टिकाटिप्पणी र समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा ध्यान दिन सर्वोच्चको आग्रह

२०७७ श्रावण १३ मंगलबार ०६:४०:०० मा प्रकाशित

काठमाडौँ — सर्वोच्च अदालतले अदालतमा विचाराधीन विषय वा अदालतबाट भएका फैलसा र निर्णयका सम्बन्धमा टिकाटिप्पणी गर्दा वा समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा आँच आउन सक्ने तर्फ ध्यान दिन आग्रह गरेको छ । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालत आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त रहने संस्था रहेको भन्दै अदालतका कामकारबाही बारे भ्रम सिर्जना हुने गरी टिकाटिप्पणी र समाचार प्रवाह गर्दा यसमा गरिमामा आँच आउने तर्फ ध्यान दिन भनेका हुन् ।

 

'अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको कामकारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह र टिकाटिप्पणी नगर्नसमेत सम्बद्ध सबैमा अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय पत्नी हत्याका दोषी पूर्व प्रहरी अधिकृत रञ्जन कोइरालाको कैद घटाउने र 'हिट एन्ड रन' को केसमा पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्ने सर्वोच्चका आदेशहरु विवादमा आएका छन् । यि आदेशबारे मिडिया र सोसल मिडियामा व्यापक गुनासा र टिप्पणीहरु आएका छन् । प्रधानन्यायाधीशसमेत संलग्न इजलासले गरेको कोइरालाको निर्णयलाई सर्वोच्चले नै पुनरावलोकनमा लगेको छ ।

विज्ञप्तिमा निश्चित सीमा र मापदण्डमा रहेक गरिने स्वस्थ आलोचना र टिप्पणीप्रति अदालत सकारात्मक रहेको भन्दै अदालतका फैसला र आदेशउपर स्वच्छ टिप्पणी वा आलोचना र प्राज्ञिक छलफल वा बहस हुन सक्छ भनिएको छ ।

 

न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटी सच्च्याउने कार्य निर्धारित विधि र प्रक्रिया अनुरुप अदालतबाटै हुने संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रत्येक पेशाका न्यूनतम पेशागत आचारसंहिता हुने भन्दै यसको पालनालाई सार्वजनिक जवाफदेहिता बताइएको छ ।
(कान्तिपुर अनलाइनबाट)

 

ताजा खबर