वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

२०७७ श्रावण १६ शुक्रबार ०७:५२:०० मा प्रकाशित

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका  ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो । नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो । 

ज्वरो आएपछि साउन ५ गते उनलाई तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।साउन १३ गते नै उपचारका क्रममा उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । 

पीसीआर रिपोर्ट नआउँदै बिहीबार बेलुकी पौने ८ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए । उनमा निमोनीयाको जस्तै लक्षण देखिएको र स्वास्थ्य अवस्था पनि जटिल रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको डाक्टर  सिंहले जानकारी दिए ।  बेलुकी पौने ८ बजे मृत्यु भएका उनको प्रयोगशालाबाट राति साढे १० मात्रै उनको पोजिटिभ रिपोर्ट आएकोनारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । 

यस्तै वीरगन्ज–२ छपकैयामा बिहीबार बिहान आफनै घरमा मृत्यु भएका ७० वर्षीय वृद्धमा पनि कारोना संक्रमण भएको पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजे प्राप्त रिपोर्टमा मृतक वृद्धमा कोरोना संक्रमण रहेको मेसु उपाध्यायले पुष्टि गरेका हुन् । 

छपकैया स्थित घरमा एक्लै बस्दै आएका ती वृद्ध  बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । राति सुतेका उनी बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए । 
 वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको मुल ढोका तोडेरभित्र पस्दा वृद्ध आफनै कोठामा मृत अवस्थामा भेटिएका थिए ।  त्यसपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो । बिहिबार राति १० बजे उनको पिसिआर रिपोर्ट पोजेटि आएको मेसु उपाध्यायले जानकारी दिए । 

योसंगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १२ पुगेको छ । वीरगन्जमा कोरोनाका कारण साउन यता मात्रै ९ जनाको मृत्यु भएको हो । 
 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतका अनुसार वीरगन्जमा कोरोनाका कारण अहिले सम्म  मृत्यु भएका १२ संक्रमीत मध्ये पर्साका ८ , बाराका  २ र रौतहटका १ जना हुन् ।

 वीरगन्जमा २ महिना पहिले वेवारिसे भेटिएका एक संक्रमितको भने अहिले सम्म पनि पहिचान खुल्न सकेको छैन । 
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर