वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

२०७७ श्रावण १७ शनिबार १०:१६:०० मा प्रकाशित

वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित आफ्नै घरमा मृत्यु भएको हो । थप एक महिलाको पनि मृत्यु भइसकेको छ । तर, उनको स्वास्थ्य परीक्षण रिपोर्ट आई नसकेको नारायणी अस्पतालले जनाएको छ ।

मृत्यु हुनेहरूमा वीरगन्ज–१६ नगवाका ३५ वर्षीय र वीरगन्ज–२ छपकैयाका ६५ वर्षीय पुरुष छन् । यस्तै, जगदम्बा इन्टरप्राइजेजका सिइओको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी भारतीय नागरिक हुन् । आफ्नै घरमा मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको नारायणी अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

– एकै दिन तीन जनाको मृत्यु
– देशभरमा मृत्यु हुनेको संख्या ५६

योसहित पर्सामा साउनमा मात्र मृत्यु हुनेको संख्या ८ पुगेको छ । मुलुकभरि भने योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हरेक दिन कोरोनाका संक्रमित बढ्ने र मृत्यु हुने क्रम चलिरहेको पर्सामा कोभिड अस्पतालमा बिरामी नअटेपछि १ सयभन्दा बढी होम आइसोलेसनमा नै छन् । ५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको थियो ।

तीमध्ये दुई जनाको बिहीबार अबेर साँझ मृत्यु भएको हो । पर्सामा संक्रमित भएर निको हुन बाँकी संक्रमित १ सय ८४ जना छन् । यो संख्यामध्ये २० जनालाई सेमी आइसोलेसनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । यीबाहेकका सबै संक्रमितलाई आ–आफ्नो घरमै राखिएको उनले बताए ।

घरमा नै छोडिएका संक्रमितलाई बिहान र बेलुका स्वास्थ्यकर्मी पुगेर घरमा भए नभएको निगरानी गरिने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले बताए । संक्रमित भएका व्यक्ति राखिएका घरमा बाहिर सूचना टाँस गर्न थालिएको उनको भनाइ छ ।

वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलमा कोरोना संक्रमितको उपचार गर्ने हस्पिटल बनाउने प्रक्रिया अगाडि बढेको छ । वीरगन्ज क्षेत्रमा कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेर मृत्यु हुने क्रम बढेपछि हस्पिटलका सञ्चालकले कोरोनाका बिरामीको उपचार गर्न दिने संकेत गरेका छन् ।

यो संकतले गण्डकमा रहेको गण्डक अस्पताल पछि गण्डकमा नै रहेको अर्को वीरगन्ज हेल्थ केयर अस्पताल कोभिड विशेष अस्पताल बन्ने बाटो खुलेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले पनि आवश्यक प्रक्रिया पूरा गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरी पठाइसकेको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर