‘६० माथि र १२ वर्षमुनिका घरबाहिर ननिस्कनू’

२०७७ श्रावण १९ सोमबार ०८:३१:०० मा प्रकाशित

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले ६० वर्ष उमेरमाथिका र १२ वर्षमुनिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन यस्तो आग्रह गरेको हो।

कोरोनाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६० वर्ष उमेरमाथिका अधिकांश व्यक्तिमा मधुमेह, उच्च रक्तचाप जस्ता समस्या हुने र यस्तो अवस्थामा कोरोना संक्रमण भयो भने ज्यानैसमेत जाने जोखिम भएकाले घरबाहिर निस्कन नहुने बताए। ‘ज्यानको माया लाग्छ भने घरबाहिर निस्कनु भएन,’ उनले ६० वर्ष उमेरमाथिकालाई लक्षित गर्दै भने।  

त्यसैगरी प्रवक्ता गौतमले १२ वर्ष उमेरमुनिका बालबालिकाले सामाजिक दूरी कायम गर्न नसक्ने र माक्स लगाउन पनि लापरवाही गर्ने भएकाले कोरोना संक्रमणबाट जोगिन  घरबाहिर निस्कन नहुने बताए।  

मन्त्रालयले लकडाउन खोलेपछिको अवधिमा कोरोना संक्रमण ०.८ प्रतिशतले वृद्धि भएको र मृत्यु संख्या पनि बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको छ।  

कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लाहरु धनुषा र पर्सामा आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहसहितको उच्चस्तरीय टोली पठाइसकिएको र अन्य जिल्लामा पनि टोली पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।  

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

प्रवक्ता गौतमले कोरोना संक्रमण धेरै जनघनत्व भएका सहरी क्षेत्रमा फैलिएमा यसले विकराल रुप लिने भएकाले सबैलाई जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरे। उनले भौतिक दूरी कायम गर्न, घरबाहिर निस्कँदा अनिवार्य माक्स लगाउन, माक्स डोरीमा समातेर मात्र लगाउन, पटकपटक  साबुनपानीले हात धुन, हात नधोईकन अनुहारमा नछुन अनुरोध गरे।  

उपत्यकामा थप ३१ संक्रमित
पछिल्लो चौबिस घण्टामा काडमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको छ। नयाँसहित उपत्यकामा संक्रमित हुनेको संख्या ५ सय ६० पुगेको छ। उपत्यकामासहित आइतबार  देशभरि २ सय ४६ नयाँ संक्रमित थपिएका छन्। योसहित नेपालमा कुल संक्रमित संख्या २० हजार ३ सय ३२ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म १४ हजार ६ सय ३ जना निको भएका छन्। मन्त्रालयका अनुसार आइतबारसम्म देशभरिमा ५ हजार ६ सय ७२ सक्रिय संक्रमित छन्।  

कोरोना संक्रमणबाट नेपालमा ५७ जनाको मृत्यु भएको छ। पछिल्लोपटक वीरगन्ज–१६  की ६८ वर्षकी महिलाको संक्रमणबाट मृत्यु भएपछि यो संख्या ५७ पुगेको हो। नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना ती महिलाको शनिबार साँझ मृत्यु भएको थियो।  

मन्त्रालयका अनुसार काठमाडौं उपत्यका तथा प्रदेश २ का धनुषा र पर्सामा संक्रमित दर बढेको छ। आइतबार पर्सामा ७८, धनुषामा ३५ र उपत्यकामा ३१ जना नयाँ संक्रमित थपिए।  

पछिल्लो चौबीस घण्टामा ८ हजार ८ सय ६१ वटा नमुना परीक्षण गर्दा दुई सय ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

ट्राफिक प्रहरी महाशाखा सील  
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ। भित्री कक्ष खुला राखेर बाहिरी ओहोरदोहोर बन्द गरी सिल गरिएको हो। कार्यालयको मूल गेट सिल गरेसँगै त्यहाँ कार्यरत तीन सय २० जना ट्राफिक प्रहरी क्वारेन्टिनमा बसेको महाशाखाले जनाएको छ।  

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले आफू पनि  क्वारेन्टिनमा बसेको जानकारी दिए। उनले पिसिआर गरेर मात्रै कार्यालय खोल्न सकिने बताए। ‘कन्ट्याक्ट ट्रेसिङ’ पनि भइरहेको छ। हामी पनि क्वारेन्टिनमा छौं,’ उनले भने, ‘ड्युटीमा खटिएका प्रहरीको छुट्टै तरिकाले सावधानी अपनाएका छौं।’ उनका अनुसार संक्रमित दुईजनालाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा राखिएको छ।

कोरोना पुष्टि भएकाको सम्पर्कमा आएकालाई कार्यालय बाहिर आउन बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो।  

मन्त्रालयले कोरोना पहिचानका लागि अब आरडिटी परीक्षण नगर्न सरोकारवाला अस्पताललाई आग्रह गरेको छ। यसअघि आरडिटी परीक्षण गरेपछि मात्र पिसिआर गरिन्थ्यो। अहिलेसम्म पिसिआर प्रविधिबाट ३ लाख ९१ हजार २ सय ७० वटा नमुना परीक्षण गरिएको छ।

अब ६० वर्ष पुगेका र लक्षण भएका सबैले परीक्षण गर्न पाउने  
सरकारले कोरोना परीक्षणको सीमित दायरा बढाएर फराकिलो पारेको छ। पुरानो ‘नेसनल टेस्टिङ गाइडलाइन’ मा परिमार्जन गरी दायरा फराकिलो पारिएको हो। सबैतिरबाट परीक्षणको दायरा बढाउन अनुरोध भएपछि दायरा फराकिलो पारेको मन्त्रालयले जनाएको छ।  

अब रुघाखोकी लागेका, श्वासप्रश्वास समस्या भएका, झाडापखाला लागेका, सुँघ्ने तथा स्वाद थाहा पाउन नसक्ने जस्ता कोभिड–१९ को लक्षण देखिएका सबैको नमुना परीक्षण गरिनेछ। त्यसैगरी संक्रमितको सम्पर्कमा पुगेका, भाइरल संक्रमण भएका, स्थल तथा हवाई मार्गबाट आएकाको पनि सात दिनभित्र पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।  

नयाँ निर्देशिका अनुसार फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी तथा अन्यको पनि पिसिआर परीक्षण गरिनेछ। क्वारेन्टिनमा बसेका, कोरोना प्रभावित ठाउँबाट आएका, आइसियुमा उपचार गराइरहेका, ६० वर्र्ष उमेर पुगेका, अस्पतालमा शल्यक्रिया प्रक्रियामा रहेका र अस्पतालबाट डिस्चार्ज हुन लागेका सबैको पिसिआर परीक्षण गरिने भएको छ। 
(नागरिक न्युजबाट)

ताजा खबर