संस्मरण: राजा ज्ञानेन्द्रसँग किन तर्सिए गिरिजाप्रसाद ?

२०७७ श्रावण १६ शुक्रबार १६:४१:०० मा प्रकाशित

दुइचार पटक २०४० र ४१ सालमा अग्लो पातलो लामो नाक, ठूला कान, अगाडि निधार स्वात्तै अलि कपाल झरेर ठूलो देखिएका, ठूलो पत्लुन लाउने मान्छे । त्यो किसुनजीको घर अगाडि २ र ४ बूढाहरू हिँडिरहेको देख्दा को रहेछन् भनेर सोच्थेँ म । किसुनजीकोमा जान थालेपछि चिनजान भयो । तर वहाँ आज चिन्यो अर्को पटक भेट्दा भुले झैँ गर्ने । सायद महत्व नदिएको मानिस परेर होला । वहाँसँग हिँडिरहने अरू दुईले भने फेरि बिर्सेनन् । ती दुई थिए एकजना मनमोहन अधिकारी र अर्काथिए ज्ञानेन्द्र बहादुर कार्की । उनको बसाइ मानभवन जाउलाखेलमा थियोे ।

त्यसपछि वहाँसँग मेरो भेट एकैचोटि बहुदलिय ब्यवस्था आए पछि महामन्त्री गिरिजाप्रसाद कोईराला लेखिएको कोठा बागबजारको नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको थियोे । तर मेरो खासै काम नभएकाले मैले पुन भेटिरहिन । ठूला मानिसहरूलाई भेट्घाट, चाकरी गर्दै नरहे उनीहरूले बिर्सन्छन् । यो स्वभाविक पनि हो । म एउटा जाबो सुब्बाको जागिर खाने मान्छे राजनीति गर्नु थिएन तसर्थ चाकरी बजाइरहनु पर्ने आवश्यकता पनि परेन तसर्थ भेटाघाटा पनि हरायो र उनले पूर्ण रुपमा भुले पनि ।

यस्तै अर्को पटक मेरो वहाँसँग एकैचोटि सायद २०५६सालमा हुनुपर्छ । जयन्त चन्दको विवाह पार्टीमा भेट भयो । वहाँलाई मैले बोकिरहेको मेरो कोर्दैमेट्दै निबन्ध संग्रह तत्काल लेखेर दिँए । त्यो पुस्तक वहाँका हातमा दिएका बखत ललिजन रावल पनि मसँगै हुनुहुन्थ्यो । बसौं भन्नुभयो वहाँले । त्यो भिआईपिहरू बस्ने स्थानमा बस्न नमिले पनि वहाँको मान राख्न हामी बस्यौं । वहाँले त्यो मेरो पुस्तक हातमा उठाएर भन्नुभयो “हिँड्दै छ पाइला मेट्दै छ” उक्त उक्ति कोर्दै मेट्दैको ठीक पर्यायवाची वाक्य भयो । तत्काल त्यस्तो दुरुस्त उस्तै वाक्य सबै मानिसमा आँउदैन । यो वहाँको खुबीका बिषयमा हामीले पछिसम्म पनि कुराकानी गरिरह्यौं । वहाँले “अब यो मेरो लाईब्रेरीमा रहन्छ फुर्सदमा पढ्छु भनेर छेउको अँगरक्षकलाई दिएर नहराई मेरो लाईब्ररीमा राख्नु” भनेर दिनुभयो । एकछिनको साहित्यका गफपछि हामी उठ्यौं र बिदा भयौं । त्यसपछि मेरो भेट भएन ।

२०६० सालको जाडो महिना जस्तो लाग्छ । एकदिन बिहान बिहानै मेरो फोनलाईनको फोनको घण्टी बज्यो । मैले उठाएँ । उताबाट हजुर म बालकृष्ण दाहाल बोलेको यहाँलाई “गिरिजाबाबुले खोज्नु भएको छ ।” मैले आज त मिल्दैन भोलि गरौँ भने । उनले भोलि कहाँ गाडी पठाउँ भने मैले म मोटरसाइकलमा आँउछु भने । मलाई कसरी कस्ले के भन्यो र बूढाले खोजी गरे भन्ने लाग्यो । भोलिपल्ट बिहानै वहाँका भान्जी ज्वाँई ईन्जिनियर उपेन्द्र अधिकारी गाडी लिएर मलाई लिन आउनुभएछ । वहाँ मेरो अभिन्न मित्र हुनुहुन्थ्यो । हामी गयौं । महाराजगंजमा वहाँ बस्नुहुँदो रहेछ ।

भेटभयो । केहीबेरको कुराकानी पछि वहाँले मलाई भन्नुभयो– “तपाईंलाई मैले चन्दजी अति भलादमी मान्छे वहाँले कुरा गर्नु भयो त्यसपछि यो नाम त मैले धेरै अगाडि सुनेको तर कहाँ संझन सकिन । मैले चन्दजीसँग भने पनि तर ऐले संझे तपाईंको भर्खरै दारी जुँगा पलाईराखेको कलिलो केटो किसुनजीकहाँ भेटभाको त्यतिबेला पनि तपाईं चलाख नै लागेको हो मलाई तर त्यति वास्तै भएन त्यो बेलाको परिस्थिति पनि त्यस्तै थियोे । पछि तपाईंले किताब  दिएको पनि संझे मैले पढेँ । त्यसमा तपाईंले मलाई गाली गरेको पनि पढेँ ।” भन्नुभयो ।

म अलि झस्केँ पनि गाली गरेको भन्दा तर खासै गाली होइन काम नगरेको मात्र भनेको हो । मैले त्यस्तै भने वहाँलाई । “हेर्नुन मलाई कहिले कम्युनिस्टले, कहिले शेरबहादुरहरू आफ्नो साथी भाइले नै काम गर्न दिएनन् ।” वहाँले थप्नु भयो । २०५०सालमा मेजोरिटिको सरकार ढालेको, पछि पनि पार्टीमा गुट उपगुट सिर्जना भएको ईत्यादि कुरा गर्नुभए पछि मैले भारतको, अमेरिकी नीतिको बारेमा सोधेँ । मलाई स्थलरुप नापी महाशाखामा काम गर्दाको एउटा घटनाक्रम थाहा थियोे । त्यो २०४५सालको कुरा थियोे । स्थलरुप नापी महाशाखाले चैत महिनामा चीन सीमानाको सर्भे गर्ने भयो । सर्भे दुबै सरकारको सहमतिमा मात्र हुन्छ । सबै कुरा मिले पछि कर्नेलहरूको जिम्मामा नापीका प्राविधिकहरू पुर्वाञ्चल देखि तत्कालीन बिकास क्षेत्र मुताविक पाँच टोलीहरू खटिए । त्यसबेला अमेरिकी एक सर्भेयर पनि आएका थिए उनको नाम डा.वार्ड फोर्ड होकि जस्तो लाग्छ तर एक्ज्याक्ट थाहा भएन बिर्सें । जे होस् उनी सर्भेयर थिए ।

 खासगरि सीमा नापीमा त  सीमाका हराएका पिलरहरू निर्क्यौल गरेर पिलर राख्ने र सोही अनुसारको नक्शा बनाउने हो तर ती सर्भेयर टिँङ्कर हिमाल पश्चिमी टोलीसँग गएर त्यहाँको टोपो म्याप लिन चाहन्थे । टोपो म्याप अति गोप्य हुन्छ, त्यसैले अमेरिकीहरू, चिनीयाँहरू र भारतीयहरूले टोपोग्राफि सर्भेलाई रक्षा मन्त्रालय अन्तरगत राखेको हुन्छ,नेपालले जस्तो लापरबाही गरेर भुमिसुधारमा राख्दैनन् । त्यो हिमालको नक्शा लिने उदेश्यले आएका ती सर्भेयर सुदुरपश्चिमाञ्चलको टोलीसँग गए र नक्शा तयार गरेर फर्किए टोलीसँगसँगै ।

 त्यसबेला हरेक महत्वपूर्ण कामको बिवरणसहित दरवारमा राजासमक्ष जाहेरी गरेर काम दर्शाउने चलन अनुसार टोपो प्रमुख बिभागीय डाईरेक्टर लगायत नक्शा तयार गर्ने सरभेयरहरू दरवार गए र जाहेरी गरे । टिँङ्करको नक्शा पनि जाहेरी भयो । राजाले ती सर्भेयरलाई बीरेन्द्र प्रज्ञालँकार पदक दिएर बिभूषित पनि गरे तर अमेरिकी सरकारले भूउपग्रह सुचनाकेन्द्र राख्छु भनेको टिङ्कर हिमाल अमेरिकीहरूलाई दिन मानेनन् । यो प्रयास हजुरको प्रधान मन्त्रीत्व कालमा अमेरिकाले पुन गरेको थियोे यस बिषयमा केही बताउनुन भनेर मैले गिरिजाबाबुलाई आग्रह गरे पछि हैन तपाईंलाई त धेरै कुरा पो थाहा रहेछ खुफियामा काम गर्नुपर्ने मान्छे   तपाईं । तपईजस्तो मान्छे मलाई चनहिन्छ भनेर आँफैले नोटबुक ल्याएर मेरो सबै नाम फोन र ठेगाना नोट गर्नुभयो । कसैलाई नअराएर फेरि उठेर कोठामा लगेर नोटबुक राखेर आउनुहुँदा म छक्क परेको थिएँ । त्यतिबेला त्याहाँ सुजाता,सेखर कोईराला, उपेन्द्र अधिकारी र वहाँकी मिसेस हुनुहुन्थ्यो । गिरिजाबाबु अठहत्तर बर्षको उमेरमा हुनुहुन्थ्यो ।

वहाँले पाइप राखेर लामो बनाएको एउटा सूर्य चुरोट सल्काउनुभयो र एकसर्को तानेर ल सुन्नुहोस भन्नुभयो । “अँ राजा बीरेन्द्र धेरै राम्रा मान्छे । यो ऐलेको महाराज जस्तो होइन । हेर्नु न यी राजाले त गोप्यता पनि राख्दैनन् । एउटा घट्ना सुन्नुहोस- यी रजासँगको । म यहीँ छतमा चुरोट तान्दै बसिरहेको थिएँ । हातको औँलाले तल गेटमा देखाँउदै जाडो थियोे कम्बल घम्ल्याङ ओडेर त्यो भारतीय राजदुत (नाम भन्नू भा थियो मैलेभुलेँ) देखा परो । मैले केटाहरुलाई भने के काम परेर आयो त्यो माथि लिएर आउ भनेर अह्राएँ । ऊ आयो । बस्न भने ऊ तपाईं बसेकै ठाँउमा बस्यो । र भन्यो गिरिजाबाबू “आँप इन्डिया जहाँ रहे हैं । माओबादीसे मुलाकात करने के लिए, कहाँ देल्ही या दुसरे जग्गा । म छक्क परेँ । कस्ले भन्यो तिमीलाई म जाने कुरा मैले कसैलाई भनेको छैन । उसले जवाफ दियो "आपके महाराज   ने ।" एकै छिन दिमागमा कुरा घुम्यो कस्ता महाराज रहेछन् ! यो कुरा किन यो उसँग गर्नु पर्यो, काम नलाग्ने राजा मैले मनमनै गमे र उसलाई भनेर महराजलाई सोध्नु म एउटा विवाहमा जान लागेको माओवादी भेट्ने मेरो कुनै योजना छैन । त्यस पछि उ गयो । भएको कुरा चैं म देशबाहिर जाँदा महाराजलाई जानकारी दिएर मात्र जाने मेरो नियम थियोे । मैले महाराजलाई म भारतमा एउटा आफ्नो मान्छेको विवाहको शिलशिलामा जाँदैछु, महाराज जानकारी दिउँ भनेर मात्र आएको भन्दा उनले भनेका थिए “के माओवादीहरूसँग पनि भेट हुन्छ ।” मैले भने हुन्न । राजाले भेटेर कुरागर्नुभए हुन्थ्यो भने । मैले  भने- महाराज मसँग कुनै खुफिया पनि छैन ताकि मलाई जानकारी होस् कहाँ बस्छन् ? बरु यहाँसँगै छ नि महाराज । यति भनेको थिएँ उनले राजदूतसँग कुरा गरेछन् । यस्ता महाराजले के मुलुक चलाँउछन् । राजा बीरेन्द्र असल थिए । उनले कहिल्यै यस्ता भनेका कुरा कहीँ कसैसँग कहिल्यै भनेनन् । उनको त्यस्तो गुण देखेर उनले “ल न गिरिजाबाबू त्यो रमेश नाथ पाण्डेलाई माथिल्लो सभामा ल्याइदिउँ, मलाई कचकच धेरै गरिसक्यो” भन्दा मैले महाराजलाई सँझेर त्यो मलाई पटक्कै मन नपर्ने मान्छे पनि ल्याईदिएँ । त्यस्ता हुन् न राजा । घरको कुरा बाहिरी मान्छेलाई सोधे पछि घर झगडाले बाटो खन्छ । यसकारण निरौलाजी तपाईं त्यो रमेशनाथ भन्दा ट्यालेन्ट हुनुहुन्छ । तपाईं महाराजलाई भेटेर भनिदिनुहोस् दुईवटा नदी समानान्तर बगिरहेको ठाउँमा अर्को पनि त्यहीँ मिसयो भने चौथो बडारिन्छ । यसर्थ म माओवादीसँग मिलें भने राजा बडारिन्छन् । यो कुरा मेरो छ भनेर महाराजलाई भनिदिनुहोस् ।”

मैले भने हजुरले मलाई ठूलो मान्छे सँझिनु भयो तर म त्यति पहँुच भाको मान्छे होइन । मेरो राजासँग एक पटक पनि भेट भएको छैन । राजाले मलाई चिन्ने कुरा नै भएन फेरि दर्शनभेट हामीलाई कसले मिलाउने, संभव नै छैन म बाट त । मैले भने । वहाँले भन्नु भयो– तपाईं चन्दजीको सल्लाहकार कसरी बन्नुभयो त ? दरबारमा चिनाजाना नभै सल्लाहकार हुने कुरै भएन । मैले भने “खै मलाई त वहाँले नियुक्ति दिनु भा हो । त्यसो भए अरूको चिन्नुहुन्छ त ! मैले शरद चन्द्र शाह को नाम लिएको वहाँले “हैट” भन्नुभयो ।

अनि एकछिन घोत्लिएर भन्नुभयो– “यी कुराहरू ती मान्छेसँग नगर्नु होला । मलाई अब झन् थाहा भयो कुरा राख्नुहोस् महाराजले मान्छन् । बरु समय म मिलाँउछु” भन्नुभयो । मैले हजुरको इच्छा भनेर त्यो दिन म छुट्टिएँ । 
(क्रमश...)

(निरौला सिध्दहस्त कवि हुन् । उनी ज्योतिष विज्ञानमा समेत दख्खल राख्छन् । उनले खुट्याएका कुरा ठ्याक्कै मेलखाने गरेको अनुभवीहरु सुनाउँछन् । यही कारण पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दसँग घनिष्ठ सम्बन्ध बनेको हो उनको । यो लेख अर्का पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको भेटघाटको संस्मरण हो । तस्बिरमा कालो मफलर लाएका लेखक हुन् । )  

ताजा खबर