तीन नेतालाई कारबाही गरेकोप्रति कांग्रेस नेताको असन्तुष्टि

२०७७ श्रावण १२ सोमबार ०८:१८:०० मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा पार्टी कार्यालय सचिव रामबहादुर बिष्टलाई गरेको कारवाहीप्रति नेताले असन्तुष्टि जनाएका छन् । 
 
नेताले अनुशासन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाही प्रक्रिया गलत भएको टिप्पणी गरेका छन् ।  कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा लामो समय योगदान दिएका नेतालाई कारबाही गर्ने तर अन्य पार्टीबाट प्रवेश गराउने कुराले गलत सन्देश जाने बताए। 

‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौँ,’ उनले प्रश्न गरे, ‘यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?’

नेता कोइरालाले अनुशानस समितिको कारबाहीलाई आधारहीन र मनगढन्ते भएको दाबी गरे । ‘आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’

कांग्रेस अनुशासन समितिले दुई वर्षअघि सम्पन्न संघीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो विष्टलाई तीन वर्षका लागि कारवाही गरेको विज्ञप्तिमार्फत जनाएको थियो । 

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णयले लोकतन्त्रलाई कमजोर बनाउने दाबी गरे । ‘हिजो पार्टीले कारबाही गर्या साथीको नाम पढें, सजाय हेरें, आजसम्म मन तरंगीत छ,’ उनले भने, ‘बीपीहरूले निर्माण गर्नुभएको हाम्रो पार्टीले शनै शनै उदार लोकतान्त्रिक चरित्र गुमाउने पो हो की भन्ने आशंकाले मन झनै गह्रुंगो भयो ।’
(अन्नपूर्ण पोष्ट अनलाइनबाट)

ताजा खबर