प्रहरीमा कोरोना संक्रमण बढ्यो, ३ सय १३ ट्राफिक प्रहरी क्वारेन्टाइनमा

२०७७ श्रावण १९ सोमबार ०९:२१:०० मा प्रकाशित

महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) का प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहित ३ सय १३ जनालाई कार्यालयभित्रै क्वारेन्टाइनमा राखिएको छ ।
उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै सबै प्रहरीलाई बग्गीखानाभित्रै राखिएको हो । अहिले बग्गीखानालाई सिल गरिएको छ । उनीहरु करिब ५ दिनसम्म क्वारेन्टाइनमा रहनेछन् ।

पीसीआर परीक्षण गरेपछि नेगेटिभ देखिए मात्र नियमित डिउटीमा पठाउने तयारी महाशाखाले गरेको छ । प्रमुखसहित यति धेरै संख्यामा ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या आउने बताइएको छ ।

कोरोना देखिएका दुई जना प्रहरीलाई अस्पताल लगिएको छ भने बाँकी प्रहरी आफ्नै कार्यकक्ष र कोही ब्यारेकमा बसेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि एसएसपी ढकालसहित ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा रहेका प्रमुख ढकालसहितको उच्च अधिकारीले बग्गीखानाबाटै उपत्यको ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिइरहेका छन् । एसएसपी ढकालले बाहिर जान नमिले पनि कार्यालयबाट उपत्यकाका सबै मातहतका निकायलाई निर्देशन दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न जिम्मेवारी पाएका सबैले काम गरिरहेका छन् । महाशाखा महातहमा १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । ३ सय १३ जना क्वारेन्टाइनमा बसेपछि उपत्यकामा करिब १ हजार २ सय जना नियमित डिउटीमा खटिरहेका छन् ।’

एसएपसी ढकालले उपत्यकामा ट्राफिक प्रहरीको कमी हुन नदिन सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई खटाउन शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो समयमा सडकमा ट्राफिक प्रहरीको कुनै कमी हुन दिनेछैनौं, सचेत भएर सबै स्थानमा खटाउने छौं ।’

बग्गीखानाभित्रै कोराना संक्रमित भेटिएपछि महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरीलाई सावधानी अपनाउन निर्देशन दिएको छ । प्रवक्ता गौतमले भन्नुभयो– ‘नियमित चेकजाँच गर्दा करिब दुई मिटर टाढा बस्ने मापसे परीक्षण गर्दा टाढैबाट सोधखोज गर्ने अनिवार्य रुपमा पन्जा, फेस सेफ र मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न निर्देशन दिइसकेका छौं ।’

सबै ट्राफिकलाई आफ्नो नियमित डिउटीमा सचेत हुन निर्देशन दिइसकेको उहाँको भनाइ छ । ‘५ दिनभित्र पीसीआर परीक्षण गरेपछि बग्गीखानाको अवस्थाबारे जानकारी हुने बताउँदै महाशाखा प्रमुख एसएसपी ढकालले भन्नुभयो– ‘यो सामान्य अवस्था हो, आत्तिनुपर्ने आवश्यक छैन ।’

महाशाखाको उच्च अधिकृतले उपत्यकामा खटिएका ट्राफिक प्रहरीलाई हौसला दिन प्रत्येक युनिटका ट्राफिक प्रहरीलाई सेट वा मोबाइल फोनबाट पटकपटक टेलिफोन गरिरहेका छन् । एसएसपी ढकालले भन्नुभयो– ‘हामी क्वारेन्टाइनमा बसेपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा कुनै समस्या आउन दिएका छैनौं, चौबीसै घण्टा वृत्त र युनिटका ट्राफिक प्रहरीलाई सोधपुछ गरिरहेका छौं ।’

महाशाखाले मापसे परीक्षण र सवारी कारबाहीलाई निरन्तरता दिएको जनाएको छ । प्रवक्ता गौतमले शनिबार ९ जनालाई मापसेमा कारबाही गरिएको बताउँदै भन्नुभयो–‘टाढैबाट सोधेर वा स्वास्थ्य परीक्षण गरी मापसेको कारबाहीलाई तीव्र बनाएका छौं ।’

स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । कोरोना संक्रमित ट्राफिक प्रहरीको ट्राभल हिस्ट्री उनीहरु पुगेको स्थानको समेत ट्रेसिङ जारी रहेको जनाएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

सवारी चालकसँग नियमित सम्पर्कमा रहनुपर्ने ट्राफिकलाई कोरोना देखिएपछि उपत्यकामा संक्रमण ह्वात्तै बढ्ने लक्षण देखिएको छ । पछिल्लो समय जनतासँग प्रत्यक्ष रुपमा नजिक भएका नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई कोरोना संक्रमण हुन थालेको छ ।

यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । सभामुख अग्नि सापकोटाको स्कर्टिङमा खटिने सवारीका चालकलाई पनि कोरोना संक्रमण देखिएको छ । तथ्यांकअनुसार २ सय ७० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर