काँग्रेसमा क्रियाशील सदस्यताको चटारो

२०७७ श्रावण १९ सोमबार ०९:४६:०० मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो । यस अधिवेशनको क्रममा थप साढे दुई लाख नयाँ क्रियाशील सदस्य बनाउने काँग्रेसको योजना छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समायोजन सकिएका जिल्लामा पार्टीको क्रियाशील सदस्यताको फाराम वितरण गर्ने कार्य वडा तहमा धमाधम भइरहेको जानकारी दिनुभयो । कोरोना भाइरसको उच्च जोखिम रहेका स्थानमा सदस्यता फाराम वितरणमा समस्या भए पनि अन्य स्थानमा क्रियाशील सदस्यता वितरणको कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले भन्नुुभयो, जहाँ समस्या छ, त्यहाँ अवस्था सहज भएपछि वितरण हुन्छ ।

नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुुसार १३औँ महाधिवेशनमा कायम चार लाख ७० हजार र विदेशस्थित जनसम्पर्क समितिबाट २० हजार क्रियाशील सदस्य छन् । त्यसैगरी काँग्रेसमा प्रवेश गरेपछि नेता विजयकुमार गच्छदारको पार्टीका २५ हजारलाई क्रियाशील सदस्यता दिने सहमति पार्टीमा भइसकेको छ । यसरी हाल कायम रहेको क्रियाशील सदस्यको सङ्ख्या करिब पाँच लाख १५ हजार हुन्छ ।

काँग्रेसले २०७६ फागुन १३ मा जिल्ला सभापतिहरूलाई पठाएको क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी परिपत्रमा १३औँ महाधिवेशनमा कायम कुल क्रियाशील सदस्यको ५० प्रतिशतसम्म थप्न सकिने उल्लेख छ । यसरी ५० प्रतिशत थप्ने हो भने काँग्रेसका नयाँ क्रियाशील सदस्य करिब दुई लाख ५७ हजार थपिने छन् ।

त्यसैगरी हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका सुनीलबहादुर थापालगायतका नेता तथा कार्यकर्ताको पनि उचित सम्मान हुने जानकारी मुख्यसचिव पौडेलले दिनुभयो । थापालाई काँग्रेसले सहमहामन्त्री पद दिएको छ । थापा जिल्ला जिल्लामा गएर पार्टी प्रवेश गराउने अभियानमा लाग्नु भएकाले क्रियाशील सदस्यको सङ्ख्या अझ बढ्ने छ ।

स्थानीय तहमा हाल कायम छ हजार ७४३ वडामा क्रियाशील सदस्यता वितरण गर्नुपर्र्ने हुन्छ । गाउँपालिकाका वडामा कम्तीमा ४२ जना क्रियाशील सदस्य बनाउनुपर्ने प्रावधान छ । त्यस्तै नगरको वडामा ४७, महानगरको वडामा ६० सदस्य कम्तीमा हुनुपर्ने छ । त्यो सङ्ख्या पुगेको छैन भने त्यहाँ ५० प्रतिशत थपको नियम लागू हुने छैन ।

प्रवक्ता शर्माका अनुसार पहिलो चरणमा १३औँ महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्यहरूका लागि मात्रै फाराम पठाएकाले उहाँहरूको मात्रै नवीकरण हुने छ । वडा कार्यसमितिले मनलाग्दी गर्लान् भनेर क्रियाशील सदस्यको भेला गराएर मात्रै फाराम वितरण गर्नुपर्ने व्यवस्था छ । कतिपय वडाका केही व्यक्तिले आफ्ना परिवार र निकटका व्यक्तिलाई मात्रै क्रियाशील सदस्यता वितरण गर्ने र आफैँ प्रतिनिधि भएर जाने गरेका घटना नदोहोरिऊन् भनी यसपटक त्यसमा कडाइ गरिएको छ ।

काठमाडौँका जिल्ला सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापाले सदस्यता विवरणको कार्य वडा तहमा भइरहेको जानकारी दिनुुभयो । उता हुम्लाका जिल्ला सभापति जयपति रोकायालाई क्रियाशील सदस्यता लिएर हुम्ला पुग्न भने महँगो परेको छ । उहाँलाई काठमाडौँबाट हुम्ला पुग्न २५ हजार रुपियाँ लागेको छ । उहाँसहितका काँग्रेसका १३ जनालाई विमान चार्टर्ड गरेर जान जनही २५ हजार रुपियाँ लागेको जानकारी उहाँले दिनुभयो ।

नयाँ सदस्यता पाउने तरिका
क्रियाशील सदस्यता नवीकरण गर्न सजिलो भए पनि नयाँ क्रियाशील सदस्यता प्राप्त गर्न त्यति सजिलो छैन । क्रियाशील सदस्यता प्रदान गर्ने कार्यविधिमा वडा कार्यसमितिले क्रियाशील सदस्यताको सिफारिस गरी गाउँपालिका÷नगरपालिका कार्यसमितिमा पठाउनुपर्नेछ । वडा कार्यसमितिको बैठक गरी सोही बैठकमा वडाभित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गरी क्रियाशील सदस्यता दिनुपर्ने छ । त्यसरी सदस्यता दिएका व्यक्तिको नाम कार्यसमितिको बैठकबाट निर्णय गरी राय साथ गाउँपालिका÷नगरपालिका कार्यसमितिमा पठाउनुपर्ने छ ।

त्यसैगरी वडा कार्यसमितिले योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरेमा गाउँपालिका÷नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिस गर्नुपर्छ । त्यसरी सिफारिस भई आएका व्यक्ति योग्य ठहर भएमा मात्रै कार्यसमितिलाई क्रियाशील सदस्यताको फाराम उपलब्ध गराइने छ ।

गाउँपालिका÷नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ । प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गर्नेछ । यही साउन मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्य बनाउने कार्य सक्नुपर्ने परिपत्र काँग्रेस केन्द्रीय कार्यालयले गरेको छ ।  
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर