कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० को अवस्था गम्भीर

२०७७ श्रावण १३ मंगलबार ०७:३६:०० मा प्रकाशित

पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् ।

अस्पतालका एक कर्मचारीका अनुसार थपिने संक्रमितलाई सोमबारदेखि राख्ने ठाउँ नै छैन । अस्पतालमा शैय्या नभएपछि अहिले नै २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानीसहित राखिएको डा. निरज सिंहले जानकारी दिनुभयो ।

आइतबार संकलित स्वाब परीक्षण रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको उहाँले जानकारी दिनुभयो । थपिने संक्रमितलाई तत्काल कहाँ राख्ने भन्नेमै चिन्ता बढेको डा. सिंहले बताउनुभयो ।

कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

चार महिना अघिबाट पर्सामा कोरोना संक्रमित भेटिएका थिए । तर, महामारी नियन्त्रणका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै यतिखेर चुनौती थपिएको हो ।

कोरोना संक्रमित बिरामीको लगातार ज्यान जान थालेपछि पर्साको वीरगन्जमा स्वाब संकलनलाई तीव्रता दिइएको छ । माइस्थान, श्रीपुर, रेल्वे मावि र बिर्तालगायत चार ठाउँमा आइतबारदेखि स्वाब संकलन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार एकैदिन झन्डै ८ सय जनाको स्वाब संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलित स्वाब जम्मा हुने क्रममा नै रहेकाले यकिन भइसकेको छैन ।

पर्सामा यात्रा विवरण (ट्राभल हिस्ट्री) नै नभएका स्थानीय पनि संक्रमित हुन थालेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमित सात जनाले ज्यान गुमाइसकेका छन् ।

गम्भीर बिरामी थपिने र संक्रमितको धमाधम ज्यान गइरहँदा पनि तीन तहका सरकारबीच उचित समन्वय नभएको भन्दै पीडितका परिवारले चिन्ता व्यक्त गर्न थालेका छन । जिल्लास्थित सुरक्षा समितिका अधिकारीले नै पर्सामा अब यो महामारी कसरी नियन्त्रण गर्ने भन्नेमा आफूहरू नै अन्योलमा रहेको बताउन थालेका छन् ।

तीन तहका सरकार र मातहत रहेका संयन्त्रबीच समन्वय हुन नसक्नु सबैभन्दा जटिल समस्या भएको एक सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर