हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखियो : मणि थापा

२०७७ श्रावण १५ बिहीबार ०७:४४:०० मा प्रकाशित

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारेका छन् । उनले भने,‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आईपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढुछ ।’

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै थापाले आफू कुनैपनि गुटमा नभएको जिकिर गरे । उनले भने,‘म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’ उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भएपनि पार्टी फुटको चरणमा नभएको दाबी गरे । उनले भने,‘हाम्रो पार्टी फुटको चरणमा छैन् । तर, शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कुनै वैचारिक होईन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।’

साक्षात्कारमा बोल्दै थापाले हिजोको बैठकमा आफू अनुपस्थित् भएको पनि सुनाए । उनले भने,‘दुइृ अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित् भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गईनँ । तर, हिजो बालुवाटारमा बसेको स्थायी कमिटीको मिटिङको बारेमा मेरो विरोध छैन् ।’

हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याईसकेको पनि उनले जानकारी दिए । उनले भने,‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ ।’ वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अनुपस्थित् भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको उनको दाबी छ । उनले भने,‘यसअघि वामदेव कमरेड अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबाट प्रस्तुत हुनुभएको थियो । तर, हिजो उहाँले ६ बुँदे प्रस्ताव ल्याएसँगै नेकपाको शक्ति समिकरणमा थोरै चेन्ज ल्याएको छ । सचिवालयको समिकरणमा पनि चेन्ज आएको छ ।’

उनले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको विश्वास व्यक्त गरे । उनले भने,‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ।’ एकताको मर्मपनि पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र महाधिवेशनसम्म दुवै अध्यक्ष रहने भन्ने रहेकोले अहिले पार्टी सोही दिशामा आईपुगेको उनको तर्क छ । उनले भने,‘मेरो पनि यही धारणा हो । पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कमरेड कार्यकारी अध्यक्षको भूमिका रहने, चैत्रमा एकता महाधिवेशन्न सम्पन्न गर्ने हो । यो भनेको आम धारणा पनि हो ।’
(राजधानी दैनिकबाट)

ताजा खबर