कोरोनाका कारण थलियो वीरगन्ज

२०७७ श्रावण १९ सोमबार ०९:१७:०० मा प्रकाशित

पर्सामा पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको छ । वीरगन्जमा कोरोना संक्रमणका कारण पछिल्ला दुई दिनमा पाँच जनाको मृत्यु भएको छ ।
बिहीबार वीरगन्ज महानगरपालिका–१६ का ३५ वर्षीय युवक, वीरगन्जको जगदम्बा इन्टरप्राइजेजका सीईओ ५६ वर्षीय पुरुष र वीरगन्ज–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
बुधबार पनि वीरगन्जमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । साउनमा मात्रै वीरगन्जमा १० जना संक्रमितको मृत्यु भइसकेको छ । बिहीबार पर्साका ४१ जनामा संक्रमण भेटिएकोमा ३७ जना वीरगन्जकै स्थानीय भएको बताइएको छ । बुधबार पनि ८४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

कोभिड अस्पतालमा अहिले भर्ना रहेका ६२ मध्ये ४ संक्रमितको अवस्था गम्भीर रहेकाले आईसीयूमा उपचारमा भइरहेको अस्पतालले जनाएको छ ।
यही असार अन्तिममा संक्रमित निको हँुदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी रहेका थिए । तर साउन सुरु भएलगत्तै पर्सामा संक्रमितको संख्या थपिँदै गएको छ ।

दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगन्जमा साउन १० देखि अनिश्चित्कालीन निषेधाज्ञा लगाइएको छ र सोमबारबाट जिल्लाभर निषेधाज्ञा जारी गर्ने स्थानीय प्रशासनले जानकारी गराइसकेको छ ।

मास टेस्टिङमा संकलन गरिएका स्वाबमा २० प्रतिशतभन्दा बढीको पोजेटिभ रिपोर्ट आइरहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा. मदन उपाध्यायले बताउनुभयो । कोभिड अस्पतालमा संक्रमित राख्ने ठाउँ नहुँदा १ सय २६ जना संक्रमितलाई घरमै राखिएको छ ।

५० बेड मात्रको कोभिड अस्पतालमा बेड खाली नहँुदा पछिल्लोपटक संक्रमण फेला परिरहेकालाई घरमै होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता रहेको अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथामको काममा जान नमान्ने वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएपछि कार्य क्षेत्रमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
काठमाडौंको मेडिसिटी अस्पतालमा पीसीआर परीक्षणका लागि गत बुधबार स्वाब दिएका वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीमा बिहीबार संक्रमण पुष्टि भएको छ । संक्रमण पुुष्टि भएका मेयर सराबगी हाल काठमाडौं टंगालस्थित आफ्नै घरको आइसोलेसनमा रहनुभएको छ ।

सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाका अनुसार मेयर सराबगीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । यसरी नै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव पनि कोरोना संक्रमित हुनुभएको छ । सो कुरा उहाँ आफैंले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।

उच्चस्तरीय स्वास्थ्य टोली वीरगन्ज पठाइयो
कोरोना संक्रमणको इपिसेन्टरका रुपमा विकसित हुँदै गएको वीरगन्जमा सरकारले उच्चस्तरीय टोली पठाएको छ ।
केही दिनदेखि कोरोना संक्रमण समुदायमा देखिएपछि अहिले त्यहाँको अवस्था भयावह बन्दै गएको छ । केही हप्ताको बीचमा वीरगन्जमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पनि बढ्दो अवस्थामा रहेको छ ।

सरकारले वीरगन्जको अवस्था भयावह भएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय स्वास्थ्य टोली त्यसतर्फ पठाएको हो ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उच्चस्तरीय टोलीले कोरोना संक्रमण नियन्त्रण लिन अवलम्बन गर्नुपर्ने उपायका बारेमा जानकारी गराउनुका साथै स्रोत र साधनको बारेमा समेत जानकारी गराउने भएको छ ।

सरकारले सो क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा लिन जस्तोसुकै कठोर कदम उठाउन परे पनि पछाडि नहट्ने बताएको छ । समुदायमा कोरोना संक्रमण फैलिएपछि अहिले त्यहाँ लकडाउन शुरु गरिएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर