अचाक्ली महँगी, सरकारी निकाय मूकदर्शक

२०७७ श्रावण १६ शुक्रबार ०८:१३:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि गरेर कालोबजारी हँुदासमेत सरकारी निकायले सशक्त रूपमा अनुगमन गर्न सकेको छैन ।

महँगी नियन्त्रण हुन नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य विभागको भूमिकामाथि नै प्रश्न सिर्जना भएको छ ।

बजारमा व्यापारीले मनपरी गर्दा अनुगमन गरेर कारबाही गर्ने कानुनी अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय निकायलाई छ । तर, कानुनी अधिकार प्रयोग गर्न नसक्दा सरकारी पदाधिकारीहरू र बिचौलियाबीच नै साँठगाँठ भइरहेको छैन भन्ने आशंकासमेत बढेर गएको छ ।

साताअघि खुद्रा बजारमा प्रतिकिलो ३० देखि ४० रुपैयाँमा पाइने हरियो तरकारीको मूल्य ९० देखि १ सय २० रुपैयाँ पुग्दासमेत अनुगमनको जिम्मेवारीमा रहेका सरकारी निकायहरू मूकदर्शक बन्दै आएका छन् ।

व्यापारी तथा बिचौलियाले वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य तेब्बरसम्म बनाएका छन् । उनीहरूका लागि वर्षा र बाढी ठग्ने माध्यम बनिरहेको छ । बजारमा खुलेयाम रूपमा चर्को ठगी हुँदासमेत सरकारीको उपस्थिति नभएको भन्दै आमउपभोक्ताहरू आक्रोशित बनेका छन् ।

महँगी नियन्त्रणका लागि सशक्त अनुगमन गर्न नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य विभागको भूमिकामाथि नै प्रश्न सिर्जना भएको छ ।

‘अचाक्लीको महँगीले हैरान भएका छौं, यस्तो अवस्थामा सरकारी निकाय सुतेर बस्नु घोर विडम्बना हो,’ काठमाडौं माछापोखरीकी रीता लामाले भनिन् ।

साता दिनभित्रै तरकारीको मूल्य तेब्बरले वृद्धि भएकाले आफूहरू तरकारी किनेर खानै नसक्ने अवस्थामा पुगेको लामाको गुनासो छ । लामा प्रतिनिधि पात्र मात्रै हुन् । यस्तै, समस्याबाट आम उपभोक्ताहरू सताइएका छन् ।

जथाभावी मूल्य वृद्धि हुँदा समेत बजारमा सरकारको उपस्थिति नभएकै कारण व्यापारीले त्यसको फाइदा लिएर उपभोक्तामाथि आर्थिक शोषण गरेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘व्यापारीले वर्षा र बाढी पहिरोको बहानामा हरियो तरकारीको मूल्य तेब्बरसम्म बढाएर उपभोक्ता ठग्दै आएका छन्,’ उनले भने, ‘बजारमा सरकारको उपस्थिति नहुँदा व्यापारीले फाइदा लिएका हुन्’ ।

तिमिल्सिनाका अनुसार जसरी बजारमा व्यापारीले मनपरी तरकारीको मूल्य दोब्बर तेब्बर लिइरहेका छन् । ‘त्यो हिसाबले तरकारीको मूल्य बढ्ने अवस्था छैन । वर्षाले केही मात्रमा तलमाथि भए पनि त्यति धेरै बढ्दैन, यो सरकारी निकायको मौनताका परिणाम हो,’ अध्यक्ष तिमिल्सिनाले भने । सरकारले नियमित रूपमा बजार अनुमगन नगर्ने र गरिहाले पनि प्रभावकारी र पारदर्शी नहुने उपभोक्ता अधिकारीकर्मीको अनुभव छ । उनीहरूका अनुसार व्यापारीले बर्सेनि यस सिजनमा विभिन्न बहाना बनाएर दैनिक उपभोग्य वस्तु तथा हरियो तरकारीमा मूल्य बढाएर अस्वाभाविक रूपमा पैसा असुल्दै आएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले पनि बजारमा सरकारी निकायको उपस्थिति न्यून भएकै कारण व्यापारीले दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्ने गरेको स्विकारिन् ।

बजार अनुगमन गर्ने अधिकार प्राप्त निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हुन् । तर, यी सरोकारवाला निकायको प्रभावकारी अनुमगन र समन्वय नहुँदा उपभोक्ता ठगिनुपरेको सहायक प्रवक्ता केसीको स्विकारोक्ति छ । बजारमा प्रभावकारी अनुगमन गरी बदमासी नियन्त्रण गर्न वाणिज्य विभागलाई निर्देशन दिइएको सहप्रवक्ता केसीले बताइन् ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले केही दिनदेखिको अविरल वर्षाका कारण व्यापारीले हरियो तरकारीको मूल्य बढाएको बताए । उनले भने, ‘हामीले अहिलेसम्म बढेको तरकारीको मूल्यलाई लिएर अनुमगन गरेका छैनौं । बजारमा तरकारी निरन्तर आइरहँदा पनि मूल्य कम नभएपछि अब भने हामी बजार अनुगमन गर्ने तयारीमा छौं ।’
(राजधानी दैनिकबाट)

ताजा खबर