विराटनगर र वीरगञ्जमा थप दुई सङ्क्रमितकाे मृत्यु, बुधबार मृतक सङ्ख्या तीन पुग्याे

२०७७ श्रावण १५ बिहीबार ०७:५८:०० मा प्रकाशित

वीरगञ्ज, साउन १४ गते । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षीय पुरुष व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बुधबार बिहान ३ बजे मृत्यु भएका ती व्यक्तिमा पनि कोरोना सङ्क्रमण देखिएको पुष्टि गर्नुभयो ।

यसअघि नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान पौने ११ बजे एकजना उपचाररत सङ्क्रमितको मृत्यु भएको थियो ।यसरी बुधबार पर्साको वीरगञ्जमा मृत्यु हुने सङ्क्रमितमा वीरगञ्ज-६, गहवाका ७० वर्षीय पुरुष र वीरगञ्ज-५, रेशमकोठी ६८ वर्षीय पुरुष रहेका छन् । गहवाका मृतकको बुधबार बिहान ३ बजे मृत्यु भएपनि पीसीआर रिपाेर्ट कोरोना पोजेटिभ भनी साझ मात्र आएको थियो भने अर्का बुधबार बिहान पौने ११ बजे मृत्यु भएका ६८ वर्षीय व्यक्ति भने कोरोना सङ्क्रमण पुष्टि भएर पाँच दिनदेखि गण्डक अस्थायी कोभिड विशेष अस्पतालका उपचाररत हुनुहुन्थ्यो ।

नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा नै मृतककाे शव राखिएको र शव व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो । त्यस्तै, गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका ६८ वर्षीय सङ्क्रमितको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । मङ्गलबार वीरगञ्जबाट पाँच जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो ।

शुक्रबारदेखि अस्पतालले भर्ना नलिएपछि मङ्गलबार अस्पतालमा भर्ना, बुधबार मृत्यु भएपछि कोरोना पुष्टि
मृत्यु पछि कोरोना पुष्टि भएका ७० वर्षीय व्यक्तिकाे गत आइतबार ११ बजे नारायणी अस्पतालमा पीसीआर परीक्षणको लागि स्बाव नमुना लिईए पनि रिपाेर्ट बुधबार साझ मात्र आएको हो ।
पहिलेदेखि उच्च रक्तचाप र थाइराइडका रोगी रहेका ती व्यक्तिलाई झाडापखालाको समस्याले अवस्था खराब भएपछि गत शुक्रबार राति १० बजे वीरगञ्ज हेल्थकेयर अस्पतालमा लगिएको थियाे । तर अस्पतालले भर्ना नगरी आकस्मिक कक्षमा नै चेकजाँच गरी औषधि दिएर घर पठाएको थियो । पीसीआर रिपाेर्ट माग गर्दै अस्पतालले भर्ना नगरेपछि शनिबार बिहान ती व्यक्तिलाई तराई हस्पिटलमा लगियाे । त्यहाँ पनि अस्पतालले भर्ना नलिई आकस्मिक कक्षबाटै गण्डक कोभिड अस्पतालमा लैजान भनी बिदा गरिदिएकाे मृतकका परिवार बताउँछन् ।

मृतकका छाेराका अनुसार गण्डक कोभिड अस्पतालले पीसीआर रिपाेर्ट नभएसम्म भर्ना नगर्ने भनेपछि गण्डकमा नै रहेको वयोधा अस्पतालमा लगियो । वयोधा अस्पतालले पनि पीसीआर रिपाेर्ट बिना भर्ना गर्न नसकिने भएपछि आकस्मिक कक्षमा सामान्य उपचार गरी शनिबार राति ११ बजे नारायणी अस्पतालमा पुर्याईएको थियाे । नारायणी अस्पतालले पनि आकस्मिक कक्षमा नै राखेर भोलि ११ स्बाव परीक्षणका लागि ल्याउन भन्दै बिरामीलाई घर जान भनेपछि बिरामीलाई घर लगियो । पीसीआर रिपाेर्ट आएपछि अस्पताल भर्ना गर्ने पर्खाइमै रहँदा मङ्गलबार बिरामीको अवस्था जटिल भएपछि पर्साका प्रहरी उपरीक्षकको सिफारिसमा नेशनल मेडिकल कलेजमा भर्ना गरी उपचार सुरु गरिएकाे थियाे । त्यहीँ बुधबार बिहान ३ बजे बिरामीको निधन भएको मृतकका छोराले गोरखापत्रलाई बताउनुभयो ।

अस्पतालहरूले मानवता बिर्सिएका र नराम्रो व्यवहार गरेको गुनासो उनीहरूको छ । समयमा उपचार नपाएर आफ्नो बुबाको निधन भएको उनीहरूको दाबी छ । बिहान ३ बजे मृत्यु भए पनि रिपाेर्ट पाउन ढिला भएकाे बताए ।  


विराटनगरबाट धरान रेफर गरिएका सङ्क्रमितको मृत्यु
यसैबीच, हाम्रा समाचारदाता नवराज कट्टेलका अनुसार जटिल समस्या देखिएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएका एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल विराटनगरबाट बुधबार दिउँसो धरान रेफर गरिएका मोरङ सुनवर्सीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको बीपीको भेन्टिलेटरमा राखिएपछि अपरान्ह ४ः४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभएको छ ।

दश दिनअघि भारतमा भएको ससुरालीबाट घर फर्किनुभएका उहाँ मङ्गलबार कोशी अस्पतालको फिभर क्लिनिकमा परीक्षणका लागि आउनुभएको कोशीका फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । ज्वरो तथा खोकीको समस्या देखिएपछि कोशीको आइसोलेसनमा भर्ना गरिएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मङ्गलबार कोरोना पोजिटिभ पुष्टि भएको थियो । बुधबार जटिल समस्या देखिएपछि धरान रेफर गरिएको डा. यादवले जानकारी दिनुभयो ।

विराटनगरमा थप कडाइ
यसैबीच, विराटनगर महानगरपालिका क्षेत्रमा बिहीबारदेखि हिँडडुल र यातायातका साधन सञ्चालनमा थप कडाइ गरिने भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधबार बसेको बैठकले भीडभाड नियन्त्रण गर्ने र स्वास्थ्य सावधानी कार्यन्वयनमा कडाइ गर्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित छलफलमा सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाे अवस्थामा लकडाउन गरेर आवातजावतमा पूर्ण रोक लगाउनुपर्ने अवस्था आउनेसक्ने विषयसमेत उठेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार लकडाउन गर्नुपूर्व सावधानीका लागि केही चरणका कार्यहरू गरेर आवश्यक पर्दा तत्काल निर्णय लिने विषयमा छलफल भएको हो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर