संक्रमितको संख्या २० हजार नाघ्यो, ‘प्रभावकारी कदम नचाले स्थिति भयावह’

२०७७ श्रावण १८ आइतबार ०८:३१:०० मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय १५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो। तीमध्ये शनिबारसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। शनिबार मात्रै विभिन्न अस्पतालबाट ९३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

लकडाउन खुलेसँगै संक्रमितको संख्या बढेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। पछिल्लोसमय उपत्यकामा संक्रमित बढ्दै गएको पाइएको छ। लकडाउन खुलेसँगै काठमाडौं भित्रिनेको संख्या पनि बढेको मन्त्रालयको भनाइ छ। यसले गर्दा संक्रमण समुदायमा फैलिनसक्ने आंशका गरिएको छ।

पछिल्ला १० दिनमा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ५७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। शनिबार वीरगन्जमा एकजनाको मृत्यु भएको छ।  

साउन ७ गते संक्रमितको संख्या १८ हजार ९४ थियो भने निको हुनेको संख्या १२ हजार ६ सय ८४ थियो। सोही दिनसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ थियो। पछिल्लो १० दिनमा १ हजार ९ सय २ जना संक्रमित थपिएका छन् भने १ हजार ८ सय ८ जना डिस्चार्ज भएका छन्।

शनिबार कैलालीका ९८ जना, बझाङका ६८, पर्साका ६६, अछामका २८ र इलामका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै कञ्चनपुरका ९, सप्तरीका ७, काठमाडौं र सिराहाका ५÷५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २÷२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशअनुसार डिस्चार्ज हुनेमा प्रदेश १ बाट ८ सय ५६, प्रदेश २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना रहेका छन्। यस्तै, प्रदेश ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको स्वास्थ्य तथा जनसंख्या प्रवक्ता डा. जागेश्वर गौतमले बताए।  प्रदेश १ मा २ सय २५, प्रदेश २ मा  २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत छन्। यस्तै प्रदेश ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

देशभरका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन्। प्रदेश १ मा १ हजार २ सय ५४, प्रदेश २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन्। यस्तै प्रदेश ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ। धेरै ठाउँमा भारतबाट आएका व्यक्तिलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकाले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो। सिंहदरबारभित्र र अन्य कार्यालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले समेत सामाजिक दूरी कायम नगरेको सूचना प्राप्त भएकाले त्यस्तो नगर्न प्रवक्ता डा. गौतमले आग्रह गरे। सही तरिकाले मास्क लगाउन, सामाजिक दूरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुने उनले आग्रह गरे। कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहे पनि आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे।

‘प्रभावकारी कदम नचाले स्थिति भयावह’

काठमाडौं, साउन १७ (नागरिक)– चिकित्सकहरूले कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके स्थिति भयावह हुनसक्ने चेतावनी दिएका छन्। शनिबार राजधानीमा आयोजित एककार्यक्रममा बोल्दै उनीहरूलेसंक्रमणको जोखिम बढेसँगै सरकारले पिसिआर परीक्षणको दायरा बढाउन पनि माग गरे।

कार्यक्रममा बोल्दै डा. सुन्दरमणि दीक्षितले तत्काल कोभिड–१९संक्रमण नियन्त्रण गर्न नसकेस्थिति भयावह भएर जानसक्ने बताए। ‘सरकारले महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न सकिरहेको छैन,’ उनले भने, ‘सरकारको काम हेर्दा अबको केही दिनभित्रै कोरोनासंक्रमण ‘महामारी रोग’ का रूपमा देखा पर्ने निश्चित छ। सरकारले पिसीआर परीक्षण बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको छ। समुदायमा पनि संक्रमण देखिन थालेकाले पनि स्थिति भयावह बन्न सक्छ।’

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले कोरोना भाइरसको जोखिम बढेसँगै अवस्था चिन्ताजनक हुँदैगएको तर्क गरे। उनले प्रदेश२ मा कोरोना संक्रमण बढ्दो क्रममा रहेको स्मरण गराए। ‘आवतजावतमा कडाइर काठमाडौं उपत्यकासहित सीमाक्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्छ,’ उनले भने, ‘सरकारलेसंक्रमणको जोखिमबारे सर्वसाधारणलाई सावधान गराएको भए अहिले धेरैले आफ्नो व्यवहारमा परिवर्तन गर्नेथिए। साथै लकडाउन खुकुलो बनाएपछि परीक्षणको दायरा बढाउनुपर्नेथियो।’ उनले दैनिक १२ हजारदेखि १५ हजारसम्म पिसिआर परीक्षण गरिनुपर्ने बताए।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बाँस्तोलाले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सर्वसाधारणआफैं व्यवस्थित हुनुको विकल्प नभएको तर्क गरे। ‘सर्वसाधारणले आवागमन व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही दिनभित्र भयावह हुनसक्छ,’ उनले भने, ‘जोखिमयुक्त ठाउँबाट आएका सर्वसाधारण क्वारेन्टिनमा नबस्दा समुदायमा संक्रमण फैलिरहेको छ। कोरोना संक्रमण रोकथामको उपाय लकडाउन मात्र नभएर आवश्यक सावधानी अपनाउनु जरुरी छ। बाहिर निस्किँदा मास्क लगाउनुपर्छ। नियमित हात धुनुपर्छ।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिले कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं आउने सवारीसाधनलाई कडाइ गर्न निर्देशन दिइसकेको छ। ‘राजधानीबाहिर रहेका मानिस काठमाडौं आउन खोजिरहेको देखिएको छ,’सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले भने, ‘सवारीसाधन सञ्चालनमाकडाइ हुनसक्छ।’ 
(नागरिक न्युजबाट)

ताजा खबर