डा. केसीको पुनः अनशन बस्ने चेतावनी

२०७७ श्रावण १३ मंगलबार ०७:४१:०० मा प्रकाशित

चिकित्सा सुधारका लागि संघर्ष गर्दै आउनुभएका प्रा.डा. गोविन्द केसीले विगतका सम्झौताहरु तीन दिनभित्र कार्यान्वयन नगरिए पुनः अनशन बस्ने चेतावनी दिनुभएको छ ।

उहाँले जुम्लाबाट विज्ञप्ति जारी गर्दै सरकारलाई सो चेतावनी दिनुभएको हो । डा. केसी त्रिवि शिक्षण अस्पतालबाट उमेर हदका कारण अवकास हुनुभएपछि दुर्गम जिल्लामा बसेर बिरामीको सेवा गर्दै आउनुभएको छ ।

पछिल्लो समय जुम्ला पुग्नुभएका डा. केसीले चिकित्सा सुधार र दुर्गममा मेडिकल शिक्षाका लागि विगतमा सरकारसँग भएका सम्झौताहरु तीन दिनभित्र कार्यान्वयन नगरे अनशनमा बस्ने चेतावनी दिँदै विज्ञप्ति जारी गर्नुभएको हो ।

उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसलगायत कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने माग अघि सार्नुभएको छ ।

उहाँले प्रतिष्ठानमा स्नातकोत्तर अध्ययनका लागि दिइनुपर्ने अनुमति प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको आरोप लगाउँदै उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न अनुरोध गर्नुभएको छ ।

त्यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी पठनपाठन शुरु गराउन पनि उहाँले माग राख्नुभएको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर