युभेन्टस दुई खेल अगावै च्याम्पियन

२०७७ श्रावण १४ बुधबार ०८:१४:०० मा प्रकाशित

टुरिन । इटालियन जाइन्ट युभेन्टस दुई खेल बाँकी छँदै इटालियन सिरी ‘ए’को च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा आइतबार राति भएको खेलमा साम्पडोरियामाथि २–० को सहज जित निकाल्दै युभेन्टस च्याम्पियन बनेको हो । युभेन्टस लगातार नवांै सिजन सिरी ‘ए’को च्याम्पियन बन्न सफल भएको हो ।

युभेन्टसलाई च्याम्पियन बनाउन सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । रोनाल्डोले एक पेनाल्टीमा गोल गर्न सकेनन् । घरेलु मैदानमा युभेन्टसले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । मिरोलम प्यानिचको उत्कृष्ट सेट पिस पासमा रोनाल्डोले बटम राइट कर्नरमा गोल गर्न सफल भएको थियो । ५२औं मिनेटमा साम्पडोरियाका जाकुव जान्कटुले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ६७औं मिनेटमा फेडरिको बर्नरडेस्चीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

पेनाल्टी बक्सबाहिरको रोनाल्डोको सशक्त प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले राम्ररी नियन्त्रणमा लिन नसकेको बलाई फेडरिकोले रिवाउन्डमा गोल गर्न सफल भएका थिए । ७७औं मिनेटमा साम्पडोरिया १० खेलाडीमा समेटियो । मिरालेम प्यानिचमाथि फउल गरेपछि रेफ्रीले मोर्टेन थोर्सवीलाई दोहोरो पहेंलो कार्ड देखाउँदै मैदानबाहिर पठाए । ८८औं मिनेटमा युभेन्टसले पेनाल्टी पाए पनि रोनाल्डोले सदुपयोग गर्न सकेन ।

एलेक्स सान्द्रोलाई डिपाओलीले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोको प्रहार क्रसबारमा लागेर बाहिरिएको थिए । च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७६ अंक रहेको छ । पराजित साम्पडोरिया ४१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

यता, युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोवाइलले ह्याट्रिक पूरा गरेपछि लाजियोले इटालियन सिरी ‘ए’मा हेलास भेरोनामाथि ५–१ को फराकिलो जित निकालेको छ । सेर्गेज मिलिन्किोभिक साभिक र जोआक्विन कोरेराले पनि गोल गरे । घरेलु टोलीका सोफ्यान अम्राबाटले एक गोल फर्काए ।

सिरोले पहिलो हाफको अन्तिम समय, ८४औं मिनेट र अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे । भेरोनाविरुद्ध ह्याट्रिक पूरा गरेसँगै सिरो युरोपियन गोल्डेन बुटको दौडमा सबैभन्दा अघि उभिएको छ । उनले यो सिजन सिरी ‘ए’मा ३४ गोल पूरा गर्दै जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीसँगको गोललाई बराबरी गरेका छन् ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डोले ३१ गोल पु-याएका छन् । जितपछि लाजियोले ३६ खेलबाट ७५ अंक जोडेर तेस्रो स्थानको एटलान्टासँगको अंक बराबरी गरेको छ । पराजित भेरोना ४६ अंक जोडेर नवौं स्थानमा छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर