बिर्तामोडमा आइतबार राति १२ बजेदेखि लकडाउन

२०७७ श्रावण १९ सोमबार ०८:१७:०० मा प्रकाशित

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको छ । बिर्तामोड नगरपालिकामा भएको सर्वपक्षीय छलफलले आइतबार राति १२ बजेदेखि लागूहुने गरी नगर क्षेत्र लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले बताए ।

छिमेकी पालिकामा संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनीहरुको सम्पर्क बिर्तामोडसम्म पाएपछि नगर क्षेत्रमा थप संक्रमण फैलिन नदिन लकडाउन गर्ने निर्णय गरिएको शिवाकोटीले बताए ।

लकडाउन अवधिभर बजार, पसल, सवारी साधन, कार्यालय, वित्तीय संस्थालगायत सबै क्षेत्र बन्द गर्ने निर्णय भएको छ । खाद्यान्न पसल भने बिहान ८ देखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपतिराज खतिवडाले जानकारी दिए ।

एक साताअघि छिमेकी बाह्रदशी गाउँपालिकामा औषधि व्यवसायी र स्थानीय नेकपाका नेतामा संक्रमण पुष्टि भएको थियो । नेकपाका नेता जिल्ला पार्टी कार्यालय बिर्तामोडसम्म आएको तथा संक्रमित औषधि व्यवसायीको पसलमा बिर्तामोडस्थित औषधि विक्रेताहरु पुगेर फर्किएको कन्ट्याक्ट ट्रेसिङका क्रममा फेला परेको थियो । संक्रमित दुई जनाको प्रत्यक्ष सम्पर्कमा बिर्तामोडका करिब ९० जना पुगेको कन्ट्याक्ट ट्रेसिङमा फेला परेको नगर स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिए । त्यस्तै केही दिनअघि इलामका एक जना सशस्त्र प्रहरीका प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको थियो । उनी पनि बिर्तामोडमा आएर बसेको कन्ट्याक्ट ट्रेसिङका क्रममा खुलेको थियो । बिर्तामोडका ६८ जना संक्रमित प्रहरी निरीक्षकको सम्पर्कमा पुगेको पाइएको खड्काले बताए ।

शनिबार बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन सुरक्षार्थ खटिएकी एक महिला प्रहरीमा संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रम जारी छ । ‘उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा आज (आइतबार) सम्म ५० जनाको नाम लिष्ट तयार भएको छ । भोलि (सोमबार) पनि गर्छौं । करिब एक सय जना पुग्छ होला,’ स्वास्थ्य शाखा प्रमुख खड्काले भने । महिला प्रहरीको सम्पर्कमा आएको भन्दै बिर्तामोडको एउटा औषधि पसल समेत बन्द गरिएको छ । बिर्तामोड नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ७ जना उपचार पछि घर फर्किसकेको खड्काले बताए ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर