नेकपा बैठक आज : यस्तो बन्दै छ समीकरण

२०७७ श्रावण १३ मंगलबार ०७:२५:०० मा प्रकाशित

काठमाडौं : नेकपा स्थायी समिति बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ। दुवै पक्ष आआफ्नो अडानमा टसमस नभएकाले मंगलबार बोलाइएको बैठक राख्ने/नराख्ने विषयमै मतभेद हुने अवस्था देखिएको छ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ। पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद कायम छ।

स्थायी समिति बैठक मंगलबार (आज) बिहान ११ बजेका लागि तोकिएको छ। अध्यक्ष पुष्पकमल दाहाललाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक नरोक्न र प्रधानमन्त्री सहमतिमा नआए पनि पार्टी कमिटीबाटै बहुमत/अल्पमतकै आधारमा निर्णय प्रक्रियामा जान दबाब बढाएका छन्। दाहालले पनि अब प्रक्रिया नरोक्ने, पार्टीको नियमित एजेन्डामै छलफललाई फर्काउने गरी जाने धारणा नेताहरूसँगको छलफलका क्रममा व्यक्त गरेका छन्।

‘अब बैठक रोकिँदैन। मंगलबार तय गरिएको बैठक हामी बस्छौं। पार्टी एउटा निर्णयमा पुग्नै पर्ने हुन्छ। सकेसम्म सहमतिमा नभए पनि बहुमतको कुरा मान्नै पर्ने हुन्छ’, वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘पहिला अब पार्टीमा छलफल हुन्छ, त्यसमा कुनै सहमति नभए नयाँ निर्णय गरेर जानुपर्छ। त्यसका लागि परिस्थिति हेरेर निर्णय हुनेछ।’

दाहाल–नेपाल समूहले स्थायी समिति नरोक्ने तयारी गरे पनि ओली पक्षले भने अझै पनि दाहालसँगको छलफलका आधारमा मात्र मंगलबारको बैठकका विषय टुंगो लाग्ने बताएको छ। ओली पक्षका स्थायी समिति सदस्यसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले दुई अध्यक्षको छलफलका आधारमा निस्किने निर्णयअनुसार पार्टी अगाडि बढ्ने बताए।

‘मंगलबार (आज) बिहान दुई अध्यक्ष बिहान ९ बजे छलफलमा बस्नुहुन्छ। उहाँहरूले सल्लाह गर्नुहुन्छ। त्यहीअनुसार हुन्छ’, नेम्बाङले अन्नपूर्णसँग भने, ‘अहिलेसम्मको सम्पूर्ण प्रक्रिया भनेकै दुई अध्यक्षबीचको सहमतिको प्रक्रिया हो। महाधिवेशनलाई त हामीले एकता र सहमतिको महाधिवेशन भनेका छौं। अहिलेसम्म पार्टीको एकता प्रक्रिया ढिला हुनुमा पनि दुई अध्यक्षबीचको सहमति र एकता हो। त्यसैमा ढिलाइ हुँदा पार्टी एकता प्रक्रियामा ढिलाइ भएको हो। त्यसकारण हाम्रो विधि, प्रक्रिया र मान्यता भनेको सहमतिमै निर्णयमा जानु हो। त्यसैले दुई अध्यक्ष बिहान छलफल गरेर जे निष्कर्षमा पुग्नुहुन्छ, त्यहीअनुसार हुन्छ।

ओली र दाहाल गत असार १८ गतेयता निरन्तर छलफलमा छन्। ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिइरहेका छन्। दाहालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुईमध्ये एउटा पदबाट राजीनामा दिन ओलीलाई भनिरहे। त्यहीबीच साउन ३ को सचिवालय बैठकअघि दुई नेताबीच विवाद हल गर्ने उपायस्वरूप ‘अर्ली’ महाधिवेशन गर्ने, ओलीले महाधिवेशनमा दाहाललाई सहयोग गर्नेलगायत विषयमा करिब सहमति जुटेको थियो। त्यसपछि सचिवालयमा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव ल्याए। दाहाल मौन बसेरै सहमति जनाए। तर, खनाल, नेपाल र श्रेष्ठले महाधिवेशन मंसिरमै सम्भव नभएको भन्दै प्रश्न उठाए। त्यसपछि फेरि दाहाल मंसिरमै महाधिवेशन नहुने भन्दै पछि हटेका थिए। त्यसयता ६ साउनमा थोरै समयका लागि स्थायी समिति बैठक बस्यो। अनि तय भयो १३ साउनका लागि अर्काे बैठक।

९ साउनमा दाहाल–ओली एक चरण छलफलमा बसे। तर, त्यसपछि छलफलसमेत हुन सकेन। सहमति नजुटेपछि दुवै पक्ष आआफ्ना रणनीति बनाउनै लागिपरे। दाहालले वरिष्ठ नेता नेपाल, खनाल प्रवक्ता श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापासँग पटक–पटक छलफल गरे। ओलीले पनि दाहाल र नेपालनिकट प्रभावशाली नेता, केही मन्त्रीसम्मलाई अलग–अलग भेटेर छलफल गरे। आफूनिकट नेतासँगको छलफल दुवै पक्षले निरन्तर जारी राखे।

दाहालले सोमबार पनि खुमलटारस्थित निवासमा बिहान र साँझ दुईपटक खनाल, नेपाल र श्रेष्ठसँग सामूहिक छलफल गरे। गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग पनि एक्लै छलफल गरे। बेलुकी महासचिव विष्णु पौडेलसँग पनि छलफल गरे। उपाध्यक्ष गौतम भने बोलाए पनि सोमबार दाहाल निवास पुगेनन्।

दाहाल–नेपाल पक्षले ओली अनुपस्थित रहे पनि स्थायी समिति बैठक अगाडी बढाउने योजना बनाएको छ। प्रधानमन्त्री ओलीको असार १४ को अभिव्यक्तिबारे बोल्न बाँकी नेताले बोल्न चाहे समय दिने, नत्र नियमित एजेन्डामै बैठकलाई फर्काएर छलफल गराउने, एउटा निष्कर्षमा बैठकलाई लैजाने रणनीति देखिएको छ।

ओली पक्षले भने साउन ३ को सचिवालय बैठकमा महाधिवेशनमा जाने विषयमा नेताहरूबीच सहमति बनेको र त्यसको लिखित प्रस्ताव तयार पारेर महाधिवशेनमै जाने गरी अगाडि बढ्नुपर्ने पक्षमै अडान केन्द्रित राख्ने रणनीति बनाएको छ। ओलीले पनि दिनभर निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए।

‘उहाँ (प्रधानमन्त्री) स्थायी समिति बैठकबाट पन्छिनै खोजिरहनुभएको छ। हामी अब बैठक राखेर विधि पद्धतिअनुसार जानुपर्छ भनिरहेका छौं। अब बैठक उहाँ (प्रधानमन्त्री) नआए पनि बस्छ’, स्थायी समिति सदस्य देव गुरुङले अन्नपूर्णसँग भने, ‘सहमतिका लागि यति समयसम्म प्रयास गर्दा पनि जुट्नै सकेन। अब पनि सहमति भनेर अल्झिरहनुभन्दा पार्टीलाई अगाडि बढाउन पनि विधानमै व्यवस्था भएअनुसार बहुमतीय प्रक्रियामा जानुपर्छ।’ ओली पक्ष महाधिवशेनमा जोड गरिरहदा दाहाल नेपाल पक्ष भने केन्द्रीय समिति बैठक बोलाएर जाने गरी तयारीमा लागेको छ।

स्थायी समितिमा यस्तो बन्दै छ समीकरण

स्थायी समितिमा प्रधानमन्त्रीको कार्यशैलीप्रति आलोचना गरिए पनि राजीनामाकै विषयमा भने बहुमत पुग्ने/नपुग्नेमा अझ अन्योल छ। ओली पक्ष एक्लिँदा र दाहाल–नेपाल पक्ष मिल्दा बहुमत दाहाल र नेपाल पक्षसँग देखिने सामान्य अनुमान हो। तर, प्रधानमन्त्रीको राजीनामाकै विषयमा स्थायी समितिभित्रै दाहाल– नेपाल पक्षले बहुमत पुरयाउन सक्नेमा भने आशंका छ।

४४ स्थायी समिति सदस्यमध्ये २३ नेता एकातिर उभिँदा मात्र पार्टीभित्र बहुमतको अवस्था रहन्छ। तर, प्रधानमन्त्रीको राजीनामाका लागि त्यो संख्या पु¥याउन दाहाल–नेपाल समूहलाई केही समययता भएका गतिविधिले मुस्किल पर्ने देखिन्छ। नेकपाको सचिवालय ९ सदस्य र थप ३५ नेतासहित ४४ सदस्यीय स्थायी समिति छ।

सचिवालयमा प्रधानमन्त्रीसँग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल साथमा छन्। इतर समूहमा दाहाल, खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुलेको देखिन्छ। तर, उपाध्यक्ष गौतम र गृहमन्त्रीसमेत रहेका थापा भने तटस्थजस्तै देखिएका छन्। थापा बोलेका छैनन् भने गौतमले १६ असारमा राजीनामा मागे पनि त्यसपछि उक्त अडानबाट पछि हटेका छन्। गौतम अहिले नै राजीनामाको विषय उचालेर जाने पक्षमा देखिएका छैनन्। गौतमलाई फकाउन ओलीले निकट नेतालाई दिनहुँ भैंसेपाटी पठाइरहेका छन्।

यसले सचिवालयमा सम्भवतः पाँच नेताले ओलीको राजीनामा माग नगर्ने देखिएको छ। दुवै पदबाट राजीनामा माग गरेका अन्य चार नेता पनि ओलीले रोजेर एक पदबाट राजीनामा दिनुपर्ने गरी प्रस्तुत हुन थालिसकेका छन्।

स्थायी समिति सदस्यहरूमा किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवास नेम्बाङ गरी नौ जना ओली पक्षका छन्। पूर्वमाओवादी धारका स्थायी समिति सदस्य लेखराज भट्ट ओलीसँग नजिक छन्। मन्त्री रहेका अन्य पाँच स्थायी समिति सदस्य शक्ति बस्नेत, वर्षमान पुन, घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराईले पनि राजीनामाको माग उठाउने देखिन्न। तीन दिनयता प्रधानमन्त्रीले भुसाल, पुन र भट्टराईलगायत मन्त्रीलाई बोलाएर छलफल गरेका छन्।

त्यसैगरी पूर्वमाओवादी धारका नेता जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा र हरिबोल गजुरेलजस्ता नेताले पनि राजीनामा माग गर्न नसक्ने गरी ओलीले भेटघाट र छलफल तीव्र बनाएका छन्। रायमाझी र थापाले स्थायी समितिबाट अब प्रधानमन्त्रीको राजीनामाको विषय सकिइसकेको बोलिसकेका छन्। शर्मा दुई अध्यक्ष मिलाउन महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलसँगको बाक्लो छलफलमा छन्। पौडेल र गजुरेलले पनि ओली र दाहाल मिल्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

दाहाल र नेपाल समूहमा रहेका मन्त्रीहरू दुवैतिर पुग्ने गरेका त छन् तर सकभर सहमतिमै विवाद मिलाउन दबाब बढाइरहेका छन्। पार्टीभित्र अल्पमत/बहुमत नगर्न उनीहरूले धारणा राखिरहेका छन्। यसो गर्दा सचिवालयबाहेककै स्थायी समितिमा रहेका ३५ मा २० नेताले प्रधानमन्त्रीको राजीनामाको विषय उठान नगर्ने समीकरण नेकपाभित्र देखापरिरहेको छ। सचिवालयका ५ समेतलाई जोड्दा २५ नेता राजीनामामा सिधै माग गरेर नआउने बुझाइमा बालुवाटार देखिन्छ।

यसो हुँदा दाहाल र नेपाल समूहमा जम्माजम्मी १९ नेता (सचिवालयका ४ र स्थायी समितिका १५ गरी) प्रधानमन्त्रीको राजीनामाको विषय उठान गर्ने नेतामा गनिन्छन्। त्यसभित्र पनि कतिपय नेता दुई अध्यक्ष मिलेरै जानुपर्ने पक्षमा छन्। यसले प्रधानमन्त्रीको राजीनामाको विषय सेलाउने सम्भावना बढी देखिएको एक नेताले बताए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर