ओली–प्रचण्ड संवाद ठप्प

२०७७ श्रावण १८ आइतबार ०८:५१:०० मा प्रकाशित

बालुवाटार र खुमलटारको आ–आफ्नै रणनीतिमा

 काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद नै हुन छोडेको छ ।

पार्टी स्थायी समिति बैठक स्थगित गर्ने र सञ्चालने गर्ने विषयमा अध्यक्षद्वयबीच कुरा मिल्न नसकेपछि विवाद थप चर्किएको थियो । जारी विवाद समाधान गरेर मात्र स्थायी समितिको बैठक बस्नुपर्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले स्थायी समिति बैठक स्थगित गरे पनि अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक सञ्चालन गर्नुभएको थियो ।

उक्त बैठकले अध्यक्ष ओलीसँग संवाद गरेर स्थायी समितिको बैठकको मिति तय गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । तर पाँच दिन बितिसक्दा समेत ओली–प्रचण्डबीच संवाद हुन सकेको छैन । स्थायी समिति बैठक अनिश्चित भएपछि दुवै जना अध्यक्ष आ–आफ्नो रणनीति बनाउन जुट्नुभएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्षद्वयको बीचमा आइतवार संवाद हुन सक्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफू निकटका नेतालाई बालुवाटारमा बोलाएर रणनीति तय गरिरहनुभएको छ भने प्रचण्डले आफू निटकका नेतालाई खुमलटारमा बोलाएर संवाद गरिरहनुभएको छ । स्थायी समिति बैठकमा उपाध्यक्ष वामदेव गौतमले विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव अगाडि सारे पनि नेकपाभित्रको समीकरणमा पनि फेरबदल आएको छ ।

नेकपाका नेता मणि थापाले जारी विवाद समाधान गर्नका लागि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने र ओलीले बाँकी कार्यकाल सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुट्न सक्ने बताउनुभयो । विवाद जति नै चर्काए पनि सहमति गरेर जानुबाहेक अहिले पार्टीभित्र अर्को विकल्प नरहेको बताउँदै मुख्य चुनौती पार्टी एकतालाई जोगाउनु रहेको थापाले बताउनुभयो ।

सचिवालयमा यसअघि अल्पमतमा रहनुभएका ओलीलाई उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापाले साथ दिएपछि बहुमतको अवस्थामा पुग्नुभएको छ । दुवै समूहका दोस्रा तहका नेताले अध्यक्षद्वय ओली र प्रचण्डसँग संवाद गर्दै जारी विवाद तत्काल समाधान गरेर अगाडि जानुपर्नेमा दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने तर प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन तयार रहेको यसअघि नै सहमति भइसकेको बताए पनि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुईमध्ये एक पद कुनै पनि हालतमा छोडनुपर्ने माग राखेपछि नेकपाभित्र विवाद हल हुन सकेको छैन । निकासका लागि ओलीले आगामी मंसिरमा महाधिवेशनको गर्ने प्रस्ताव अगाडि सारेपनि विषय अगाडि बढन सकेको छैन ।

पार्टी एकता कायम गर्नुको विकल्प छैन
नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ । उहाँले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने तीव्र चाहना रहेको बताउँदै जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।

शनिबार तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीमा बहस र विवाद हुनु सामान्य कुरा भएको बताउनुभयो । विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएकाले त्यसलाई प्रतिक्रियावादीले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन उहाँको आग्रह थियो । उहाँले भन्नुभयो– ‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं ।’

उहाँले कम्युनिस्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वाभाविककै भएको बताउँदै राजनीतिक अस्थिरता र एकताका निम्ति पद त्याग गर्दै आएको समेत स्मरण गर्दै भन्नुभयो– ‘मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेको थिएँ ।’

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दाबी गर्दै अध्यक्ष प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्तिलाई परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।’
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर