लकडाउनले रोकिएका पर्यटक भन्छन्– 'हामी यहीं बस्न पाऊँ'

२०७७ श्रावण १३ मंगलबार ०७:०२:०० मा प्रकाशित

उरुग्वेका मार्टिन ओलास्को आगा गत मार्चदेखि पोखरामा छन्। पदयात्राका लागि आएका उनी कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनको मारमा परे। मार्टिनको घुमघामको इच्छा त पूरा भएन नै, कतै घुम्न नपाई उनको नेपाल बसाइ अवधि पनि सकिन थालेको छ। नेपालमा पर्यटकको रुपमा भित्रिएका जोकोही विदेशी पाहुना १ सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन्। लकडाउनकै अवधिदेखि उनको भिसा अवधि गणना गर्दा भदौ पहिलो साताभित्रै उनको नेपाल बसाइ अवधि १ सय ५० दिन पुग्छ।

कोरोना भाइरस संक्रमणका कारण बन्द अन्तर्राष्ट्रिय उडान सरकारले भदौ १ देखि खुला गर्दैछ। नेपालमा रहेका जोकोही विदेशी पाहुनाले अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्नुपर्ने प्रावधान सरकारले लागु गरेको छ। अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्दा जो कोही विदेशीलाई अहिले भिसाबापत कुनै अतिरिक्त शुल्क लाग्दैन। तर १५ दिनभित्र फर्किन नसके जरिवानामा पर्नेछन्।  

पर्यटकको नेपाल बसाइ अवधि बढाउन नमिल्ने र अतिरिक्त समय बसेमा कारबाहीमा पर्न सक्नेबारे मार्टिन जानकार पनि छन्। तर उनी स्वदेश फर्किन चाहँदैनन्। किन ? मार्टिन भन्छन्, ‘कोराना संक्रमणको त्रास नेपालमा भन्दा उरुग्वेमा बढी छ। घरसम्म फर्किने माहोल छैन। जसोतसो फर्किन सकियो भने पनि संक्रमणले छुन सक्छ।’ घर फर्किंदा संक्रमणको मारमा पर्ने डरले उनी सकेसम्म अझै केही समय नेपालमै बस्न चाहन्छन्। अनि पदयात्राको अनुभव बटुल्ने चाहना पनि पूरा हुने उनको भनाइ छ।  

कोरोना भाइरस संक्रमणका कारण बन्द अन्तर्राष्ट्रिय उडान सरकारले भदौ १ देखि खुला गर्दैछ। नेपालमा रहेका जोकोही विदेशी पाहुनाले अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्नुपर्ने प्रावधान सरकारले लागु गरेको छ।

अमेरिकाकी रोक्सी गुलिआनो पनि यही मर्कामा छिन्। रोक्सीलाई पनि अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्नुपर्ने बाध्यता छ। तर उनी पनि नेपालमै सुरक्षित हुने ठानेर फर्किन चाहेकी छैनन्। पहिलोपटक नेपाल आएकी उनी पनि लकडाउनकै मारमा परिन्। रोक्सी भन्छिन्, ‘अमेरिकाको लसएन्जल्समा मेरो घर छ। तर त्यहाँसम्म पुग्ने मसँग सुरक्षित उपाय छैन। उडान सुरु भएपछि त फर्किउँला तर यात्रामै संक्रमणको त्रास छ,’ उनले भनिन्, ‘कुनै न कुनै रुपमा हवाई उडानमार्फत घर फर्किन सकिएला तर त्यही उडानकै क्रममा संक्रमण हुन सक्ने जोखिम बढ्दो छ।’ अतिरिक्त शुल्क तिरेर बस्न पाउने भए नेपालमै बस्ने उनको भनाइ छ।

अमेरिकाकै लिन्डा सारान्देश पनि उत्तिकै चिन्तित छिन्। जसोतसो नेपालमा बस्न पाए सुरक्षित भइने उनको भनाइ छ। ‘नेपाल त मेरो आत्माको मुलुक बनिसकेको छ। हामी यहाँ सुरक्षित बसेका छौं,’ लिन्डाले भनिन्, ‘नेपालीमा मानवता छ। हामीलाई यस्तो अप्ठेरोमा पनि खानबस्न कुनै समस्या भएन।’ आफ्नो मुलुक फर्किंदा संक्रमणको जोखिम हुनसक्ने उनलाई त्रास छ। ‘कम्तीमा हामी नेपालमा बस्न पायौं भने सुरक्षित हुन्छौं,’ उनले भनिन्।

पर्यटन व्यवसायीका अनुसार लकडाउनका कारण पोखरामा रोकिएका विदेशीको संख्या करिब चार सय छ। ती पर्यटकले यो बेला घर फर्किनुभन्दा नेपालमै बस्दा सुरक्षित हुने देखेका छन्। पर्यटन व्यवसायी पनि ती विदेशीलाई नेपालमै रोक्न सके उपयुक्त हुने बताउँछन्। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘बाहिरबाट हेर्दा उनीहरुको बसाइ अवधि कटेको हुन्छ। तर उनीहरुलाई गैरकानुनी काम नगर्ने सर्तमा बस्न दिँदा विदेशी पनि सुरक्षित हुने र पाहुनालाई राख्न सकेको खण्डमा व्यवसायीलाई पनि राहत हुन्छ। सरकारले चाहेमा अहिलेको अप्ठेरोमा उनीहरुका मागलाई जायज ठान्न सक्छ।’

तर अध्यागमन विभाग भने सरकारले १ सय ५० दिन कटाएका विदेशीलाई थप समय नेपाल बस्न दिन विशेष निर्णय गर्नुपर्ने बताउँछ। विभागका प्रवक्ता रामचन्द्र तिवारी भन्छन्, ‘अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र फर्किंदा उनीहरुलाई कुनै जरिवाना लाग्दैन। तर त्यो अवधि नाघेर बसेमा जरिवाना लाग्न सक्छ।’
(नागरिक न्युजबाट)

ताजा खबर