‘मेरोबारे भ्रम नपाल्नु’

२०७७ श्रावण १६ शुक्रबार ०८:१९:०० मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नोबारे अनियमितता र भ्रष्टाचारको भ्रम नपाल्न अनुरोध गरेका हुन् । दोस्रोपटक सदस्यसचिवमा नियुक्त भएपछि बुधबार पदभार ग्रहण गर्दै सदस्यसचिव सिलवालले आफ्नो बारे कुनै भ्रम नपाल्न र आफू पारदर्शी ढंगले काम गर्ने र अख्तियार र मुद्दा मामिलामा जानुनपर्ने बताएका हुन् ।

१३औं साग आयोजना र सञ्चालनमा आर्थिक अनियमितता भएको भन्दै सिलवालविरुद्ध अख्तियारमा उजुरी परेको छ । दोस्रोपटक सदस्यसचिवमा नियुक्ति हुने समयसमेत सिलवालविरुद्ध अख्तियारमा उजुरी परेको भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन माग गर्दै केहीले युवा तथा खेलकुद मन्त्रालयमा उजुरी दिएका थिए । ‘सुशासन र पारदर्शिताको पक्षमा वकालत गर्नेछु । खेलकुदमा लागेका व्यक्तिको इज्जत र प्रतिष्ठ वृद्धि गर्ने बाटो बनाउनेछु । खेलकुदलाई आकर्षणको केन्द्र बनाउन पहल गर्नेछु ।

गएको १ वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्नेछु,’ सिलवालले भने, ‘म राखेपमा पैसा कमाउन र भ्रष्टाचार गर्न आएको हैन । केही नराम्रो कुरा भए तथ्य र प्रमाणसहित आउनुस् । नराम्रो कुरा उजागर गरिदिनुस । उचित सल्लाह र सुझाव दिनुस् । अरुको खुट्टा तानेर हाईट बढ्दैन । त्यस्तो भ्रम कसैले नपाल्नुस् ।’ यस्तै सदस्यसचिव सिलवालले अनियमितताको विषय भए तथ्य, प्रमाणसहित पेस हुन अपिल गर्दै अँध्यारोमा ढुंगा नहाल्न चुनौतीसमेत दिएका छन् ।

‘सुशासन र पारदर्शिताको पक्षमा वकालत गर्नेछु । खेलकुदमा लागेका व्यक्तिको इज्जत र प्रतिष्ठ वृद्धि गर्ने बाटो बनाउनेछु । खेलकुदलाई आकर्षणको केन्द्र बनाउन पहल गर्नेछु

उनले खेलकुदमा विशेषगरी पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको बताए । ‘धेरै संघका खेल मैदान र कभर्डहल छैन । खेलकुदको विकास गर्ने हो भने मैदान र कभर्डहल बनाउनुपर्छ । केन्द्र, सबै प्रदेश र सबै स्थानीय तहमा पूर्वाधार बनाउनुपर्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने खालको पूर्वाधार बनाउनुपर्छ । यसका हाम्रो टिमको प्रतिबद्धता छ,’ सिलवालले भने ।

उनले खेलाडीलाई नियमित प्रशिक्षण गर्ने र प्रशिक्षकको स्तर वृद्धिमा निरन्तर काम गर्ने र खेल संघलाई योजनाबद्ध तरिकाले काम गर्ने वातावरण बनाउने र राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गरिने बताए । यस्तै, कर्मचारीको बढुवा र स्थायी प्रक्रियालाई चाँडै टुंग्याइने बताए ।

यस्तै, सदस्यसचिव सिलवालले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौं राष्ट्रिय खेलकुद कोरोना महामारीमा भर पर्ने बताएका छन् । ‘हामी पोखरामा नवौं राष्ट्रिय खेलकुद गर्न तयार छौं । सुटिङ रेन्ज र हिटिङ सिस्टमको स्विमिङ पुल मात्रै बनाउन बाँकी छ । अन्य पूर्वाधार तयार छन् । तर, यो सबै कोरोना महामारीमा नै निर्भर हुनेछ । कोरोना सामान्य भएको अवस्थामा गर्न नसकिने भन्ने छैन,’ सिलवालले भने ।

उनले केही दिन भित्रमा घरेलु खेलकुद फर्कने उल्लेख गर्दै स्वास्थ्यको संवेदनशीलता र खेलकुदलाई मर्न नदिनेगरी खेलाडीलाई चाँडै मैदान फर्काउन पहल गरिने बताए । उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउँदै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नुपर्ने आवश्यकता आंैल्याए ।
(राजधानी दैनिकबाट)

ताजा खबर