आज रक्षाबन्धन, रक्षासूत्र र जनै लगाइँदै

२०७७ श्रावण १९ सोमबार ०८:५०:०० मा प्रकाशित

हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ। रक्षाबन्धन धागोले धन, शक्ति, हर्ष र विजय प्राप्त गराउँछ भन्ने भन्ने धार्मिक मान्यता रहेको छ।

देवदानव युद्धमा दानवहरूबाट पराजित हुन लागेका स्वर्गका राजा इन्द्रसहित देवताहरूले आफ्ना गुरु बृहस्पतिलाई पुकारेका र देवगुरु वृहस्पतिले यसै दिन रेशम धागाको डोरी (रक्षाबन्धन) हातमा बाँधिदिएको पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन थालिएको पण्डित बलराम सिग्देल बताउँछन्। सो रक्षाबन्धन गुरु वृहस्पतिले इन्द्रसहित देवताहरूलाई बाँधिदिएका र देवताहरूले लडाइँमा विजय प्राप्त गरेको उल्लेख छ। तसर्थ ‘येन बद्धो बली राजा...’ भनेर मन्त्रोच्चारण गर्दै रक्षाबन्धन बाँधिन्छ।

यस पर्वलाई ऋषितर्पणी एवं जनै (यज्ञोपवित) पूर्णिमा पनि भनिन्छ। यस दिन तागाधारीहरूले वर्षभरिका लागि जनै (यज्ञोपवीत) मन्त्रिने र जनै फेर्ने भएकाले जनै पूर्णिमा भनिएको हो। साथै, यस दिन कात्यायनआदि आफ्ना शाखासूत्रका ऋषिहरूलाई खुसी पार्नका लागि कुशनिर्मित ऋषिहरूको तर्पण गरिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पूर्णिमा पनि भनिन्छ। श्रावण कृष्ण चतुर्दशीका दिन एकछाकी व्रत बस्ने र पूर्णिमाका दिन बिहानै श्रावणी स्नान गर्ने र उपाकर्म गर्ने शास्त्रीय मान्यता रहेको छ।  

रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रिएर धारण गर्ने र पुरानो जनैलाई परित्याग गर्ने विधान रहेको पण्डित सिग्देल बताउँछन्। उपाकर्ममा दियो, कलश, गणेश पूजा गर्ने, रुद्राभिषेक र रुद्रीपाठ गर्ने, थालीमा अरून्धतीसहित कुशनिर्मित सप्त ऋषि (कश्यप, भारद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ट र विश्वामित्र) को पूजा गर्ने चलन छ।  

रक्षाबन्धन पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गंगासागर, धनुषसागर, खोटाङको हलेसी, जुम्लाको दानसाधु, सोलुखुम्बुको दूधकुण्ड, महादेवस्थान, त्रिवेणीधामलगायत प्रमुख धार्मिक स्थलमा मेला लाग्ने गरेको छ।

यसदिन नेवार समुदायले गुँपुन्ही भनी मनाउने गर्दछन् र क्वाँटी खाने गर्दछन्। क्वाँटी भनेको भिजाएर अंकुरित पारिएका गेडागुडीबाट बनेको परिकार हो। नेपालभाषामा क्वाः र ति मिलेर बनेको क्वातीमध्ये ‘क्वाः’ को अर्थ तातो परिकार र ‘ति’ को अर्थ झोल भएकाले क्वा“टी भनिएको हो। यस दिन क्वाँटी तयार पारी खाएमा शरीरमा रोग नलाग्ने र पाचनप्रक्रियासम्बन्धी विभिन्न रोग निको हुने धार्मिक एवं आयुर्वेद शास्त्रको मान्यता रहेको छ।  

क्वाँटीले मधुमेह तथा पायल्स भएका मानिसलाई फाइदा पु¥याउने हेल्पिङहेन्ड्सकी मेडिकल अफिसर डा. एलिना खड्का बताउँछिन्। उनका अनुसार सजिलै पाच्य हुने र तुरुन्त शरीरलाई चाहिने शक्ति प्रदान गर्ने भएकाले क्वाँटीको महत्वपूर्ण खाना हो। ‘क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हन्छ र यसले शरीरको थकाइ कम गरी तनावबाट मुक्त गराउँछ,’ डा. खड्काले भनिन्, ‘रोग प्रतिरोधात्मक शक्ति बढाउनुका साथै रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन पनि क्वाँटी वा गेडागुडीको रस फाइदाजनक हुन्छ।’

साथै नेवार समुदायले यस दिन घण्टाकर्ण राक्षसलाई मारेर मानिसलाई बचाउन सहयोग गरेको किंवदन्तीका आधारमा भ्यागुतालाई पूजा गर्छन्। आजकै दिन तराईवासीहरू राखी पूर्णिमा मनाउँछन्। दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक तथा सामाजिक मान्यताका आधारमा यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ।  महाभारतमा द्रौपदीबाट कृष्णले र कुन्तीबाट अभिमन्युले श्रावण शुक्ल पूर्णिमाकै दिन रक्षाबन्धन बाँधेको उल्लेख छ। यसैलाई आधार मानी राखी सुरु भएको मानिन्छ।
(नागरिक न्युजबाट)

ताजा खबर