१४औं महाधिवेशन: कांग्रेसमा तीन गुट, आठ आकांक्षी

२०७७ श्रावण १३ मंगलबार ०८:१२:०० मा प्रकाशित

काठमाडौं । आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ ।

कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय कांग्रेसको पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमार्फत गरिसकेको छ ।

केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । पछिल्लो पटक देउवाले पार्टीका विभाग गठन गर्दै सदस्यहरू समेत धमाधम थपिरहेका छन् । देउवाले थप गरिएका सदस्यहरूसँग पुनः एक पटक सभापतिको आकांक्षा देखाएको बताइएको छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । तर, उनी आफैंले भने सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । नेता पौडेलले अनामनगरमा रहेको एक घरलाई भेटघाट गर्ने थलो बनाइसकेका छन् ।

यसैगरी, १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका छन् । उनले महाराजगन्जमा भेटघाटका लागि कार्यालय नै खोलिसकेका छन् ।

यसैगरी, हाल उपसभापति रहेका विमलेन्द्र निधिले समेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिइसकेका छन् । उनले महामन्त्री डा. शशांक कोइरालालाई भेटेरै सभापतिमा आफूलाई सघाउन आग्रह गरेको कोइराला निकट स्रोतले बताएको छ । उनी हालका सभापति देउवाका विश्वास पात्रसमेत मानिन्छन् । १४औं महाधिवेशनमा देउवा आफैं उम्मेदवार भए निधिले आफू उम्मेदवार हुने नहुनेबारे छलफल गर्ने बताउँदै आइरहेका छन् ।

यसैगरी, कांग्रेसका वर्तमान महामन्त्री डा. शशांक कोइरालाले समेत आफू पार्टी नेतृत्वका लागि तयार रहेको बताउँदै आइरहेका छन् । उनले केही समयअघि उपत्यकाबाहिर आयोजना भएका कार्यक्रममै आफू उम्मेदवार बन्ने सन्देश दिएका थिए । उनी हाल संस्थापन इतर समूह मानिने पौडेल समूहमा छन् । उनले हालै भेटघाटका लागि भन्दै महाराजगन्जस्थित निवाससँगै एक घर भाडामा लिएका छन् ।

यस्तै, कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको जनाउ दिँदै आइरहेका छन् । उनीसमेत हाल पौडेल समूहमा नै छन् । उनले बिजुली बजारमा निर्वाचनका समयमा खोलेको सम्पर्क कार्यालयलाई भेटघाट थलो बनाएका छन् । यस्तै, चाक्सीबारीमा रहेको निवासमा समेत उनले भेटघाट गर्दै आइरहेका छन् ।

यसैगरी, अर्का नेता डा. शेखर कोइरालाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाइरहेका छन् । उनले कोरोना संक्रमणका बिचमा समेत उपत्यका बाहिर नेता कार्यकर्तासँगको भेटघाटलाई सामाजिक दुरी कायम गरेरै निरन्तरता दिइरहेका छन् । उनीसमेत हाल संस्थापनइतर समूहमै छन् ।

यसैगरी, कांग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी रहेको जनाउ दिएका छन् । उनले केही दिनअघि राजधानीमा भएको युवा नेताहरूको कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गरेका हुन् । उनी हाल कांग्रेसभित्र सिटौला समूहसँग निकट छन् ।

कांग्रेसको गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ मा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
(राजधानी दैनिकबाट)

ताजा खबर