नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठक बोलाइयो

२०७७ श्रावण १८ आइतबार ०९:११:०० मा प्रकाशित

काठमाडौं । आगामी २६ र २७ साउनका लागि तय भएको निर्वाचन स्थगित गर्ने निर्णयले व्यवसायीबीच मनमुटाव बढेसँगै अहिले नेपाल उद्योग वाणिज्य महासंघले साधारण सभाको मोडालिटीबारे छलफल गर्न कार्यसमितिको बैठक बोलाइएको छ ।

गत साता बढेको महासंघको पदाधिकारी बैठकले महासंघको ५४औं साधारण सभा एवं निर्वाचन केही समयका लागि स्थगित गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुमोदन गर्न र साधारण सभाबारे थप छलफल गर्न महासंघले आगामी बुधबारका लागि कार्यसमितिको बैठक बोलाएको हो ।

साधारण सभाको मोडालिटीबारे छलफल हुने
बैठक बुधबार बस्दै

महासंघ अध्यक्ष भवानी राणाले आगामी २१ साउनका लागि बैठक बोलाइएको बताइन् । उनले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्न र साधारण सभाको मोडालिटीबारे छलफल गर्न कार्यसमितिको बैठक बोलाइएको बताइन् । उनले आगामी बुधबार बस्ने महासंघको कार्यसमितिको बैठकले पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन गर्ने र साधारण सभाको मोडालिटीबारे निष्कर्ष निकाल्ने प्रयास गर्ने अपेक्षा गरिएको बताइन् ।

महासंघको आगामी २६ र २७ साउनका लागि तय भएको ५४औं वार्षिक साधारण सभा पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने निर्णय गरेको १५ दिनभित्र सम्पन्न हुने गरी सारेको थियो । तर, त्यो निर्णय सर्वसम्मत पारित हुन सकेको थिएन ।

महासंघका उपाध्यक्ष तथा आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले सोहीबेलाको बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर बाहिरिएका थिए । त्यसपछि ढकालको समूहले साधारण सभाको मिति सार्ने नसार्ने विषयमा कार्यसमितिको बैठकले मात्रै निर्णय गर्न सक्ने भन्दै पदाधिकारी बैठकले गरेको निर्णयमा व्यापक असहमति जनाएको थियो । त्यसपछि केही पदाधिकारीसहित महासंघका एक चौथाइ कार्यसमिति सदस्यले कार्यसमितिको बैठक बसाल्न माग गर्दै महासंघ सचिवालयमा निवदेन दर्तासमेत गराएका थिए ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कारोना भाइरस(कोभिड–१९) का कारण गत चैतमा हुनुपर्ने महासंघको साधारण सभा रोकिएपछि अहिलेसम्म सो सभाको मिति तेस्रोपटकसम्म सर्दै आएको छ । यसपालिको साधारण सभा नयाँ नेतृत्व चयन हुने चुनावी सभासमेत भएकाले वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षका लागि छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन् ।

आगामी २६ र २७ साउनका लागि तय भएको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समूहका उद्योगी-व्यवसायीले तीव्र असन्तुष्टि जनाएका थिए । उनीहरूले गत ९ साउनमा पत्रकार सम्मेलन गरी आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । आफूहरूले पदाधिकारी बैठकमा महासंघको निर्वाचन पूर्णरूपमा स्वास्थ्यसम्बन्धी मापदण्ड पु¥याएर सञ्चालन गरौं भन्ने राय राख्दा राख्दै महासंघकै पदाधिकारी बैठकले हतास मनस्थितिमा निर्वाचन स्थगित गर्ने निर्णय गरेको ढकाल समूहको असन्तुष्टि थियो ।

महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार प्रधान समूहका उद्योगी–व्यवसायीले भने अझै कोरोना त्रास बाँकी रहेका कारण आगामी निर्वाचनको समय केही पर सार्नुपरेको प्रतिक्रिया दिँदै आएका छन् । अहिले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाअनुरूप आगामी अध्यक्ष शेखर गोल्छा नै हुनेछन् । महासंघको आगामी अध्यक्ष गोल्छा भए पनि वरिष्ठ उपाध्यक्षलगायत अन्य पदमा ढकाल र प्रधान भिन्दाभिन्दै समूहसहित निर्वाचनमा भिड्दै छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर