देउवाले गरे 'ज्येष्ठ राजनीतिज्ञ सभा'मा ४७९ जनालाई मनोनित

२०७७ श्रावण १५ बिहीबार ०६:४४:०० मा प्रकाशित

काठमाडौँ — बरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टीका विभागहरुमा भएका मनोनयनहरु विधानविपरित भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा बैठक गरिरहेका बेला सभापति शेरबहादुर देउवाले फेरि अर्को मनोनयन गरेका छन् । त्यो पनि एकैपटक ४७९ जनालाई । 

ज्येष्ठ राजनीतिज्ञ सभामा सभापति देउवाले नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम सदस्य मनोनित गरेको केन्द्रीय कार्यालयका सचिवले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यो सभामा मनोनित हुनेमा दुई पूर्व सभामुख दमननाथ ढुंगाना र तारानाथ रानाभाट पनि छन् । देउवाइतर समूहले विधानले ६ महिनामा गठन गर्नुपर्ने भनी तोकेका विभाग र समितिहरुमा देउवाले महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि मनोनयन गरेर महाधिवेशनलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको छ ।

बुधबार बसेको बरिष्ठ नेता पौडेल र महामन्त्री सशांक कोइरालासहितको बैठकले सभापतिले विधान विपरित गरेका नियुक्ति र मनोनयनलगायतको विरोध उनलाई भेटेरै गर्ने निर्णय गरेको थियो ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर