ओलीकै कारण पार्टी र मुलुकमा संकट उत्पन्न भयो : दाहाल

२०७७ श्रावण १२ सोमबार ०८:४५:०० मा प्रकाशित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा केपी शर्मा ओलीको पुनः आलोचनात्मक टिप्पणी गरेका छन् ।

खुमलटारस्थित निवासमा सुदूरपश्चिम प्रदेश कमिटीका नेतासँग भेटघाट गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । खुमलटार स्रोतका अनुसार अध्यक्ष दाहालले केही दिनयता विभिन्न प्रदेशका नेताहरूसँग भेटघाटलाई तीव्रता दिएका छन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीका कारण पार्टी र मुलुकमा संकट उत्पन्न भएको बताए । सुदूरपश्चिका नेताहरूसँग भेटघाटमा उनले ओलीको स्वेच्छाचारी र मनोमानीले यस्तो भएको भन्दै दुखेसो पोखे ।

छलफलमा सहभागी सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्टका अनुसार ओलीले अरूका कुरै नसुन्ने र मनोमानी ढंगले अघि बढ्ने गरेको विषय अध्यक्ष दाहालले राखेका छन् । पार्टी एकताको सहमति तथा चुनावी घोषणापत्र प्रधानमन्त्री ओलीले बिर्सेको आरोप दाहालको छ ।

‘प्रधानमन्त्रीले कुरै नसुन्ने, हरेक विषयमा स्वेच्छाचारी ढंगले अगााडि बढ्न खोज्ने, आत्मकेन्द्रित र चरम व्यक्तिवादी प्रवृत्ति देखियो,’ दाहालको भनाइ उद्धृत गर्दै भट्टले भने, ‘आफंैलाई केन्द्रमा राखेर सर्वेसर्वा मै हुँ भन्ने मानोवृत्ति देखिन्छ ।’

भट्टका साथै छलफलमा मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित नेता–कार्यकर्ता खुमलटार पुगेका थिए । भेटघाटका क्रममा अध्यक्ष दाहालले पार्टी चलाउन नपाएको, अध्यक्ष हुँ भन्ने कुनै भाव नै नपलाएको र ओलीको स्वेच्छाचारी प्रवृत्ति टुलुटुल हेर्न विवश भएको गुनासो गरेका छन् ।

यस्तै आलोचना उनले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममासमेत गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी गम्भीर संकटमा पुगेको उल्लेख गरेका थिए । सार्वजनिक कार्यक्रममा उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्षकै खुलेर कडा रूपमा आलोचना गरेपछि नेकपाभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर