‘इरानमा सरकारी दाबीभन्दा तीन गुना बढीको मृत्यु’

२०७७ श्रावण २० मंगलबार ०९:१८:०० मा प्रकाशित

बिबिसी पर्सियन सेवाले इरानमा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या सरकारी दाबीभन्दा तीन गुणा बढी भएको जनाएको छ। सरकारी तथ्यांकले २० जुलाईसम्म ४२ हजारको मृत्यु भएको देखाएको छ।  

कुल संक्रमितको संख्या पनि सरकारी दाबीभन्दा  दोब्बर रहेको बिबिसीको खोजले देखाएको छ। सरकारी तथ्यांकअनुसार कुल २ लाख ७८ हजारमा भाइरस संक्रमण रहेको छ। महामारी सुरु भएपछि सरकारी तबरबाट सार्वजनिक तथ्यांकमा स्वतन्त्र पर्यवेक्षकले आशंका व्यक्त गर्दै आएका थिए।  

बिबिसीलाई एक अज्ञात स्रोतले दिएको तथ्यांकमा इरानका अस्पतालमा भर्ना भएका मानिसको नाम, लिंग, उमेर, लक्षण, अस्पतालमा बसेको अवधि र बिरामीको हालको अवस्थालगायतको सूचना समावेश छ। यो सूचीमा समावेश भएका मृत र जीवित मानिसको तथ्यांक बिबिसीसँग भएको जानकारीसँग मिल्दोजुल्दो भएको बताइएको छ। तथ्यांक उपलब्ध गराउने उक्त स्रोतले महामारीको ‘सत्य उजागर’ गर्ने र  ‘राजनीतिक खेल’ बन्द गर्ने उद्देश्यले यी तथ्यांक बिबिसीलाई उपलब्ध गराएको बताएको छ। यो विषयमा जानकारी भएका डाक्टरहरुले इरानको स्वास्थ्य मन्त्रालयलाई  सुरक्षा तथा खुफिया एजेन्सीले दबाब दिने गरेको बताएका छन्। इरानका पूर्वसांसद एवं स्वास्थ्य मन्त्रालयका पूर्वअधिकारी डा. नाउरोल्डिन पिरमोआजेनले सत्य उजागर गर्न इरानी सरकार डराएको बिबिसीलाई बताएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले भने विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराएको तथ्यांक सही भएको दाबी गरेको छ।
(नागरिक न्युजबाट)

ताजा खबर