ओमानबाट नेपाली श्रमिकलाई सरकारी खर्चमा ल्याइँदै

२०७७ श्रावण १९ सोमबार ०९:५२:०० मा प्रकाशित

काठममाडौँ। ओमानमा रहेको नेपाली दूतावासले नेपाल सरकारको कार्यविधिअनुसार प्राथमिकतामा परेका नागरिकलाई सरकारी खर्चमा पठाउने तयारी गरेको छ । दूतावासले विज्ञप्तिमार्फत ओमानमा समस्यामा परी पैसा नभएकै कारण स्वदेश फर्किन नपाएका नेपाली श्रमिकलाई कारणसहित दूतावाससमक्ष निवेदन दिन आग्रह गरेको छ ।

दूतावासका अनुसार टिकट काट्ने पैसा नभएर स्वदेश फर्किन नसकेका श्रमिकलाई दूतावासको हटलाइन वा इमेलमार्फत आवेदन दर्ता गराउनुपर्ने छ । कोरोनाका कारण बेरोजगार भएका तथा कम्पनीले कुनै पनि सहयोग गर्न नसक्ने अवस्थामा भएका र आफैँ टिकट किनेर घर फर्कन नसक्ने नेपाली श्रमिकले दूतावासको ढाँचाअनुसार आवेदन भरेर बुझाउन अनुरोध गरिएको छ ।

सरकारले विदेशमा अलपत्र परेका, रोजगारदाताले सहयोग नगरेका, आफैँ टिकट काटेर फर्कन नसक्ने नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धार गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि सरकारले छुट्टै निर्देशिकासमेत तयार गरेर दूतावासमा पठाइसकेको छ । निर्देशिकाको मापदण्डमा पर्ने श्रमिकलाई अब दूतावासको समन्वयमा निःशुल्क उद्धार हुनेछ ।

यस्तै ओमानमा समस्यामा रहेर घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि साउन ३० वा अगस्ट १४ मा चौथो उडान हुने जनाइएको छ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि प्राथमिकतामा परेका १८० जना नेपालीको नाम दूतावासले सार्वजनिक गरेको छ । यो उडान पनि ओमानबाट सलाम एयरले भर्नेछ ।

ओमानमा रहेको नेपाली दूतावासको समन्वयमा सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा सलाम एयरले यसअघि तीन उडानमार्फत नेपाली ल्याइसकेको छ । प्राथमिकतामा परेकाले आफूलाई पायक पर्ने ठाउँमा कोरोनाको पीसीआर परीक्षण गरेर टिकट काट्नसमेत दूतावासले आग्रह गरेको छ ।  
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर