भारतबाट बल्लबल्ल चार्टर उडान, त्यो पनि आधा खाली !

२०७७ श्रावण १५ बिहीबार ०६:३५:०० मा प्रकाशित

नयाँदिल्ली — कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण दक्षिण भारतको बेंग्लोरमा अलपत्र परेका ८१ जना यात्रु राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (एनएसी) को चार्टर उडानबाट स्वदेश फर्केका छन् ।

कोरोना महामारीका कारण चैत दोस्रो सातादेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि भारतमा अलपत्र परेका नेपालीका लागि पहिलो चार्टर उडान गरिएको हो ।

 

बेंग्लौरबाट स्थानीय समयअनुसार करिब चार बजे एनएसीको न्यारो बडी ८१ जना नेपालीहरु लिएर काठमाडौं उडेको थियो । उडानमा बेंग्लोरमा अध्ययनरत नेपाली विद्यार्थी र लकडाउनका कारण रोकिएका थिए । निगम स्रोतका अनुसार टिकटखर्च सबै यात्रुहरु आफैले बेहोरेका छन् । बेंग्लोरदेखि काठमाडौंसम्मको करिब तीन घन्टा लामो उडानका लागि ४० हजार ९६० रुपैयाँ भाडा निर्धारण गरिएको थियो । निगमका अनुसार ८१ यात्रुमध्ये दुई जनाले बिजनेस क्लास र बाँकी ७९ जनाले इकोनोमिक क्लासमा यात्रा गरेका थिए ।

उडानका लागि बेंग्लौरमै रहेका नेपाली विद्यार्थीहरुले नै सुरुमा पहल गरेका हुन् । दक्षिण भारतका बेंग्लोर, चेन्नईलगायतका सहरमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् । लकडाउनका कारण रोकिएका तिनै विद्यार्थीमध्ये केहीले स्वदेश फर्कनका लागि उडानको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका थिए । त्यही आग्रहअनुसार नै सरकारले भारतका लागि पहिलो चार्टर उडानका लागि अनुमति दिएको हो ।

समन्वय अभावले उडान आधा खाली

सरकारको समन्वय अभाव र दिल्लीस्थित नेपाली दूतावासले उडानका लागि पर्याप्त सूचना प्रवाह नगर्दा बेंग्लोरको चार्टर उडानबाट निगमलाई घाटा भएको छ । चार्टर उडानकै लागि भनेर एनएसीको न्यारोबडी बुधबार रित्तै बेंग्लोर पुगेको हो । निगमका कर्मचारीहरुले फर्किँदा भने पर्याप्त यात्रु पाउने अपेक्षा गरेका थिए । तर, यात्रुहरुको अन्तिम सूची देखेपछि उनीहरु निराश बन्न पुगे । उडानका सम्बन्धमा समयमै जानकारी नहुँदा १५८ सिट क्षमताको न्यारोबडी जहाज करिब आधा यात्रुमै सीमित हुनु परेको छ ।

सुरुमा चार्टर विमानका लागि १५५ विद्यार्थीले नाम लेखाएको हुँदा उनीहरुबाटै करिबकरिब जहाज भरिने अपेक्षा गरिएको थियो । तर, पहिले नाम लेखाउने विद्यार्थीहरुमध्ये २५ जनाले मात्र टिकट काटेपछि जहाज नै रित्तो हुने हो कि भन्ने चिन्तामा परेका थिए निगमका कर्मचारीहरु । बाँकी पचासभन्दा बढी सिट निगमकै बेंग्लौरस्थित स्थानीय एजेन्टकै सम्पर्कका भरमा टिकट जारी भयो । तर, पनि विमान करिब आधा यात्रुमात्र लिएर काठमाडौं पुगेको छ । । जसका कारण निगमले अनावश्यक घाटा बेहोर्नु परेको छ ।

एकातिर अझै पनि हजारौं नेपालीहरु लकडाउनका कारण भारतमै रोकिने तर, बल्लबल्ल भएको एकमात्र चार्टर उडान पनि आधा खाली हुनुमा दूतावास र सरकारबीचको समन्वय अभाव मुख्य जिम्मेवार रहेको देखिन्छ । निगमकै अधिकारीहरुले पनि दूतावासले समयमै नेपालीहरुका लागि सम्बोधन गर्दै सूचना जारी गरिदिएको भए जहाज सहजै भरिने अवस्था रहेको दाबी गर्छन् । तर, दिल्लीस्थित दूतावासका प्रवक्ता हरि ओडारीले भने दूतावासले निगमको उडानका लागि भारतीय निकायसँग समन्वय मात्र गरेको र टिकटको बिक्रीका सम्बन्धमा निगम नै जिम्मेवार रहेको बताए । तर, दूतावासले भारतमा अलपत्र परेका नेपालीहरुका लागि निगमको उडान हुँदैछ भनेर दूतावासका तर्फबाट सार्वजनिक सूचना किन जारी नभएको भन्दै प्रश्नमा भने उनले केही बताउन चाहेनन् ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेका दिल्ली र मुम्बईलगायतका सहरबाट उडानका लागि पहल नगरेर बैंग्लौरका लागि मात्र पहल गरेकोमा विषयलाई लिएर समेत दूतावासको आलोचना सुरु भएको छ । यस विषयमा पनि प्रवक्ता ओडारीले केही बेल्न चाहेनन् ।

लकडाउनका कारण भारतमा रोकिएका सयौं बिरामी, विद्यार्थी, तीर्थयात्रु र ज्येष्ठनागरिकहरुका लागि उद्धार वा चार्टर उडान गर्नुपर्ने माग प्रवासी नेपाली संगठनहरुले पनि गर्दै आएका थिए । त्यसका लागि दूतावासले स्वदेश फर्कन चाहनेहरुको प्रारम्भिक सूची पनि तयार पारेको थियो । तर, पछि दूतावासले त्यसप्रति चासो देखाएन । सरकारले असारको पहिलो साता नै विदेशमा अलपत्र रहेका नेपालीहरुका लागि उद्धार उडान गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई आधार बनाएर निगमले दिल्ली, मुम्बई र बेंग्लौरका लागि भाडा पनि तय गरेको थियो । तर, अन्य खाडीलगायत अन्य मुलुकमा दर्जनौं उद्धार उडान भइसक्दा पनि भारतका लागि भने उडान तय गरिएको थिएन ।

तर, पछिल्लो सय भारतमा कोभिड–१९ को संक्रमण बढ्दै गए पछि भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग चर्को गरी उठाउन थालेका थिए । तिनै विद्यार्थीहरुमध्ये बेंग्लोरमा रहेका केहीले नेपाल फर्कन चाहनेहरुको सूची तयार गरेर दिल्लीस्थित नेपाली दूतावास र सिधै सरकारलाई पठाए । उनीहरुले पठाएको १५५ जना विद्यार्थीको सूचीको आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले एनएसीलाई चार्टर उडानका लागि गत बिहीबार अनुमति दिने निर्णय गरेको थियो ।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयबाट चार्टर उडानका लागि अनुमति पाएपछि एनएसीले गत सोमबारका लागि उडान तय गरेको थियो । तर, दिल्ली दूतावासमार्फत् भारतको विदेश मन्त्रालयबाट अनुमति लिनेसम्मको प्रक्रिया नटुंगिएपछि उडानलाई बुधबारका लागि सारियो । सोमबार अनुमति आउने भनिएकोमा मंगलबार बिहानसम्म त्यसको टुंगो नलागेपछि बुधबारको उडनका सम्बन्धमा अन्यौल सिर्जना भएको थियो । तर, मंगलबार अपरान्ह भारतीय विदेश मन्त्रालयले अनुमति दिएपछि मात्र उडान निश्चित भएको हो । तर, त्यही उडान पनि दूतावास र सरकारले समयमै आवश्यक पहल नगर्दा आधा यात्रुमै सीमित भएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर