लकडाउन खुलेपछि जोखिम उच्च

२०७७ श्रावण १४ बुधबार ०७:१९:०० मा प्रकाशित

काठमाडौं : काठमाडौं उपत्यकामा संक्रमितको संख्या फेरि हवात्तै बढेको छ। लकडाउन खुला भएको एक साताभित्रै मंगलबार उपत्यकामा मात्रै ५३ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्।

मंगलबार २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिए। संक्रमित प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्मका छन्। कडायतले भने, ‘केही प्रहरीलाई सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखियो। त्यहीं बेला प्रत्यक्ष एवं अप्रत्यक्ष सम्पर्कमा आएका अन्यलाई पनि सरेको हुन सक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौका ११ र भक्तपुरका एक जनामा संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका नौ जना, ललितपुरका एक जना छन्। त्यस्तै पाटन अस्पतालमा ललितपुरका एक जना छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौंका एक जना छन्। ललितपुरको सानेपास्थित निजी स्टार अस्पताल काठमाडौंका ६ जना र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ।

उपत्यका भित्रिने तीनवटा नाकाबाट कोभिड १९को स्याम्पलिङ्गका लागि नमूना संकलन भइरहेको प्रवक्ता डा. गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंको फर्पिङ नाकाबाट नौ सय ५५ र नागढुंगाबाट दुई हजार नौ सय १४ र काभ्रेको साँगाबाट नौ सय ४४ सहित चार हजार आठ सय १३ पीसीआरको नमूना संकलन गरिएको छ। लकडाउन खुकुलो हुनु अघि गत असार ३१ देखि साउन ६ गतेसम्म ३० हजार ९६ जनाको पीसीआर जाँच गरिएको थियो। जसमध्ये नौ सय ३३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। साउन ७ गतेदेखि १३ गतेसम्म जम्मा २८ हजार ७२ नमुना परीक्षण भएकोमा एक हजार ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। लकडाउन खुलेसँगै जनजीवनमा परिवर्तन आएकोले संक्रमण बढेको डा. गौतमले बताए। ‘लकडाउन खुले पनि जोखिम यथावत नै छ। कोरोनाको जोखिम रहेसम्म आनीबानीमा सावधानी अपनाउनु पर्छ’, उनले भने।

समुदायमा नफैलिएको दाबी

कोरोना संक्रमण समुदायमा फैलिनसकेको स्वास्थ्य मन्त्रालयले दाबी गरे पनि क्वारेन्टाइन बाहिर र ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा संक्रमण देखिएकोले संक्रमण समुदाय तहमा पुगेको विज्ञहरूको ठहर छ।

हालसम्म नेपालमा कोरोना समुदायमा फैलिसकेको प्रमाणित नभएको बताउँदै डा.गौतमले भने, ‘मुलुकका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिएका छन्। तर, संक्रमण समुदायमा फैलिसकेको प्रमाणित भइसकेको छैन।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भाइरसको फैलावटको वर्गीकरण अनुसार ठाउँ विशेषमा कोभिड १९ का केस भएको मुलुकको सूचीमा नेपाललाई राखेको छ। नेपालमा कोरोना संक्रमणको पहिलो पुष्टि गत माघ ९ गते भएको थियो। संक्रमणको अवस्था स्थिर रहँदै ठाउँ विशेषमा मात्र सीमित रहेको स्वास्थ्य मन्त्रालयको भनाइमा स्वतन्त्र विज्ञहरूको फरक तर्क छ।

उनीहरू कोरोना संक्रमण तेस्रो चरणमा पुगेको संकेतका रूपमा लिन्छन। सीमित व्यक्तिमा परीक्षण गरिएकोले त्यसलाई आधार बनाएर डब्लूएचओ र सरकारले समुदायमा नफैलिएको दाबी गरेको जन स्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन्। उनी भन्छन्, ‘पीसीआर परीक्षण एकदमै सीमित छ। त्यसलाई आधार बनाएर ‘लोकलाइज ट्रान्ससिसन’ भनिएको हो।

क्वारेन्टाइन बाहिर पनि लक्षणयुक्त र लक्षणविहिन संक्रमित फेला परेकोले परीक्षण दायरा बढाउनु पर्छ।’ समुदायमा तहमा अझै व्यापक रूपमा पीसीआर परीक्षण नभएकोले मन्त्रालयको दाबीमा आशंका गर्ने ठाउँ रहेको वरिष्ठ आइसीयु विशेषज्ञ डा. अर्जुन कार्की बताउँछन्। उनी भन्छन्,‘ लक्षणविहिन संक्रमित पनि देखिरहेकोले समुदायमा फैलिएको हुन सक्ने प्रबल आशंका छ। अहिले ठाउँ विशेषमा छिटपुट ठहर भए पनि समुदायमा फैलिएको भनिहाल्न तथ्यांक अभाव छ।’

हालसम्म १९ हजार ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। निको भएर हालसम्म १३ हजार आठ सय ७५ जना घर फर्किएका छन्। अझै विभिन्न क्वारेन्टाइनमा १५ हजार तीन सय ३१ जना छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। पछिल्लो चौबीस घण्टामा एक सय २१ जना उपचारपछि डिस्चार्ज भएका छन्।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर