गोरखापत्रको प्रधान सम्पादकमा आचार्य

२०७७ श्रावण १७ शनिबार १०:३८:०० मा प्रकाशित

काठमाडौँ। गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा श्रीधर आचार्यलाई नियुक्त गरेको छ । गोरखापत्रको प्रबन्ध सम्पादकको जिम्मेवारीमा रहनुभएका आचार्यलाई व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी प्रधानसम्पादकको जिम्मेवारी सुम्पेको हो । गोरखापत्रका निमित्त प्रधानसम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ उमेर हदका कारण साउन १५ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्नुभएपछि रिक्त प्रधानसम्पादकमा आचार्यलाई नियुक्त गरिएको हो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले संस्थानको मुख्य प्रकाशन गोरखापत्रको निमित्त प्रधानसम्पादक नियुक्तिपत्र शुक्रबार हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा कार्यकारी अध्यक्ष भण्डारीले गोरखापत्रका प्रकाशनलाई पाठकबीच कसरी लोकप्रिय बनाउने भन्ने कार्ययोजनालाई सहयोग गर्न व्यवस्थापन सधैँ तयार रहेको बताउनुभयो । अध्यक्ष भण्डारीले एउटै मञ्चबाट सौहार्द्रपूर्ण वातावरणमा सम्पादकको बिदाइ र स्वागत गर्न पाउनुलाई अपूर्व अवसर भएको चर्चा गर्दै नयाँ सम्पादकको परीक्षाको घडी सुरु भएको बताउनुभयो ।

गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालले सामूहिक प्रयासले गोरखापत्रको ‘सुनौलो दिन’ सुरु भएको चर्चा गर्दै गुणस्तरलाई निरन्तरता दिदै नयाँ फड्को मार्नुपर्ने बताउनुभयो । कानुनी सल्लाहकार कुमारप्रसाद भट्टराईले इतिहासको सङ्ग्रहको रुपमा रहेको गोरखापत्रलाई ‘कर्पोरेट हाउस’ को रुपमा अगाडि लैजान छलफल भइरहेको बताउनुभयो । नवनियुक्त प्रधानसम्पादक आचार्यले गोरखापत्र प्रतिको निष्ठा र पेशागत इमान्दारितामा रहेर प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सेवाको अवसर प्रदान गर्ने संस्थान व्यवस्थापनलाई धन्यवाद दिँदै गोरखापत्र दैनिकका पछिल्ला सुधारलाई निरन्तरतासहित पठनीय बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । गोरखापत्र दैनिकका निवर्तमान निमित्त प्रधानसम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रलाई गुणस्तरीय बनाउने कार्यमा सबैबाट सहयोग प्राप्त गरेको अनुभव सुनाउनुभयो । नवनियुक्त प्रधानसम्पादक आचार्यले २०३९ साल चैतमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुभएको हो ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ मा २०२० सालमा जन्मनुभएका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । यसअघि उहाँले गोरखापत्र संस्थानको सञ्चालक समिति र पदपूर्ति समितिमा रहेर सेवा गरिसक्नुभएको छ । 
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर