काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

२०७७ श्रावण १७ शनिबार १०:३२:०० मा प्रकाशित

दमक। झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत साउन ११ गते काकाडभिट्टाको होल्डिङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरिएको थियो ।

यसमध्ये १२ जनामा सङ्क्रमण देखिएको छ भने २० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, झापाले जनाएको छ । यसभन्दा अघि मेचीनगरमा २० जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । समुदायमा कोरोना सङ्क्रमण भएको आङ्शकामा होल्डिङ सेन्टरमा रहेका ३२ जना सशस्त्र प्रहरी र समुदायका ८५ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

समुदायस्तरका मानिसमा गरिएको नमूना सङ्कलनमा सबैको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको र समुदायमा कोरोना सङ्क्रमण नरहेको पाइएको बताइएको छ । मेचीनगर सामाजिक विकास समितिका संयोजक नवीन बरालका अनुसार सशस्त्र प्रहरीबाहेक समुदायमा कोरोना सङ्क्रमण देखिएको अवस्था छैन । मेचीनगरमा मात्र कोरोना सक्रमितको सङ्ख्या ८२ पुगेको मेचीनगर नगरपालिकाले जनाएको छ ।

भारतसँग सीमा जोडिएको काकडभिट्टामा रहेका सशस्त्र प्रहरीमा एकपछि अर्को गर्दै कोरोना सङ्क्रमण पुष्टि भएसँगै ड्युटीमा खटिएका प्रहरीहरूलाई उच्च सावधानी अपनाउन निर्देशन दिइएको बताइएको छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर