जोडियो ६७ वर्षअघि टुटेको नाता

२०७७ श्रावण १४ बुधबार ०७:२४:०० मा प्रकाशित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापासहितका नेता मंगलबार कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच पार्टी सदस्यता हस्तान्तरण गरेर कांग्रेसमा स्वागत गरेका हुन्। उनीसँगै राप्रपाबाट १२ नेता कांग्रेसमा प्रवेश गरेका हुन्।

थापालाई कांग्रेस सहमहामन्त्री र पाँचजनालाई केन्द्रीय सदस्य दिने सहमति भएको बताइए पनि यसको औपचारिक घोषणा भने गरिएको छैन। कांग्रेस प्रवेश कार्यक्रममा थापाले २०१० सालमा टुटेको कांग्रेससँगको नाता ६७ वर्षपछि जोडिएको बताएका छन्। उनले कांग्रेससँग नाता जोडिँदा गौरवको अनुभूति भएको भन्दै खुसी व्यक्त गरे। उनले बुवा सूर्यबहादुर थापा २०१० सालमा धनकुटा कांग्रेसको सभापति भएको स्मरण गरे। ‘म फेरि नेपाली कांग्रेससँग टुटेको नाता जोड्न आएको छु। पूर्वप्रधानमन्त्री बुवा २००८ सालमा विराटनगरको नेपाली कांग्रेसको कोषाध्यक्ष भएको र पछि धनकुटाको प्रथम सभापति भएको सुनेको छु। मेरो प्रवेशले त्यो पुरानो टुटेको साइनोलाई जोडेको हँु’, थापाले भने। उनले कांग्रेसमा कुनै नेताको भाग खोस्न प्रवेश नगरेको स्पष्टीकरण दिए। ‘म कसैको भाग खान कांग्रेसमा आएको होइन, लोकतन्त्रलाई बलियो बनाउन साथ दिन आएको हुँ’, उनले भने, ‘यो नाता बलियो हुने विश्वास लिएको छु।’

थापाले भने देशभरका राप्रपाका कार्यकर्तालाई कांग्रेस प्रवेश गर्न आग्रहसमेत गरे। बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र सूर्यबहादुर थापाको परिवर्तनलाई आत्मसात् गर्ने विचारको संगममा खडा भएर कांग्रेसमा प्रवेश गरेको पनि थापाले बताए। उनले राप्रपा छाडेर जान नहुने सुझावका बाबजुद कांग्रेसमा प्रवेश गरेको जनाए। ‘कतिले बुवाले खोलेको पार्टी छोड्नु हुँदैन भन्ने सुझाव दिए तर त्यसबेला उहाँले अवलम्बन गरेको सिद्धान्तबाट विचलित भएकाले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छौं’, उनले भने। दुई वर्षअघि सम्पन्न संघीय निर्वाचनकै बेला थापासहित राप्रपाका प्रभावशाली नेता विक्रम पाण्डेलगायत कांग्रेस प्रवेश गर्ने चर्चा थियो। कांग्रेससँग पदमा कुरा मिलेपछि शनिबार थापासहित तीन दर्जनभन्दा बढी नेताले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए। उनीहरूलाई कांग्रेस प्रवेशका लागि छलफल गर्ने जिम्मा सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई दिएका थिए।

महिनौं दिनदेखिको छलफलपछि पार्टी प्रवेशले सार्थकता पाएको निधिले बताए। ‘सभापति देउवा र सुनीलजीबीच लामो समयदेखि यो विषयमा छलफल भइरहेको थियो। सभापतिले मलाई यसलाई टुंगोमा पु¥याउने जिम्मेवारी दिनुभयो’, उनले थपे, ‘हामीबीच कोरोना संक्रमण नहुँदै छलफल भएको थियो। आज त्यो खुसीको दिन आएको छ।’ देउवाले पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई कुनै भेदभाव नगरिने भन्दै आश्वस्त पारे। ‘यो पार्टी अब तपाईंको पनि हो, अरू कांग्रेस नेताजस्तै तपाईंको पनि अधिकार छ’, उनले नवप्रवेशीलाई भने, ‘तपार्इंहरूलाई यहाँ कुनै भेदभाव हुने छैन।’ देउवाले लोकतन्त्र बलियो बनाउन सबै लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो रहेको बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्थामाथि विभिन्न शक्तिहरूबाट चुनौती सिर्जना भइरहेको उल्लेख गर्दै त्यसका लागि कांग्रेस बलियो बन्नुपर्नेमा जोड दिए। ‘७० वर्षदेखिको संघर्षपछि हामीले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान ल्याएका छौं। स्थापित व्यवस्था र पद्धतिलाई कमजोर बनाउन सरकार र सत्तारूढ दल नै सक्रिय छ,’ उनले भने, ‘तिनीहरूलाई पनि संविधानको बाटोमा ल्याउनु कांग्रेसको मूल ध्येय हो। सामाजिक न्यायसहितको लोकतन्त्र र समृद्धि ल्याउनुपर्छ।’ उनले लोकतन्त्र बलियो बनाउन राप्रपा परित्याग गरेर नेताहरू कांग्रेसमा समाहित भएकोमा खुसी व्यक्त गर्दै सबैलाई सम्मान गरेर जान नवप्रवेशीलाई आग्रह गरे। ‘पार्टीका साथीका भावनालाई आत्मसात् गर्दै सबैसँग हार्दिकताका साथ अघि बढ्नुहोला। तीसौं वर्ष जेलनेल भोगेका, दुःखकष्ट सहेका साथीहरूको योगदानलाई सम्मान गर्दै अगाडि बढ्नु हुनेछ’, उनले भने।

प्रवेश गर्नेमा रामकृष्ण भट्टराई, विश्वविक्रम थापा, बाबुराम बस्नेत, वृषलाल यादव, दिलीप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम साह, डा. सुरेश बस्नेत, प्रतिमा राणा क्षेत्री, नारायण राउत र इन्द्रबहादुर तामाङ छन्। थापासहित ३१ नेताले शनिबार नै राप्रपा परित्याग गरेका थिए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर