिउँदयामको मौसमलाई स्वागत गर्न हिमाली क्षेत्रका बासिन्दाले यसप्रकारको यार्तुङ पर्व मनाउने चलन छ । बर्खायामको मौसममा खेतीपातीको काम सकेर अन्नवाली थन्क्याएपछि हिउँदको सुरुआतसँगै फुर्सदिलो महिनामा स्थानीयले यार्तुङ मनाउने गर्छन् ।

 

यार्तुङ पर्वको मुख्य दिन जनैपूर्णिमाको तिथिमा पर्छ । धार्मिक तथा सांस्कृतिक र सामाजिक सभ्यताको प्रर्वद्धन गर्दै आपसमा मिठो खाने, राम्रो लगाउने र आफन्त, साथीभाइ भेटघाट गरी रमाइलो गरिन्छ ।

कागबेनी गाउँ मुखिया आङजिङ गुरुङका अनुसार मौलिक कलासंस्कृति र वेषभुषाको संरक्षण तथा संम्वद्धन गर्न कोरोना महामारीका बावजुद यसपटक कागबेनीले यार्तुङ महोत्सव सञ्चालन गरेको हो । उनका अनुसार स्थानीय प्रशासन र सुरक्षा निकायसँग पूर्व स्वीकृति लिइ सम्भावित कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाइनेछ ।

कागबेनीमा गत शनिबार पहिलो पटक यार्तुङ महोत्सव सञ्चालन भएको हो । कागबेनी यार्तुङ व्यवस्थापन समितिले आयोजना गरेको महोत्सव सञ्चालनका लागि स्थानीयबासीबाट आर्थिक सहयोग जुटाइएको समितिका संयोजक अर्का आङजिङ गुरुङले बताए ।

महोत्सवको सोमबार अन्तिम दिन कागछोदे गुम्बामा स्थानीय मौलिक कला संस्कृतिका विभिन्न कार्यक्रम भएको छ । गाउँका अग्रज महिला तथा पुरुषहरुको समुहले वारागुङ मुक्तिक्षेत्रको मौलिक भाषाको लु गीत गाउँदै गुम्बा परिक्रमा गरे ।

महोत्सवको क्रममा स्थानीयले परम्परागत स्याब्रो नाच देखाए भने कतिपयले लु गीत गाउँदै नाचे । केहीले स्टेजमा ढोलु गीत गाए । कोरोना महामारीका बावजुद वारागुङ मुक्तिक्षेत्र लगायत आसपासका स्थानीय दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।

वारागुङ मुक्तिक्षेत्र कागबेनीको यार्तुङ महोत्सव व्यवस्थापन समितिले महोत्सवका अवसरमा विभिन्न प्रतियोगिता पनि आयोजना गरेको छ । यार्तुङको मुख्य आर्कषणका रुपमा लिइएको घोडा दौड प्रतियोगिता आइतबार सम्पन्न भयो ।


(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर