सरकारले गरेका काम नदेख्ने समाजमा मोतियाबिन्दु लागेको छ : मन्त्री ढकाल

२०७७ श्रावण १३ मंगलबार ०६:४६:०० मा प्रकाशित

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि 'सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको' रूपमा अर्थ्याएका छन् । 

वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार मन्त्री ढकालले भने, 'हामीले निर्वाह गरेको भूमिका विदेशीले देखेका छन् । देश र विदेशमा बसेका नेपालीले देखिसक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको छ ।'

नेपाल संस्कार र संस्कृतिको धनी भए पनि समाजले भने सकारात्मक पक्ष नदेख्ने गरेको मन्त्री ढकालको भनाई थियो । सरकार र चिकित्सकहरूले कोरोना संक्रमितलाई खोजीखोजी उपचार गरिरहे पनि त्यसलाई नदेखेको उनको भनाइ थियो । 'यो लडाइमा हामीले टर्च बालेर, यो ठाउँमा यो गाउँमा कोही छ कि पोजेटिभ भनेर खोजेर पत्ता लाग्ने बित्तिकै अस्पतालमा ल्याएर उपचारको व्यवस्था गरेका छौं,' उनले भने ।

विश्वका शक्ति सम्पन्न राष्ट्रहरूको भन्दा पनि राम्रोसँग कोरोना भाइरसविरुद्ध नेपाल सरकारले लडेको मन्त्री ढकालको भनाइ थियो । 'कोभिड- १९ बाट मृत्यु हुनेको प्रतिशत विश्वमा कति छ ? हामीले २ प्रतिशतभन्दा माथि चढ्न दिएका छैनौं । यो एकदमै सकारात्मक पक्ष हो,' मन्त्री ढकालको भनाइ थियो, 'हामीले राज्यको तर्फबाट पहल गरेका छौं । ७० प्रतिशत बढी संक्रमित घर फर्किएका छन् । हामीले देख्न सकेका छैनौं ।'

कोरोनाविरुद्ध सरकार अभावहरूका बीचमा पनि सही ढंगले लडेको उनको भनाइ थियो । तर, सरकारका आलोचकहरूले भने आलोचनामात्रै गरिरहेको बताए । उनले हिम्मत भएकाहरूलाई कमजोर बनाउन कोरोनाको माध्यमबाट नियतसहित लागेर बदनाम गराएको आरोप लगाए । 'सुरुमा नेपालमा कोभिड किन आएन भनियो । आएपछि अन्त त फटाफट मरिरहेका छन् नेपालमा किन कोही मरेन भनियो । जब तीनवटै कुरा भयो अनि सरकारको अयोग्यता र असफलता हो भनियो,' ढकालको गुनासो थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै प्रश्न उठिरहेको छ । ओम्नीले किनेका सामग्रीमा संसदको लेखा समिति र अख्तियारले छानबिन गरिरहेको छ । त्यस्तै, पछिल्लो समय स्वास्थ्य मन्त्रालयले नै दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने घोषणा गरेको थियो । तर, दैनिक ३ देखि ४ हजार व्यक्तिमा मात्रै पीसीआर परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको घोषणाअनुसार पीसीआर परीक्षण गर्न र खर्च पारदर्शी गराउन भन्दै सडकदेखि संसदसम्म आवाज उठेको थियो । जसको जवाफमा मन्त्री ढकालले सरकारले गरेका राम्रा काम नदेखेको भन्दै प्रतिक्रिया दिएको बुझिएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर